कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बम्जनविरुद्ध बाल यौन शोषणको आरोपमा मुद्दा

ओमप्रकाश ठाकुर

सर्लाही — लिटिल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्दा दर्ता भएको छ । बिहीबार दायर गरिएको मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म सजायको माग दाबी गरिएको छ । मतियारको रुपमा रहेका उनका दुई सहयोगीलाई पनि सजायको माग गरिएको छ । 

बम्जनविरुद्ध बाल यौन शोषणको आरोपमा मुद्दा

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको हो । २०७३ साल साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ सुत्ने कोठामा जबर्जस्ती करणी गरेको र पीडितलाई डर धम्की देखाइएको भन्दै दायर गरिएको मुद्दामा उल्लेख छ । घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीले अदालतको अनुमति लिएर प्रतिवादी बम्जनसहित उनका दुई मतियारलाई पक्राउ गर्न भनिएपनि समयमा प्रहरीले प्रतिवादीलाई पक्राउ गर्न सकेनन् । पक्राउको अन्तिम म्याद भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार बम्जनविरुद्ध यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषणको मुद्दा दायर गरिएको जिल्ला न्यायधिवक्ता केशवप्रसाद गौतमले बताए । उनले कसुरदार बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्मको सजायको माग दाबी गरिएको जानकारी दिए ।

‘बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सुखका लागि बालबालिकालाई प्रयोग गर्ने–गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्‍यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन बमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ, त्यही बमोजिम हामीले मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ग बमोजिम १४ वर्षभन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको माग दाबीसहित मुद्दा दायर गरेका हौं,’ न्यायधिवक्ता गौतमले भने ।

पीडितलाई क्षतिपूर्ति भराउने माग दाबीसहित अभियोग पत्र पनि दर्ता गराइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । बम्जनलाई लुकाउने छिपाउने कार्यमा संलग्न उनका दुई मतियार ज्ञानकुमार बम्जन र जेवी गुरङ भनिने जीतबहादुर तामाङलाई पनि कसुरदारको आधा सजायको माग दाबी गरिएको छ । मुद्दा दायर भएपनि प्रतिवादी बम्जनसहित उनका दुई मतियार फरार छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी नै छ ।

प्रकाशित : असार १९, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?