बागलुङमा थप ६८ जना संक्रमित निको भए, धमाधम घर फर्किँदै

प्रकाश बराल

बागलुङ — दुई साता लामो आइसोलेसनमा बसेपछि बागलुङमा ६८ जना कोरोना संक्रमितको एकैदिन नेगेटिभ रिपोर्ट आएको छ । उनीहरु कोरोना निको भएपछि उनीहरु धमाधम घर फर्किरहेका छन् ।

दोस्रो पटकको पीसीआर परीक्षणको क्रममा उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको धौलागिरि अञ्चल अस्पतालका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले बताए । उनीहरुमध्ये अञ्चल अस्पताल र धौलागिरि बहुमुखी क्याम्पसको प्रि-आइसोलेसनमा गरी ५३ जना उपचाररत थिए ।

मंगलबार उनीहरुमध्ये काठेखोला गाउँपालिका घर भएका १२ जना, बागलुङ नगरपालिकाका ११ जना र गलकोट नगरपालिकाका १५ जना मंगलबार डिस्चार्ज भएर घर फर्केका हुन् । केहीलाई भने व्यवस्थापकीय समस्याका कारण बुधबारमात्रै घर पठाइनेछ ।

नेगेटिभ रिपोर्ट आउनेमा बरेङका ६ जना, बडिगाडका ४ जना, जैमिनीका २ जना र ढोरपाटनका २ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । गलकोटमा १५ जना डिस्चार्ज भएपछि खाली भएको प्रि-आइसोलेसन कक्षमा सोमबार संक्रमित भएका ८ जनालाई भर्ना गराइएको छ । यसअघि बागलुङका २३ जना डिस्चार्ज भएका थिए ।

जिल्लाका कुल १ सय ९४ जना संक्रमितमध्ये अब १ सय २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित : असार १६, २०७७ २१:००
प्रतिक्रिया
पठाउनुहोस्

पाँचतले मन्दिर जीर्णोद्धार गर्न उर्लिए स्थानीय

जीर्णोद्धारमा सामेल हुन चाहने व्यक्ति वा समूहले श्रम गर्न आउनुअघि नै नाम टिपाउनुपर्छ । हालसम्म ४५ वटा समूहबाट २७ सयभन्दा बढीले श्रमदान गरिसकेका छन् भने सहभागिताको क्रम बढ्दो छ ।
लीला श्रेष्ठ

भक्तपुर — कोही माटो मुछ्दै छन् त कोही त्यसैको डल्ला बनाउँदै । लाम लागेर तिनै माटोका डल्ला र इँटा पास गर्दै छानासम्म पुर्‍याउन ठेलमठेल नै छ । भक्तपुरको पाँचतले (न्यातपोल) मन्दिर जीर्णोद्धारका लागि बनाइएको बाँसको खटमा लामबद्ध भई स्थानीय महिला, पुरुषहरू छाना छाउन सघाइरहेका छन् । मन्दिर जीर्णोद्धारका लागि श्रमदानमा आएका उनीहरू काम गर्न तँछाडमछाड गरेको देखिन्छ ।

‘नगरपालिकाले सम्पदा पुनर्निर्माणका लागि श्रमदान गर्न चाहनेका लागि सूचना जारी गरेको थियो, यत्ति धेरै स्थानीय आउने आशा भने थिएन,’ मन्दिर जीर्णोद्धार उपभोक्ता समिति अध्यक्ष केशव तमखुले भने, ‘श्रमदान गर्न चाहनेको नामावली अझ लामो छ ।’ मन्दिर जीर्णोद्धार गर्न चाहने व्यक्ति वा समूहले श्रम गर्न आउनुअघि नाम टिपाउनुपर्छ । तमखुका अनुसार मंगलबारसम्ममा ४५ वटा समूहबाट २ हजार ७ सयभन्दा बढीले श्रमदान गरिसकेका छन् । श्रमदान गर्न चाहने समूह योभन्दा बढी भएको उनले बताए । मन्दिर जीर्णोद्धार गर्न आउनेमा महिला बढी छन् । हरेक घरबाट कम्तीमा एक जना श्रमदान गर्न आएका छन् ।

स्थानीयहरू श्रद्धाले श्रमदान गर्न आएको उनको भनाइ छ । ‘उहाँहरूको कामलाई पैसासँग तुलना गर्न मिल्दैन,’ तमखुले भने । श्रमदानमा आउनेहरू आफैं खाजा ल्याउँछन् । श्रम गर्न नभ्याउनेले श्रमदानमा खटिएकाहरूलाई खाजा, पानी दिनसमेत आउने गरेका तमखुले जानकारी दिए । ‘विश्व प्रसिद्ध मन्दिर बनाउनु श्रद्धाको कुरा भयो, एक डल्ला माटो, दुईवटा इँटा भए पनि राख्ने भन्दै आउनुहुन्छ,’ उनी खुसी हुँदै बताउँछन्, ‘श्रम गर्न नभ्याउनेहरू पानी, फलफूल, चिसो लिएर आउनुहुन्छ ।’

श्रमदान मात्र होइन, मन्दिर जीर्णोद्धार तथा पुनर्निर्माणका लागि स्थानीयले निर्माण सामग्री र नगद पनि सहयोग गरेका छन् । उनका अनुसार हालसम्म करिब १० लाख रुपैयाँ नगद र १५ हजार झिँगटी, इँटा (क्वपु), ग्वंग अ:पालगायत सहयोग प्राप्त भएको छ । २०७२ वैशाखको भूकम्पले क्षति पुगेको विश्वसम्पदामा सूचीकृत उक्त मन्दिर जीर्णोद्धारका लागि भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ । उपभोक्ता समितिमार्फत गत मंसिर २५ मा सुरु भएको जीर्णोद्धारको काम यही महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नगरप्रमुख सुनिल प्रजापति बताउँछन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछिको २५ दिन मन्दिर जीर्णोद्धारको काम ठप्प भयो । मौलिक शैलीमा जीर्णाेद्धार थालिएको सम्पदामा वर्षाका कारण थप क्षति पुग्ने देखिएपछि श्रमदाताको सहयोगमा काम सुरु गरिएको उनले बताए । अहिले मन्दिरको पाँचौं तला पुनर्निर्माण र अन्य चार तलामा जीर्णोद्धारको काम भइरहेको छ । १९९० को भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामै क्षति पुगेको थियो । यसअघि राजा महेन्द्रले २०१९ मा र नगरपालिकाले २०५६ मा उक्त मन्दिरको जीर्णोद्धार गराएका थिए ।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार पाँचतले मन्दिरको निर्माण नेपाल संवत् ८२२ मा तत्कालीन राजा भूपतिन्द्र मल्लको पालामा भएको हो । १०८ फिट (३३.२३ मिटर) अग्लो उक्त मन्दिर वास्तुतन्त्र विधिअनुरूप बनेको छ । मन्दिरको गजुरलाई पूर्णताको प्रतीकसमेत मानिन्छ । मन्दिर निर्माण सकेर आषाढ शुक्ल प्रतिपदाका दिन गजुर र झन्डा फहराइएको प्रमाण फेला परेको श्रेष्ठ बताउँछन् । प्रत्येक वर्ष यसै दिनमा मन्दिरको जन्मोत्सवका रूपमा झन्डा फहराउने प्रचलन छ ।

प्रकाशित : असार १६, २०७७ २०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×