२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

३ दिनमा २७ जिल्ला पुगे सलह, झुन्ड टुक्रिएर फैलने क्रम जारी

गोविन्द पोखरेल

काठमाडौँ — गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू २७ जिल्लामा देखिएका हुन् ।

३ दिनमा २७ जिल्ला पुगे सलह, झुन्ड टुक्रिएर फैलने क्रम जारी

केन्द्रका अनुसार सलहका ५ वटा झुन्ड भारतबाट नेपालमा प्रवेश गरेका छन् । झुन्डहरू २७ जिल्लामा देखिएपनि अन्य स-सना समूहहरू भने अन्य जिल्लाहरूमा देखिएका छन् ।

सोमबार साँझ रुपन्देहीमा प्रवेश गरेको झुन्ड अहिलेसम्मकै ठूलो हो । उक्त झुन्डमा २०/२५ लाखको संख्यामा सलह रहेको सुवेदीले कान्तिपुरलाई बताए । भैरहवामा प्रवेश गरेको सो झुन्ड टुक्रिएर ३ तिर लागेको देखिन्छ । यो झुन्ड पश्चिम भेगतिर गइरहेको सलह सूचना केन्द्रले जनाएको छ ।

यो झुन्ड टुक्रिएर प्युठान र दाङ पुगेको छ । 'एउटा झुन्ड दाङको लमही र घोराहीमा पुगेको छ,' सुवेदीले भने, 'अर्को झुन्ड प्युठानको सदरमुकामतिर फैलिँदै गएको छ ।' प्युठान पुगेको उक्त झुन्ड टुक्रिएर रोल्पा हुँदै सल्यान पुगेको सुवेदीले जानकारी दिए । केही झुन्डहरू लमहीको सानो झुन्ड कृषि बालीमा बसेको र अर्को ठूलो झुन्ड राप्ती नदीको किनारमा बसेको सुवेदीले जानकारी दिए ।

यस्तै मंगलबार काठमाडौं उपत्यकाका ३ वटै जिल्लाहरूमा सलहका झुन्डहरू देखिएका छन् । असार १३ गते बारामा देखा परेको झुन्ड टुक्रदै मकवानपुरको मकवानपुर गढीमा बसेको थियो । उक्त झुन्ड पनि टुक्रिएर चितवन पुगेको थियो भने केही झुन्ड मकवानपुर हुँदै काठमाडौं उपत्यकाका प्रवेश गरेको सुवेदीले जानकारी दिए । मकवानपुरमा टुक्रिएको झुन्ड चितवनमा पुगेको छ । चितवनबाट पुनः टुक्रिएर कालिका, रत्ननगर र शक्तिखोर क्षेत्रमा मंगलबार पुगेको सलह सूचना केन्द्रले जनाएको छ ।

सर्लाहीको नवलपुरमा देखिएको झुन्ड चाहिँ सिन्धुली प्रवेश गर्‍यो । सिन्धुलीबाट टुक्रिएर उक्त झुन्ड काभ्रे, सिन्धुपाल्चोकसम्म पुगेको छ । यी झुन्डहरू अब त्यतै हराएर जाने किट विज्ञसमेत रहेका सुवेदीले बताए ।

असार १३ गते नै रुपन्देहीमा देखिएको झुन्डले सैनामैनामा नोक्सानी गरेको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । उक्त झुन्ड त्यहाँबाट छुट्टिएको थियो । केही रुपन्देहीमा र ठूलो झुन्ड पाल्पा पुगेको थियो । सानो झुन्ड चाही कपिलवस्तुको बाणगंगातिर गएको विज्ञहरूले ट्रेस गरेका छन् ।

पाल्पामा गएको झुन्डले झ्याङ भन्‍ने ठाउँमा बसेको थियो । उक्त झुन्ड पनि टुक्रिएर स्याङजा, कास्की र गुल्मीतिर गएको किट विज्ञहरुले जानकारी दिएका छन् । स्याङ्जाको झुन्ड कालीगण्डकी गाउँपालिकामा बसेको र त्यहाँ केराका बोटमा र जंगलमा गाईवस्तुहरुले खाने घाँसको रुखलाई क्षति गरेको विवरण आएको छ ।


पाल्पाबाट टुक्रिएर गएको झुन्ड कास्कीको रुपा पुगे पनि त्यहाँ क्षति गरेको विवरण आइनसकेको सलह सूचना केन्द्रले जनाएको छ । त्यहाँबाट पनि गुल्मीको रिडी गएर सलहले बास बसेको देखिएको छ । टुक्रिदै गएपछि झुन्ड सानो भए पनि सलह अहिले खेतीभन्दा रुखमा बस्‍न थालेको सुवेदीले जानकारी दिए ।

असार १४ गते कपिलवस्तुमा देखिएको झुन्ड दाङ हुँदै प्युठान, अर्घखाँची पुगेको सुवेदीले बताए । उक्त झुन्ड टुक्रिएर मंगलबारसम्म रोल्पा, बाँके, बर्दिया, कैलाली, डडेल्धुरामा पुगेको सुवेदीले जानकारी दिए । झुन्ड टुक्रिएर फैलने क्रम जारी नै रहेको उनले सुनाए ।

टुक्रिएर सानो हुँदै गएका सलहका झुन्ड झाडी र जंगल क्षेत्रमा बस्‍ने गरेको पनि पाइएको किट विज्ञ सुनिल अर्यालले कान्तिपुरलाई बताए । 'सलह बसेको ठाउँमा घाम लागेपछि तापक्रम २० देखि २२ डिग्री भयो भने उनीहरू उड्न सुरु गर्छन्,' अर्यालले भने, 'तर यो तापक्रममा झुन्डमा भएका सबै नउड्न पनि सक्छन् । २७ डिग्री सेल्सियस तापक्रम भएपछि मात्रै यिनीहरू बसेको ठाउँबाट सबै उड्छन् ।' उनले दुई दिनयता सलहको नेपालभित्रको उडानलाई ट्रेसिङ गर्दा धेरै क्षति नदेखिएको बताए ।

यस्तै किट विज्ञ सुवेदीले दुई दिनयता सलहको नेपाल यात्रा हेर्दा झुन्डहरू टुक्रिदै स-सना समूह बन्‍न थालेको र त्यहीं उनीहरु मासिने अवस्था पनि भएको बताए । उनले भने, 'हामीले गरेको ट्रेसिङ हेर्दा झुन्ड टुक्रिदै समूहमा फैलिएका छन् । प्रजनन गर्ने अवस्था छैन । अन्यत्र १७ सय १८ सय मिटर माथिसम्म उडे पनि नेपालमा ५/७ सय मिटरभन्दा माथि पनि यिनीहरू उडेका छैनन् ।' झुन्ड सानो हुँदै जाँदा यिनीहरू भारत नफर्की नेपालमै मासिने सम्भावना पनि देखिएको उनले बताए ।

भारतमा केही दिनयता पश्चिबाट पूर्वतिर हुँदै हावा बहने गरे पनि उत्तर प्रदेश र बिहारमा हावाको चाप कम भएपछि पश्चिम उत्तरतिर हावा मोडिने क्रममा सलह नेपाल प्रवेश गरेको किट विज्ञहरूले बताएका छन् ।नेपालको सीमा नजिकैका क्षेत्रहरूमा सलहका झुन्डहरू देखिएकाले हावाको बहावले यिनीहरू जुनसुकै बेला नेपाल प्रवेश गर्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । वायुको वहाब परिवर्तन भइरहेकाले पनि आउने सम्भावना धेरै रहेको विज्ञहरूले बताएका छन् ।

कुन झुन्डमा कति संख्या ?

नेपाल प्रवेश गरेको सबैभन्दा ठूलो झुन्ड सोमबार रुपन्देहीमा प्रवेश गरेको देखिएको छ । उक्त झुन्डमा २० देखि २५ लाखको संख्यामा सलह छन् ।यस्तै आइतबार साँझ कपिलवस्तुमा देखिएको झुन्डमा ८ देखि १० लाखको संख्या थियो । आइतबार नुवाकोट क्षेत्रबाट उपत्याकाभित्रिएका सलहको झुन्डमा करिब १ लाख संख्या सलह रहेको सलह सूचना केन्द्रले अनुमान गरेको छ । असार १४ गते प्रदेश १ का पाँचथर, उदयपुर र खोटाङमा देखिएका सलहको संख्या सयभन्दा कम थियो ।

मंगलबार दाङको घोराहीमा देखिएका सलहको संख्या २ देखि ४ लाख, लमहीमा १ लाख, प्युठानको खलंगामा देखिएको झुन्डमा २ देखि ४ लाखको संख्यामा सलह छन् ।


सिन्धुपाल्चोकको जुगल र सिपाघाटमा देखिएको झुन्डममा हजारदेखि १५ सयको संख्या रहेको छ । डडेलुरामा देखिएको सलहको झुन्डमा ४ सयदेखि ५ सयवटा मात्रै सलह छन् । यी सलह सबै झाडी तथा वन क्षेत्रहरूमा बास बसेका छन् । सलह सूचना केन्द्रका अनुसार यी झुन्डहरू खेतबारीमा बसेका छैनन् ।

हालसम्म सलह देखिएका जिल्लाहरू :

बारा, पर्सा, मोहत्तरी, सिन्धुली, रामेछाप, रौतहट, मकवानपुर, सर्लाही, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङजा, दाङ, प्युठान, गुल्मी, कास्की, पाँचथर, तेह्रथुम, खोटाङ, कैलाली, डडेल्धुरा र सिन्धुपाल्चोक ।

प्रकाशित : असार १६, २०७७ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?