१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपा बैठक जारी : सचिवालय सदस्यहरुले बोल्ने, नेताहरुका कुर्सी मञ्‍चबाट तल झारियो

काठमाडौँ — सत्तारुढ नेकपाको चौथो दिनको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मंगलबार बिहान ११.३० बजेपछि सुरु भएको बैठकमा सीमा समस्या समाधानमै केन्द्रित भएर बोल्न बाँकी रहेका सचिवालयका चार नेताले बोल्ने कार्यसूची तय भएको छ । 

नेकपा बैठक जारी : सचिवालय सदस्यहरुले बोल्ने, नेताहरुका कुर्सी मञ्‍चबाट तल झारियो

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल सीमा समस्यासम्बन्धी एजेण्डामा बोल्न बाँकी छ । बैठकमा शीर्ष नेताले बोलेपछि कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी एजेण्डामा छलफल केन्द्रित हुने भएको छ । बैठकका लागि सात एजेण्डा तय भएका थिए । पहिलो दिनको बैठकमा दुई अध्यक्षले बोलेका थिए ।

आइतबार प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न आफ्नै पार्टीका केही नेता तथा भारतीय राज्यसंयन्त्र र दूतावास लागि परेको भन्ने अभिव्यक्ति दिएका थिए । यो गम्भीर र कूटनीतिक मयार्दाविपरीत प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै बैठकमा यसबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी पनि नेताहरुले गरेका छन् ।

सिटको व्यवस्थापन बदलियो, शीर्ष नेताहरुको कुर्सी मञ्‍चबाट तल झारियो

बुधबारबाट सुरु भएको स्थायी बैठकमा हरेक दिन कुर्सीको विषयलाई लिएर विवाद हुने गरेको छ । बैठकको पहिलो दिन दुई अध्यक्षका लागि सोफा राखिएको थियो । अन्य सदस्यहरुका लागि काठको कुर्सी व्यवस्था थियो । दुई अध्यक्षका सोफाभन्दा केहीपछि वरिष्ठ नेता खनाल र नेपालका लागि कुर्सी थिए । तर, नेता नेपालले असन्तुष्टि जनाएपछि दुई अध्यक्षकै बराबरीमा उनी र नेता खनाल बस्ने कुर्सी सारिएको थियो ।

बैठकको दोस्रो दिन दुई अध्यक्ष बस्नका लागि सोफाको व्यवस्था गरिएको भन्दै स्थायी कमिटीका नेताहरुले विरोध गरेका थिए । लगत्तै दुई अध्यक्षका लागि राखिएका सोफा हटाएर मञ्चमा नै अन्य नेतालाई जस्तै काठका कुर्सी राखिएको थियो । तर, बैठकको चौथौ दिनसम्म आईपुग्दा मञ्चमा भएका नेता तल झरेका छन्, सबै बस्ने कुर्सी उस्तै छन् ।

दुई अध्यक्ष, वरिष्ठ नेताद्वय खनाल र नेपाल साथै उपाध्यक्ष वामदेव गौतम अगाडिको रोमा बसेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिवलाई स्थायी कमिटीका अन्य सदस्यसँगैको रोमा बसेका छन् । शुक्रबार दोस्रो दिनको बैठकमा अनुपस्थित भएका र शनिबार केही बेरमात्र उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारको बैठकमा सहभागि छन् ।

बैठकअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

पूर्वनिर्धारित समयअनुसार बैठक ११ बजेलाई तय थियो । नेताहरु समयमै बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री ओली भने नेताहरुलाई कुराएर राष्ट्रपति शीतल निवासमा पुगेका थिए । प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाट सकेर बालुवाटार फर्किएपछि स्थायी कमिटी बैठक सुरु भएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको हुन सक्ने नेकपाका नेताहरुको अनुमान छ ।

प्रकाशित : असार १६, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?