हिमालय एयरलायन्सको एक क्याबिन क्रूमा पनि देखियो कोरोना 

सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्समा फेरि एक अर्का चालक दलका सदस्यमा कोरोना संक्रमण देखिएको छ । 

हिमालय एयरलायन्सको एक क्याबिन क्रूमा पनि देखियो कोरोना 

हिमालय एयरलायन्स स्रोतका अनुसार, काठमाडौं घर भएका ती पुरुष फ्लाइट–एटेन्डेटलाई टेकुमा पीसीआर जाँच गर्ने क्रममा सोमबार कोरोना संक्रमण पोजिटीभ देखिएको हो । एयरलायन्सका प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले यो कुरा पुष्टि गरेका छन् । फ्लाइट–एटेन्डेटलाई देखिनु एक साता अघि यसै एयरलायन्सका मेक्सीकन पाइलटमा कोरोना देखिएको थियो । उनी अहिले बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा छन् ।

ती फ्लाइट–एटेन्डेट उडान सकेर घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि आइतबार टेकु अस्पताल पुगेका थिए । सोमबार अबेर रिपोर्ट पोजिटिभ आएको खबर पाएका उनलाई मंगलबार टेकु अस्पतालमा भर्ना गरिएको स्रोतले बतायो ।

ती फ्लाइट–एटेन्डेट गत मंगलबार हिमालयले साउदी अरबमा गरेको उद्धार उडानमा नेपाली यात्रु लिन गएका थिए । फर्किँदा उनीहरुले १ सय ५४ यात्रु लिएर आएका थिए ।

हिमालयले हरेक उडानमा आरडीटी परीक्षण गराएर घर पठाउने गरेको छ । आरडीटी जाँचमा उनको रिपोर्ट नेगेटीभ थियो । त्यसको पाँचौ दिनमा उनले असहज महशुस गरेपछि उनी टेुक अस्पताल पुगेका थिए ।

यसैबीच हिमालय एयरलायन्सले त्यस दिनको उडानमा उनीसँगै उडेका क्याबिन–क्रूमध्ये तीन फ्लाइट–एटेन्डेट र एकजना एयर होस्टेसको मंगलबार पीसीआर जाँच गराएको छ । उनीहरुलाई ठमेलस्थित एक होटलमा राखिएको छ ।

हिमालय चीनको तिब्बत एयरलायन्स र नेपालको यति एयरलायन्सको संयुक्त लगानीमा नेपालमा दर्ता भएको वायुसेवा कम्पनी हो । योसँग ४ वटा एयरबसका न्यारोबडी जहाज छन् । यी विमान उडाउन चालक दलमा १८ जना विदेशीसहित ४३ जना पाइलट र ८० जना क्याबिनक्रू (एयरहोस्ट र फ्लाइट–एटेन्डेट) छन् । हिमालयले मंगलबारसम्म २३ वटा उद्धार उडान गरेर ३६ सय २ नेपालीलाई उद्धार गरिसकेको छ ।

कान्तिपुरको सर्म्पकमा आएका कम्पनीका केही पाइलट र क्याबिन क्रूले आरडीटी परीक्षण विश्वसनीय नभएकाले पीसीआर गर्नुपर्ने माग राख्दै आएको बताएका छन् । उपाध्यक्ष श्रेष्ठले स्वस्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार उडानमा जाने चालकदलको स्वस्थ्य जाँच गरिने बताए । उता नेपाल वायुसेवा निगमले उडानमा जाने चालकलाई घर नपठाई सोल्टी होटलमा क्वारेन्टाइन बनाई राखेको छ । ४–५ दिन लगातारको उडानपछि पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने गरेको छ ।

हिमालयका चालक दलले पनि निगमले जस्तै घर नपठाइ होटल क्वारेन्टाइनमा राख्न व्यवस्थापन र नियामक निकाय नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई माग राखेको बताएका छन् ।

यो पनि पढ्नुहोस्ः

हिमालय एयरलाइन्सका एक जना पाइलटलाई कोरोना संक्रमण

प्रकाशित : असार १७, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?