नागरिकता विधेयकको विरोधमा प्रदर्शन

प्रदर्शनमा प्रदेशमन्त्री पनि
कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेपाली पुरुषसँग बिहे गरेका विदेशी महिलाले सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधान विधेयकबाट हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले मंगलबार प्रदर्शन गरेको छ । बुधबार हुने प्रतिनिधिसभा बैठकमा समेत उसले यस विषयलाई प्रमुख मुद्दा बनाउने भएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले असार ८ गते विधेयक बहुमतबाट पारित गरेदेखि नै जसपा विरोधमा छ । मंगलबार राजधानीलगायत तराई–मधेसका अधिकांश र केही पहाडी जिल्लामा जसपाले विरोध प्रदर्शन गरेको छ । जसपाले आइतबार राजधानीको माइतीघर मण्डलबाट विरोध जुलुस निकालेको थियो । जुलुसपछि बानेश्वरमा आयोजित कोणसभामा नेताहरूले मधेसी जनताप्रति लक्ष्य गरेर प्राप्त गरिरहेको अधिकार कटौती गर्न खोजिएको बताए । अन्तरिम संविधान–२०६३ पछि जारी भएको नागरिकता ऐनमा नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलाले चाहे तत्काल अंगीकृत नागरिकता लिन सक्ने प्रावधान थियो । संसदीय समितिले विधेयकमा सात वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान थपेपछि मधेसमा असन्तुष्टि बढेको छ ।

जसपाका वरिष्ठ नेताद्वय अशोक राई र बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू शरतसिंह भण्डारी र रेणु यादवले वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षको प्रवाधान राख्दैमा राष्ट्रवादी भइने मानसिकता गलत भएको बताए । नेताहरूले पार्टीले ब्रिटिस र भारतीय सेनामा भर्ती हुने गोर्खालीका छोराछोरी अनागरिक हुने अवस्थासमेत हटाउन सरकारसँग आग्रह गरे । भर्ती हुनासाथ नेपाली नागरिकता त्याग्नुपर्ने अवस्था अन्त्य नगरे उनीहरूका छोराछोरी अनागरिक हुने नेताहरूको भनाइ थियो ।

विधेयकको विरोधमा जनकपुरमा भएको प्रदर्शनमा प्रदेश सरकारका मन्त्री, सांसद, नगरप्रमुख र निर्वाचित जनप्रतिनिधि पनि सहभागी थिए । जनकचोकबाट जसपाले निकालेको जुलुसमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सांसद प्रमेश्वर साह, शैलेन्द्र यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहभागी थिए । प्रदेश सरकारका मन्त्रीहरूले कोणसभामा भने सहभागिता जनाएनन् । कोणसभामा प्रदेश सांसद प्रमेश्वर साहले नेपाल र भारतको रोटीबेटीको सम्बन्ध टुटाउन नागरिकता विधेयकलाई संशोधन गर्न लागिएको आरोप लगाए । विधेयकका विरुद्ध प्रदेशमा जसपाले दिनहुँ प्रदर्शन गरिरहेको छ । नेपाली कांग्रेसले पनि विधेयक फिर्ता लिन प्रदर्शनलाई निरन्तरता दिएको छ । मंगलबार नै उक्त पार्टीले सर्लाहीको मलंगवामा र बाराको कलैयामा पनि प्रदर्शन गरेको छ ।

जसपाले विराटनगरमा पनि प्रदर्शन गरेको छ । संसारीमाईबाट निस्किएको जुलुस नगर परिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा नेता राजकुमार यादवलगायतले विधेयक फिर्ता लिन माग गरेका थिए ।


प्रकाशित : असार १६, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

क्‍वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजिटिभ

मेनुका ढुंगाना

अछाम — अछामको क्‍वारेन्टाइनमा मृत्यु भएका एक जनामा कोराना संक्रमण पुष्टि भएको छ । उनको गत शनिबार राति रामारोशन गाउँपालिकाको कैलाशेश्वर घट्टखेती आधारभूत विद्यालयमा निर्मित क्‍वारेन्टाइनमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार उनी जेठ २७ गते कैलालीको गौरीफन्टा नाका हुँदै अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएको थियो ।

उनको मृत्युपछि आइतबार स्वाब संकलन गरी परीक्षणका लागि सेती प्रयोगशाला धनगढी पठाइएको थियो । मंगलबार उनीसँगै अछामका अन्य ६६ जनामा कोरोना पोजिटिभ देखिएको हो । अछाममा हालसम्म १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : असार १६, २०७७ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×