१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निजामती विधेयक : राज्यविरुद्ध बोल्दा पेन्सनबाट वञ्‍चित !

पूर्वप्रशासकहरू भन्छन्, ‘निर्णयकर्ताको तानाशाही सोच’
ऋषिराम पौड्याल

काठमाडौँ — अवकाशप्राप्त निजामती कर्मचारीले सामाजिक सञ्जाल वा कुनै पनि सञ्चारमाध्यममा राज्यविरुद्ध बोले वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरे ‘पेन्सन’ सुविधा नपाउने कानुनी व्यवस्था गर्न लागिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले हालै पारित गरेको संघीय निजामती विधेयकमा यस्तो प्रावधानसमेत समेटेपछि केही पूर्वप्रशासक र बहालवाला कर्मचारीहरूले ‘निवृत्त भएपछि हुने व्यक्तिगत स्वतन्त्रता’मा बन्देज लगाउन खोजिएको भन्दै शंका गरेका छन् ।

निजामती विधेयक : राज्यविरुद्ध बोल्दा पेन्सनबाट वञ्‍चित !

समितिले तयार गरेको प्रतिवेदनको दफा ६२ मा निवृत्तिभरण नपाउने व्यवस्था छ । जहाँ ‘सामाजिक सञ्जाल वा कुनै सञ्चारमाध्यममार्फत सामाजिक द्वेष वा कलह बढ्ने वा हिंसा भड्कने गरी राज्यविरुद्धको कुनै अभिव्यक्ति दिएको वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भई नेपाल सरकारले निवृत्तिभरण नपाउने निर्णय गरेमा’ पेन्सन नपाउने उल्लेख छ । कुनै पनि अवकाशप्राप्त कर्मचारीलाई यही प्रावधानमा टेकेर सरकारले व्यक्तिगत रिसइबी साध्न सक्ने आशंका पूर्वप्रशासक र कर्मचारीहरूको छ । उनीहरूले यसलाई ‘निर्णयकर्ताको तानाशाही सोच’ भएको पनि बताएका छन् ।

पूर्वसचिव शारदाप्रसाद त्रितालले राज्यको अहित हुने विषयमा बोल्न संविधानले सबै नागरिकलाई बन्देज लगाएको अवस्थामा अहिले ऐनमा निवृत्त कर्मचारीका लागि भन्दै यस्तो प्रावधान राख्नुका पछाडि तथ्य सार्वजनिक हुन नदिने आशय रहेको बताए । ‘राज्यको अहित हुने कुरा त कसैले बोल्न पाउँदैन,’ उनले भने, ‘यस्तो प्रावधान यहाँ लेख्न जरुरी नै थिएन ।’ निजामतीको भूमिका र मर्मलाई नबुझी यो प्रावधान ल्याइएको उनको भनाइ छ ।

केही महिनाअघि पूर्वसचिव भीम उपाध्याय सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका कारण पक्राउ परेका थिए । पूर्वसचिव राजुमानसिंह मल्ल सरकारले निवृत्त कर्मचारीले गर्ने कानुनी र बौद्धिक विश्लेषण रोक्न नहुने तर्क गर्छन् । पूर्वकानुन सचिव कमलशाली घिमिरेले भने कानुनमा जे उल्लेख गरे पनि राज्यविरुद्धको अपराध अदालतबाट ठहर्नुपर्ने बताए । ‘कर्मचारी निवृत्त भएपछि पनि राज्यप्रति संवेदनशील हुनुपर्छ, गोप्य राख्नुपर्ने सूचना चुहाउने भन्ने विषय नराम्रो नभए पनि कस्तो सूचना दिएमा राज्यविरुद्धको अपराध ठहर्छ प्रस्ट हुनुपर्छ,’ उनले भने ।

सरकारले सुरुमा यस्तो प्रावधान प्रस्ताव गरेको थिएन । तर समितिमा सांसदहरूले पेन्सन पाउने कर्मचारी छाडा भएको र सरकारको नुनपानी खाएर सरकारविरुद्ध जथाभावी बोलेको भन्दै यस्तो प्रावधान राख्नैपर्ने अडान राखेका थिए । गत कात्तिक २९ गतेको बैठकमा बहुमत सांसदहरूले उक्त प्रावधान राख्न सहमति जनाएका थिए ।

समितिले पारित गरेको प्रावधानको समर्थन गर्दै नेकपाका सांसद झपट रावलले भने, ‘स्वतन्त्रता र अराजकतालाई एउटै बुझ्न हुँदैन । पेन्सन खाएर राज्य कमजोर बनाउने कुरामा लाग्नु हुँदैन भन्ने नै हो, राज्यविरुद्ध अभिव्यक्ति दिन पाइँदैन ।’ तर समितिमा यो प्रावधान पारित गर्ने बेलामा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विरोध जनाएका थिए । ‘हामीले सुरुदेखि नै असहमति राख्दै आएको हो । साइबर र फौजदारी कानुन सबैलाई आकर्षित हुने भएकाले त्यस्तो प्रावधान जरुरी थिएन,’ उनले भने । पेन्सन भइसकेको कर्मचारी सामान्य नागरिकसरह हुन्छ भन्ने मान्यतालाई ख्याल नगरी अन्धाधुन्ध रूपमा कानुनले बाँध्ने प्रयास गर्नु उचित नहुने धारणा उनको छ ।

पूर्वसचिव त्रितालले पनि यस्तो प्रावधानलाई मान्न नसकिने बताए । ‘चित्त नबुझेका कुरा भन्न र लेख्न छाडिँदैन,’ उनले भने, ‘प्रजातन्त्रमा सामाजिक सञ्जालमा लेखेका विषयलाई मिडियामा लेखेको जसरी बुझ्न हुँदैन ।’

मूल विधेयकको दफा ६५ मा प्रस्तावित निवृत्तिभरण नपाउने भन्ने प्रावधानमा समितिले पछि छुट्टै २ वटा बुँदा थपेर विदेशी मुलुकको अस्थायी अनुमतिपत्र प्राप्त गरेमा र सञ्चारमाध्यममा राज्यविरुद्ध बोलेमा सरकारले पेन्सन सुविधा खारेज गर्ने प्रावधान उल्लेख गरेको हो । कर्मचारीका संघ/संगठनहरू भने यो प्रावधानको पक्ष र विपक्षमा उभिएका छन् । सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले भने निवृत्त कर्मचारीको सन्दर्भमा विधेयकका प्रावधान ठिकै रहेको बताए । ‘यो सकारात्मक छ, हामीले समर्थन गरेका छौं,’ उनले भने । प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपाल पोखरेल भने विधेयकको प्रावधान गलत भएको बताउँछन् । ‘निवृत्त भइसकेपछि पनि अभिव्यक्ति स्वतन्त्रता नै हनन हुने गरी कानुनले बाँध्न खोज्नु अनुचित हो,’ उनले भने ।

पीआरवालाले पेन्सन नपाउने

पेन्सन पाइरहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको भए उनीहरूको पनि पेन्सन कटौती हुने प्रावधान विधेयकमा आएको छ । लालबाबु पण्डित पहिलो पटक सामान्य प्रशासनमन्त्री भएका बेला बहालवाला कर्मचारीले ग्रिन कार्ड लिन नपाउने व्यवस्था भएको थियो । सुरुमा विधेयकमा पेन्सन लिने कर्मचारीको सन्दर्भमा भने ग्रिन कार्ड र आवासीय अनुमतिको प्रस्ताव थिएन । समितिमा छलफलका क्रममा कर्मचारी बहाल रहँदा नै विदेशीलाई सूचना बिक्री गर्ने गरेको, पेन्सन भएपछि कुन विदेशी संस्था र सामाजिक संस्थामा जागिर खाने लाइन मिलाउने गरेको जस्ता अनगन्ती विषय उठेपछि यो प्रावधान राखिएको हो ।

प्रकाशित : असार १८, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?