२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बलात्कारको झूटो जाहेरी दिनेलाई एक महिना कैद, ६३ हजार जरिवाना

सौराहाको होटल र त्यसका कामदारको उनीहरू आएर बसेको र सँगै खाना खाएर सौहार्दपूर्ण रूपमा छुटेको बयान
किशोरीले फौजदारी न्याय प्रणालीको दुरुपयोग गर्दा निर्दोष व्यक्तिले अनाहकमा दुःख पाएको ठहर
कृष्ण ज्ञवाली

काठमाडौँ — आफूमाथि बलात्कारको प्रयास भएको भनी झूटो जाहेरी दिने एक किशोरीलाई जिल्ला अदालत चितवनले एक महिना कैद र पीडितलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । झूटो जाहेरी दिएकी ती युवतीले अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा जाहेरीमा भएको व्यहोरा सही नभएको भन्दै आफूमाथि बलात्कारको प्रयास नभएको भनी बयान फेरेकी थिइन् ।

बलात्कारको झूटो जाहेरी दिनेलाई एक महिना कैद, ६३ हजार जरिवाना

जाहेरीकर्ताको यस्तो व्यवहारले फौजदारी न्याय प्रणालीको दुरुपयोग भएको, अनुसन्धान र अभियोजनका क्रममा राज्यको स्रोतसाधन दुरुपयोग भएको भन्दै न्यायाधीश हेमन्त रावलको इजलासले ती किशोरीलाई एक महिना कैद गर्न फैसला गरेको हो । झूटो अभियोजनका कारण पीडित व्यक्तिले अनाहकमा थुनामा बस्नुपरेको भन्दै प्रतिदिन तीन सय रुपैयाँका दरले २ सय १० दिनको ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो । त्यसलाई चितवन जिल्ला अदालतले यो फैसलालाई ‘प्रतिकात्मक’ भनेको छ । असार ७ गतेको फैसलाको पूर्णपाठ दुई दिनअघि तयार भएको हो ।

यस्तो थियो घटना

गत कात्तिक २७ मा चितवनको एक कलेजमा १२ कक्षामा पढ्ने किशोरी कास्कीका एक व्यक्ति (अदालतबाट निर्दोष भएको ठहर भएकाले नाम गोप्य राखिएको) को साथमा कार चढी भरतपुरबाट सौराहासम्म पुग्छिन् । उनीहरू त्यस रात सौराहामै बस्छन् र भोलिपल्ट बिहान खाना खाएर हिँड्छन् । ती व्यक्तिको बयानअनुसार, सौराहाबाट निस्केपछि ती किशोरीलाई उनले भरतपुर ल्याएर छाडिदिएका थिए ।

केही दिनपछि किशोरीले प्रहरीमा जाहेरी दर्ता गर्छिन् । ‘आफ्ना साथीहरूका साथ सौराहामा घुम्न गएका बेला साँझ परेकाले बाटोमा सवारीसाधन कुरेकोमा कार चढी आएका ती व्यक्तिले घर पुर्‍याइदिन्छु भनी सौराहाको एक होटलमा लगी जबर्जस्ती गर्न खोजेको’ भन्ने व्यहोराको उजुरी हुन्छ ।

ती व्यक्तिले फेसबुकमा भेट भएपछि ती किशोरीसँग केही दिनदेखि नियमित रूपमा कुराकानी भइरहेको बताएका थिए । अनि भेट्ने सल्लाह भएकाले त्यसैअनुसार सौराहा पुगेको बयान गरेका छन् । ‘म सौराहा जानेभन्दा ती युवतीले पनि म पनि सौराहा जाने भनी साथै लागेकी हुन् । हामी होटलको एउटै कोठामा बसेको हो । उनले बियर खाएकी हुन् । हाम्रो बेड छुट्टाछुट्टै थियो,’ उनले बयानमा भनेका छन्, ‘भोलिपल्ट बिहान दुवै जना खाना खाएर निस्केका हौं । अनि मैले भरतपुर ल्याएर ती युवतीलाई छाडेको हुँ ।’ उनको दाबीअनुसार, प्रहरीले बयान पढ्नसमेत नदिई सहीछाप गराएको थियो ।

बयानका क्रममा सौराहास्थित होटेलका सञ्चालकले उनीहरू अघिल्लो दिन आएर बसेको र अर्को दिन सँगै फर्केको बताए । त्यहाँ काम गर्ने कामदारले पनि त्यस्तै खालको बयान दिए । उनीहरूको बयानबाट किशोरी र कास्कीका ती व्यक्ति सौराहाको होटलमा बसेको र भोलिपल्ट सौहार्दपूर्ण रूपमा खाना खाएर त्यहाँबाट हिँडेको खुल्यो । तर अदालत उपस्थित भएर बकपत्र गर्ने क्रममा ती किशोरीले बयान फेरिन् । ‘घटना भएको दिन म आकृति भन्ने साथीसँग थिएँ । जाहेरीमा उल्लेख गरिएको व्यहोरा मेरो होइन । अरू कसले त्यस्तो लेख्यो, थाहा भएन,’ उनले बकपत्रमा भनेकी छन्, ‘त्यो दिन उक्त केटासँग घुमे पनि सौराहा गएको होइन, केटाले जबर्जस्ती गर्न खोजेको पनि हैन, उसलाई सजाय हुनुपर्ने पनि होइन ।’ बकपत्रका क्रममा उनले प्रहरीमा जाहेरी पर्नुको रहस्य पनि खोलेकी छन् । घटना थाहा पाएपछि ‘अंकलले एक्कासि मलाई चौकीमा बोलाएर तयार पारेको कागजमा जबर्जस्ती मेरो सहीछाप गराएको’ बकपत्रमा उल्लेख छ ।

जिल्ला अदालत चितवनले उमेर पुगेकी किशोरी कसैसँग ‘सँगै खाएको, घुमेको अनि हिँडेको आधारमा जबर्जस्तीको प्रयास भएको’ भन्न नमिल्ने राय सुनायो । जाहेरीको विपरीत उजुरीकर्ताले अदालत गएर बयान फेरेको कामलाई न्यायका नजरमा अनुत्तरदायी र अमर्यादित भन्दै दुई जना मात्रै कोठामा रहँदा जबर्जस्तीको प्रयास भएको हुन सक्ने अन्य प्रमाण जाहेरीकर्ताले पेस गर्न नसकेको औंल्यायो । ‘आफैंले दिएको जाहेरीको व्यहोराको प्रतिकूल हुने गरी अदालतमा बकपत्र गर्ने जाहेरीकर्ता सरकारको महत्त्वपूर्ण साक्षी प्रमाण पनि हुन्,’ फैसलामा भनिएको छ, ‘ती व्यक्तिले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’

ती किशोरीले आफ्नो साथीको सम्बन्धको दुरुपयोग गरी झूटा जाहेरी दिने अनि अदालतमा समेत व्यहोरा नपढी जाहेरीमा हस्ताक्षर गरेको भनी गरेको बकपत्रलाई गैरजिम्मेवारयुक्त ठहर्‍यायो । झूटो जाहेरीका कारण ती व्यक्ति कारागारमा बस्नुपरेको, उसको सामाजिक प्रतिष्ठामा क्षति पुगेको, मानसिक तनाव र असर पुगेको भन्दै जिल्ला अदालतले क्षतिपूर्तिको फैसला सुनाएको हो । ‘किशोरीले फौजदारी न्याय प्रणालीको दुरुपयोग गरेको र प्रतिकूल प्रभावका कारण निर्दोष व्यक्तिले अनाहकमा दुःख पाएको,’ फैसलामा भनिएको छ, ‘अनुसन्धान र अभियोजनका क्रममा न्याय प्रणालीप्रति नागरिकको भरोसा र विश्वासमा समेत प्रतिकूल असर परेको देखिन्छ । प्रतिकात्मक क्षतिपूर्ति भराइदिने ठहर्छ ।’

प्रकाशित : असार १८, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?