सरकारी बालगृहमा ‘आत्महत्या’

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — रूपन्देहीको बुटवलस्थित एक सरकारी बालगृहमा आश्रित किशोरले चार दिनअघि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित बाल कल्याण गृह आश्रममा रहेका १४ वर्षीय आयुष विकले आइतबार आत्महत्या गरेका हुन् । उनी चार वर्षदेखि त्यहाँ आश्रित थिए । सो बालगृह महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनले आफू सुत्ने कोठाको पंखामा तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् । उनी सुत्ने कोठामा अन्य बालक पनि सुत्ने गर्छन् । आइतबार साँझ खाना खाएपछि बालबालिका र उनीहरूको रेखदेख गर्ने कर्मचारी बालगृहको छतमा बसी गफ गरिरहेका थिए । ३० मिनेटपछि बालबालिकालाई सुत्न भनेर कर्मचारी आफ्नो कोठातिर गए । राति साढे १० देखि ११ बजेको बीचमा एक बालक ट्वाइलेट जान उठेपछि आयुषलाई झुन्डिएको अवस्थामा देखे । तत्काल कर्मचारीले कार्यालय प्रमुखलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धानले आत्महत्या गरेको देखिएको इलाका प्रहरी प्रमुख डीएसपी प्रतीतसिंह राठौरले बताए । ‘एउटा पत्रसमेत फेला परेको र त्यसमा मायाप्रेमका कुरा समेटिएको छ,’ उनले भने, ‘धेरै कुरा सोच्न नसक्दा घटना घटेको देखिन्छ ।’ मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

आयुष जितेश्वर मावि कक्षा ६ मा अध्ययनरत थिए । उनको स्थायी ठेगाना देवदह नगरपालिका शीतलनगर हो । आमा र बाबुले दोस्रो बिहे गरेपछि एक्लिएका उनी बालगृह आइपुगेका थिए । आयुषको स्वभाव कहिल्यै नरिसाउने र सबैसँग राम्रो बोल्ने रहेको उनकी दिदीले बताइन् । आइतबार बिहान सबैसँग बसेर गफ गरेका आयुषले पटकपटक ‘आज मेरो अन्तिम दिन’ भन्ने गरेको त्यहाँ आश्रित बालबालिकाले सुनाए । आफूले चिनेको साथीसँग आयुषको प्रेम सम्बन्ध रहेको दिदीको भनाइ छ । ‘बारम्बार केटीको कुरा गर्थ्यो,’ उनले भनिन्, ‘नपाए मर्छु भनिरहन्थ्यो ।’ यसअघि पनि आयुष बालगृहको छतबाट हाम फाली भाग्ने गरेको र खोजेर ल्याउने गरिएको गृहका निमित्त कार्यालय प्रमुख कमला ज्ञवालीले बताइन् ।

आयुष र उनकी दिदी बालगृहमा ल्याइनुपूर्व जिल्लाकै अर्को बालगृहमा बस्थे । २७ जना क्षमताको बालगृहमा १९ बालबालिका छन् । यहीं मृतक आयुषकी दिदी र भाइ पनि छन् । आइतबार आयुषले छतबाट आफ्नी प्रेमिकासँग गफ गरेको र ‘छतबाट खसेर मृत्यु हुन्छ कि नाइँ’ भनी सोधेको आयुषका भाइले बताए ।

सामान्य तनावलाई व्यवस्थापन गर्न नसक्दा घटना भएको मनोचिकित्सक डा. विक्रम काफ्ले बताउँछन् । ‘१२/१३ वर्षबाट शरीरका कोष वृद्धि हुने, विपरीत लिंगीतर्फ आकर्षित हुने क्रियाकलाप सबैमा देखिन्छ,’ उनले भने, ‘१४ वर्षीय बालकले आकर्षणलाई ठूलै रूप दिँदा मानसिक रूपमा आफैलाई व्यवस्थित गर्न सकेनन् ।’ बच्चाहरूमा आफन्तसँग अलग्गिएर बस्नुपरेको पीडा सहन नसक्ने समस्या र अपरिपक्वताका कारण आत्महत्या गरेको हुन सक्ने उनले बताए ।

मानसिक रूपमा बालबालिकामा यस्तो सोच नआओस् भनेर मन्त्रालयसँग आग्रह गरी मनोचिकित्सकमार्फत परामर्श दिलाउने, योग, ध्यान सिकाउने कार्य गरिने प्रमुख ज्ञवालीले बताइन् । ‘यसअघि पनि समय मिलेका बेला मनोचिकित्सक आउने र परामर्श दिने नगरेका होइनन्,’ उनले भनिन्, ‘तर आयुषको बाल मस्तिष्कले सोच्न नसक्दा ज्यान गुमाउनुपर्‍यो ।’

प्रकाशित : असार १८, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

जनप्रतिनिधिको नकाम

बलात्कार, हत्याजस्ता घटनामा जनप्रतिनिधि र समाजका अगुवा भनिएकाहरुको भूमिका सधैंजसो देखिने गर्छ । अपराधी जोगाउन समाजदेखि राजनीतिसम्मै तँछाडमछाड चल्छ ।
रामेश्वरी पन्त

जेठ महिना अत्यन्तै अप्रिय रह्यो । जातीय अहंकारको पराकाष्ठा रुकुम नरसंहार होस् या आपराधिक मानसिकताको उपज रूपन्देहीको तिलोत्तमाको गाई फार्ममा भएको सामूहिक हत्या, रूपन्देहीको तिलोत्तमाकै ९ वर्षीया बालिकामाथि भएको बीभत्स बलात्कार घटना तथा रूपन्देहीकै देवदहकी १३ वर्षीया अंगिरा पासीको बलात्कारपछिको हत्या ।

यी घटनाले नराम्रोसँग बिथोलिएको मन कैलाली लम्किचुहाको क्वारेन्टिनमा बसेकी महिलामाथि स्वयंसेवक र स्वास्थ्यकर्मीबाट भएको सामूहिक बलात्कारको घटनाले फेरि थिलथिलो भयो । कोरोना महामारीले त्राहिमाम् भएको समाज किन यसरी बेफिक्री भएर जघन्य अपराधमा उत्रिएको होला ? कोरोना महामारीका कारण देश एक हिसाबले बन्दाबन्दीमै भए पनि अपराधचाहिँ सक्रिय छ । यस्ता अपराध गराउने सामाजिक मनोरोगको अध्ययन, अनुसन्धान तथा विश्लेषण जरुरी छ ।

कोरोनाविरुद्ध महायुद्धको नियम छ— ‘घरभित्रै बस, मान्छेले मान्छेसँगको दूरी बढाऊ ।’ तर मान्छेले यो सुनिरहेको छैन र ऊ मान्छेकै गर्धन छिनाल्न, हातखुट्टा भाँच्न, कच्याककुचुक पारेर नदीमा बगाउन, बलात्कार गर्न सक्रिय छ । संसार कोरोनासँग आतंकित छ तर मान्छे मान्छेसँगै डराउनुपर्ने अवस्था छ । रुकुम पश्चिमको सोती गाउँमा भएको सामूहिक नरसंहार र रूपन्देहीको घटनामा जनप्रतिनिधिको संलग्नता रहेको बुझियो । जबजब रुकुम घटनामा ज्यान गुमाएका युवक नवराज विक र उनका साथीहरूलाई सम्झन्छु,, रूपन्देही देवदहमा बलात्कारपछि हत्या गरेर झुन्ड्याइएकी अंगिरा पासीलाई सम्झन्छु, अनि सोच्छु— जनप्रतिनिधि भनिएका वडाध्यक्षहरू यी घटनामा नजोडिएका भए ती सायद बाँच्थे कि ?

समाजका विभेद र विसंगतिको जरो उखेल्ने वाचा गरेर दशक लामो ‘जनयुद्ध’ को आगो सल्काएका रुकुम, रोल्पा, जाजरकोटजस्ता जिल्लाका जनप्रतिनिधिहरू नै जातीय विभेदलाई मलजल गर्दै उच्चजातीय अहंकारले ग्रसित हुनु सिंगो देशकै दुर्भाग्य हो । यस्ता घटनामा देखिनेभन्दा नदेखिने कसुर झन् खतरनाक हुन्छ । देखिने अपराधीभन्दा नदेखिने अपराधी खतरनाक हुन्छ । आजको युगमा पनि अन्तरजातीय प्रेम गरेकै निहुँमा उच्च जात भनिएकाहरूबाटै कसैको ज्यानसम्मै जाने गरी आक्रमण हुनुबाट समाजले अझै पनि परिवर्तनको संघार टेकिसकेको रहेनछ भन्ने प्रस्ट हुन्छ ।

त्यसै गरी रूपन्देहीको घटनामा गाउँकै युवकले ललाईफकाई बलात्कार गरेको खुल्न आएपछिको गाउँले भेलामा उपस्थित वडाध्यक्षले कथित ‘इज्जत’ को नाममा १३ वर्षीया बालिकालाई बलात्कारीकै जिम्मा लगाइदिनु हुन्नथ्यो । पीडकलाई कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाउनुपर्नेमा मिलापत्र गरेर बालिकालाई बलात्कारीको जिम्मा लगाउनु न्यायोचित होइन । वडाध्यक्षजस्तो मान्छेले ऐन–कानुनलाई समेत लात मारेर नाबालिग किशोरीलाई उसको मन्जुरी नै भए पनि बिहे गरिदिए बराबर हात थमाएर पठाउनु गैरकानुनी कार्य पनि हो । यसर्थ रुकुम हत्याकाण्ड होस् चाहे रूपन्देही, ‘जनप्रतिनिधि’ भनिएकाहरूले नकाम गरेका हुन् ।

त्यसो त बलात्कार, हत्याजस्ता घटनाहरूमा यस्ता जनप्रतिनिधिहरू, राजनीतिक शक्ति तथा समाजका अगुवा भनिएकाहरूको भूमिका सधैं देखिएकै हुन्छ । कहिले मिलापत्र गराउन त कहिले घटना दबाउन र पीडकलाई जोगाउन सलबलाउने यस्ता शक्तिहरूकै कारण कैयौं निर्दोष पीडितहरूले या त आत्महत्या गर्नुपरिरहेको हुन्छ या आजीवन पीडा सहेर र अन्यायमा परेर बाँच्नुपरिरहेको हुन्छ । हत्यारा र बलात्कारी जोगाउन समाजदेखि राजनीतिसम्मै तँछाडमछाड चलिरहेको हुन्छ । जब अपराधमा राजनीति र राजनीतिमा अपराध मिसिन्छ, तब पीडितहरूका लागि न्याय आकाशको फल हुन पुग्छ ।

राज्यशक्ति र सरकारका जिम्मेवार पदमा बस्नेहरूले कत्ति पनि लाज नमानी भन्ने गरेको सुनिन्छ, ‘यस्ता घटना त समाजमा निरन्तर भइरहन्छन् । हिजो पनि भएका थिए, आज पनि भएका छन् र भोलि पनि हुनेछन् ।’ रुकुम घटनालगत्तै अमेरिकामा भएको जातीय हिंसा भनिएको जर्ज फ्लोएडको हत्यालाई देखाउँदै हाम्रा गृहमन्त्रीले रुकुमको जातीय नरसंहारलाई सम्बोधन गर्दै भने— अमेरिकाजस्तो देशमा त यस्ता घटना हुन्छन् भने नेपालमा कुन नौलो कुरा भयो र ! हुन त यी तिनै गृहमन्त्री हुन् जसले कञ्चनपुरकी

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई लिएर पनि गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । देशको गृहमन्त्रीको यस्तो अभिव्यक्तिपछि निर्मला हत्याकाण्डको अनुसन्धान मृतप्रायः भएको छ । निर्मलाको हत्या भएको आगामी साउनमा दुई वर्ष पुग्दै छ । अपराध अनुसन्धानमा ‘ख्याति’ कमाएको नेपाल प्रहरी निर्मला हत्याकाण्डमा किन लुते बन्दै छ ? यस्तै हो भने रुकुम र रूपन्देहीका घटनाहरू पनि सामसुम पारिने त होइनन् ?

प्रकाशित : असार १८, २०७७ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×