१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपाको सत्ता–संघर्ष उत्कर्षमा : स्थायी कमिटीमा राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीमाथि नैतिक दबाब

ओलीको दाहाललाई जवाफ– ‘३१ बर्ष अध्यक्ष भएर पनि फेरि पद चाहिने ?’
खनाल– ‘ओलीले पार्टी र सरकार दुवै चलाउन सक्नुभएन, खाली गुटबन्दीमात्रै गर्नुभयो’
नेपाल– ‘कोही एक्लैले बनाएको पार्टी हैन, हामी सबैले बनाएको हो, चेतना भया’
गौतम– ‘बलजफ्ती नगरी दुवै पदबाट केपीले राजीनामा दिनुपर्छ, पार्टी दर्ता उनले नै गराएका हुन्’
बबिता शर्मा

काठमाडौँ — बैशाख तेस्रो साता उठेको र पार्टीभित्र देखिएको तत्कालीन नयाँ ‘समीकरण’ पछि मत्थर भएको सत्तारुढ दल नेकपाभित्रको सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । स्थायी कमिटीको मंगलबारको बैठकमा पार्टी अध्यक्षसहित सचिवालय सदस्य र स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्रको शक्तिसंघर्ष नयाँ चरणमा प्रवेश गरेको देखिएको हो ।

नेकपाको सत्ता–संघर्ष उत्कर्षमा : स्थायी कमिटीमा राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीमाथि नैतिक दबाब

एक साताअघि सुरु भएको स्थायी कमिटी बैठकका नियमित एजेन्डामा छलफल भइरहेका बेला पछिल्लोपटक आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र, काठमाडौंस्थित भारतीय दूतावास र आफ्नै पार्टीका केही नेता लागेको अभिव्यक्ति दिएपछि स्थायी कमिटीमा त्यसमाथि चर्को प्रतिक्रिया आएको हो ।

सरकारले दुई विवादास्पद अध्यादेश जारी गरेपछि गत बैशाख तेस्रो साता नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

तर, बैठक चल्दै गर्दा नेता गौतमले अन्तिम समयमा ‘राजीनामा दिन नपर्ने’ बताएपछि त्यसबेला नेकपाभित्रको संघर्ष टरेको थियो । त्यसबेला दुवैपक्षले संसदीय दलमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियानसमेत सुरु गरेका थिए । तर, बदलिएको शक्ति सन्तुलनपछि राजीनामाको विषय सेलाएको थियो ।

आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र लागेको सार्वजनिक अभिव्यक्ति दिएपछि यो मुद्दा जारी स्थायी कमिटी बैठकमा प्रमुखताका साथ उठेको हो ।

स्थायी कमिटीमा दाहाल–नेपाल पक्षको बहुमत छ । यही समूहले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीमाथि नैतिक दवाव सिर्जना भएको छ । यद्यपि मंगलबार प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् ।

निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदनसमेत परेको विषयले बैठकमा प्रवेश पाएपछि थप आंशका जन्मिएका छन् । दल दर्ताका लागि भएको प्रयासमा दाहाल–नेपाल समूहले ओलीलाई जिम्मेवार ठानेको छ । तर, ओलीले यसलाई अस्वीकार गरेका छन् ।

यसरी बदलियो बैठकको कार्यसूचि र मागियो प्रधानमन्त्री ओलीको राजीनामा

बैठक ११ बजेलाई तय थियो । तर, बैठक सुरु हुने समयमा प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाटका लागि शितल निवास पुगेका थिए । समयमै बालुवाटार पुगेका नेताहरु प्रधानमन्त्रीको पखाईमा थिए । केही ढिला गरी प्रधानमन्त्री ओली बैठकस्थलमा प्रवेश गरेपछि अध्यक्ष दाहालले बैठक सुरु गरेका थिए ।

‘आज निर्धारित कार्यसूचिमा छलफल गर्ने तय भएको थियो । तर, अहिले परिस्थितिका कारणले नयाँ विषयमा छलफल गर्नुपर्ने भयो,’ सुरुमै दाहालले दुई विषय प्रवेश गराएका थिए ।

बैठकमा सहभागि एक नेताका अनुसार अध्यक्ष दाहालले भनेका थिए, ‘विशेषत मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा उहाँले (प्रधानमन्त्री) नक्सा छापे वापत भारतले सरकार ढाल्न खोजेको, हाम्रा साथीहरु पनि लागेको भन्ने आशयले बोल्नु भयो । त्यो गम्भीर कुरा भयो । त्योबारेमा छलफल गर्नुपर्‍यो । प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ ।’

अध्यक्ष दाहालले भारतको हस्तक्षेपविरुद्धमा लडेका सबै यहीं भएको भन्दै भारतको योजनामा काम गर्ने र भारतले योजना बनाएको भनेको के हो भनेर प्रश्न पनि गरेका थिए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति कुटनीतिक ढंगको नभएको र तथ्यपरक पनि नभएको बताएका थिए ।

त्यसपछि अध्यक्ष दाहाल दोस्रो विषयमा प्रवेश गरेका थिए । ‘दल दर्ताको कुरा आएको छ । त्यसमा केपी कमरेडको नै संलग्नता हो वा कतैबाट दवाव भएर गरिएको भन्ने पनि कुरा आइरहेको छ । भएको के हो ? त्यसमा केपी कमरेडले स्पष्ट पार्नुपर्छ,’ दाहालले भनेका थिए । दाहालले ओलीकै कारण पार्टी र सरकार संकटमा परेको भन्दै दुवै पदबाट राजीनामा मागेको ती नेताले बताए ।

त्यसपछि प्रधानमन्त्री ओली बोलेका थिए । उनले दुवै विषयमा आफ्नो बचाउ गरेका थिए । भारतको विरोध गर्दा साथीहरुले किन चित्त दुखाउनु पर्ने ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेको ती नेताले बताए । त्यतिमात्रै हैन ओलीले दाहाललाई प्रति प्रश्न पनि गरेका थिए ।

‘नन्इस्युलाई किन इस्यु बनाएको तपाईंहरुले ? आ–आफ्नो मर्यादाको मात्र कुरा गर्ने, आफूलाई सधैं पद चाहिने ? ३१ बर्ष अध्यक्ष भएपछि पनि फेरि पद चाहिने ?’ ओलीले दाहाललाई दिएको जवाफ उद्धृत गर्दै ती नेताले भने ।

प्रधानमन्त्री ओलीले आफूले पार्टी दर्ता नगरेको र गर्न नलगाएको स्पष्टीकरण बैकठमा दिएका थिए । ‘मैले पार्टी दर्ता गरेको हैन । त्यसबारे मलाई थाहा छैन । नागरिकहरुले दर्ता गर्न पाउँदैन ? कसैले गरे होला,’ ओलीले भनेका थिए, ‘म यही पार्टीको अध्यक्ष हुँ, मेरो पार्टी यही हो ।’

त्यसपछि वरिष्ठ नेता झलनाथ खनाल बोलेका थिए । नेता खनालले गुटको सरकार भएको र ओलीले पार्टीमा विधि पद्दतिलाई वेवास्ता गरेको भन्दै दुवै पदबाट राजीनामा मागेको बताए । ‘ओलीले पार्टी र सरकार दुवै चलाउन सक्नुभएन । खाली गुटबन्दीमात्रै गर्नुभयो । दुई बर्ष भयो सरकार बनेको । मन्त्रिमण्डल गठन, पुगर्नगठन गर्दा पनि गुटको आधारमा भयो, सरकारका नियुक्तिहरु पनि गुटको आधारमा भयो, अग्रगतितर्फको कुनै कदम चाल्न सक्नुभएन,’ नेता खनालले कान्तिपुरसँग भने, ‘यो गुटको सरकार भयो, पार्टीको भएन । पार्टी पनि राम्रोसँग चलेन । पार्टीमा विधि र पद्धति मानिएन । खाली आˆनो गुटको आधारमा सञ्चालन गर्न खोजियो । त्यसकारण तपाईले दुवै पदबाट राजीनामा दिनुस् भनेर सुझाव दिएको छु ।’

नेता खनालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन कसले दिएको हो त्यसबारे छानविन हुनुपर्ने सुझाव पनि बैठकमा दिएको बताए ।

खनालपछि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल बोलेका थिए । नेता नेपालले लामो भूमिका बाँध्दै दुवै पदबाट ओलीले राजीनामा दिन सुझाएका थिए । ‘उहाँमा उहिलेको दम्भ, अंहकार छ । आत्मालोचना पटक्कै नगर्ने । समस्याको जड नै यही कार्यशैली हो । कोही एक्लैले बनाएको पार्टी हैन, हामी सबैले दुख गरेर बनाएको पार्टी हो, चेतना भया,’ बैठकमा नेता नेपालको भनाई उद्धृत गर्दै अर्का एक नेताले कान्तिपुरसँग भने ।

ओलीले पार्टी र सरकारको नेतृत्व गर्न नसकेको भन्दै नेपालले दुवै पदबाट राजीनामा मागेका थिए । ‘केपी ओली गुटको नेता हो, पार्टीको नेता हैन,’ नेपालले भनेका थिए । उनले पार्टी दर्ताको बिषयमा छानविन हुनुपर्ने बताए ।

त्यसपछि उपाध्यक्ष बामदेव गौतमले सुरुमै दल दर्ताको बिषयमा बोलेका थिए । उनले भने, ‘म त विश्वस्त छु, पार्टी दर्ताको निवेदन दिएको केपीकै निर्देशनमा हो । त्यसबारे छानविन होस् ।’

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले बलजफ्ती नगरी दुवै पदबाट राजीनामा दिन सुझाएका थिए । ‘मदन जयन्तीको दिन उहाँले बोलेको कुरा विल्कुल गलत छ, आपत्तिजनक छ । यो कारण पनि उहाँ प्रधानमन्त्री रहिरहन मिल्दैन । सबैले विरोध गरेपछि उहाँले किन बलजफ्ती गर्ने ? पार्टी र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुस्,’ गौतमको भनाई थियो ।

त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ बोलेका थिए । प्रधानमन्त्रीले व्यक्तिगत स्वार्थका लागि कुटनीतिक र परराष्ट्र सम्बन्धलाई खेलवाड गर्ने काम भएको बताएका थिए ।

‘आन्तरिक राजनीतिमा आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न कुटनीतिक र परराष्ट्र सम्बन्धमा यसरी खेलवाड गर्न मिल्दैन । यो पार्टी, देश र आन्दोलनका लागि घातक छ । अहिलेको केन्द्रीय कार्यभार पार्टी एकताको रक्षा र सुदृढीकरण हो । ओलीकै नेतृत्वको सरकारको निरन्तरता र सफलता भन्दै आएको थिए । अब अहिले पार्टी एकता र सुदृढीकरण त हुनै पर्‍यो तर यही सरकारको निरन्तर भन्ने हैन । पार्टीको सरकारलाई कसरी सफल बनाउने भन्नेमा जानु पर्छ भन्ने सुझाव दिएको छु,’ प्रवक्ता श्रेष्ठले भने । उनले पनि पार्टी दर्ताको बिषयमा छानविन हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीसहित सचिवालयका ६ नेता बोलेपछि बाँकी तीन नेताले आफूहरु पछि बोल्ने बताएपछि स्थायी कमिटीका अन्य सदस्यहरुले बोलेका थिए । मंगलबार प्रधानमन्त्री सहित १८ नेताले बोलेको थिए ।

बरिष्ठ नेता खनालका अनुसार बोल्ने नेताहरुले अब ओली प्रधानमन्त्री पदमा बसिरहनु नहुने भन्दै राजीनामा मागेका थिए । उनका अनुसार कतिपयले सिधै राजीनामा मागेका थिए भने कतिपयले पार्टी पनि ओलीले चलाउन नसकेको भन्दै घुमाउरोपारमा निकास दिन भनेका थिए । बैठक बुधबार फेरि बस्नेछ ।

प्रकाशित : असार १६, २०७७ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?