व्यावसायिक उडान साउन ६ सम्म बन्द - समाचार - कान्तिपुर समाचार

व्यावसायिक उडान साउन ६ सम्म बन्द 

आन्तरिक र अन्तर्राष्ट्रिय यात्रु उडान रोक्न यो आठौं निर्णय हो 
सुरज कुँवर

काठमाडौँ — सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको मन्त्रीपरिषद्‌ बैठकले साउन ६ गते मध्यरातसम्मलाई रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो आठौं निर्णय हो ।

नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले मंगलबार सरकारले गरेको निर्णयपछि बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यात्रु उडानमा साउन ६ गते राति ११:५९ सम्मका लागि रोक लगाइएको’ जनाएका छन् ।

यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थियो । त्यसपछि चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि १८ सम्म, १९ देखि जेठ ३२ र असार १ देखि २१ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो । आठौं पटकको निर्णयले १६ दिन थप गरेको छ । यी निर्णय मन्त्रीपरिषद् तथा सीसीएमसीले संयुक्त रुपमा गर्दै आएका छन् । व्यावसायिक उडानमा रोक लगाइए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार गर्न/गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न असार ३१ सम्म अनुमति जारी गरेको छ । यो तेस्रोपटक जारी भएको अनुमति हो । पहिलोपटक २९ जेठदेखि खुला गरिएको नेपाली नागरिक उद्धार चार्टर उडानको म्याद असार ११ सम्म थियो । त्यसपछि मन्त्रालयले दोस्रोपटक असार १६ गतेसम्मका लागि उडान तालिका र भाडादर निकालेको थियो । बुधबारदेखि लागू भएको तेस्रोपटकको चार्टर उडान तालिका ३१ असारसम्म कायम रहने छ ।

प्रकाशित : असार १८, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनमा निगमका जहाज १६ वटा नयाँ गन्तव्यमा पुगे

सुरज कुँवर

काठमाडौँ — कोरोना भाइरसको महामारीका कारण संसारभर सयौं वायुसेवा कम्पनीका हजारौं विमान ग्राउन्डेड भइरहँदा राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम १६ वटा नयाँ गन्तव्यमा पुगेको छ ।निगमको संस्थागत विभाग प्रमुख अर्चना खड्काका अनुसार, सरकारले चैत ९ गतेदेखि व्यावसायिक उडान रोक लगाएपछि भएका चार्टर उडानमा निगम १६ वटा गन्तव्यमा पुगेको हो ।

‘पहिले हामी ९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्देै आइरहेका थियौं,’ प्रवक्ता रहेकी खड्काले भनिन्, ‘यो तीन महिनाको लकडाउनमा निगमका विमान जापानको फुकुओका, अस्ट्रेलियाका ब्रिसबेन, सिड्नी, क्यानबेरा र मेलबर्न, ढाका, माले, रिहाद, जेद्हा, कुवेत, बहराइन, चीनको छाङसा, कुनमिङ, ग्वाङजाउ, बेइजिङ र वुहान पुगेका छन् ।

निगमले यो अवधिमा ११ हजार ६ सय हाराहारी यात्रुलाई सेवा पुर्‍याएको जनाएको छ । त्यसैगरी कार्गोतर्फ नेपालबाट १ लाख ८४ हजार किलोग्राम निर्यात गरेका र १ लाख ९३ हजार किलोग्राम आयात गरेको जनाइएको छ । निगमले यो अवधिमा ८० करोड हाराहारीको कारोबार गरेको जनाएको छ ।

निगमको अपरेशन विभागका निर्देशक दिपुराज जुहार्चनका अनुसार, संसारभर लाखौं उड्डयनकर्मी जागिरबाट निस्कासन भइरहेका बेला निगममा भने ठीकविपरीत अवस्था छ । ‘हामीसँग १ सय हाराहारी पाइलट र १ सय ८० हाराहारी क्याबिन क्रू छन् यो तीन महिनाको अवधिमा हामीले चालकदलका सदस्यबाट ७ सय २ कार्य दिनको सेवा लिइसकेका छौं ।’ उनका अनुसार, यतिबेला निगमका दुइटा वाइडबडी र दुइटा न्यारोबडी गरी चारवटै जहाज उडानमा छन् । उनले अन्य सामान्य दिनको दाँजोमा सबै विमानको उडानको अवधि पनि वृद्धि भइरहेको बताए ।

निगमले उडानमा जाने चालक दलका लागि सोल्टी क्राउन प्लाजामा क्वारेन्टाइन बनाएको छ । उडानबाट आउने चालकदलका सबै सदस्य अनिवार्य रुपमा होटलमा बस्नुपर्छ । ४/५ दिनको उडानपछि निगमले पीसीआर जाँच गरेर मात्रै घर पठाउने गरेको जनाएको छ ।

प्रकाशित : असार १८, २०७७ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×