१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जन्मेको ५ महिनामै बिहे, १७ वर्षमा घर निकाला

सानैमा बिहे गर्ने परम्पराअनुसार २०६० मै बुबाआमाले लगनगाँठो कसिदिए । १६ वर्षपछि गौना गरेर सञ्‍जीवले रञ्‍जुलाई अघिल्लो वर्ष घर भित्र्याए । तर, परिवारबाट अपहेलित हुँदै घरबाट निकाला गरिएपछि रञ्‍जु न्यायको खोजीमा छिन् ।
शिव पुरी

रौतहट — उमेर १७ वर्ष पुग्दै छ । बिहे भने जन्मिएको पाँच महिनामै भएको हो । अहिले उनको काखमा ६ महिनाकी छोरी छिन् । तर, परम्परागत रूपमा घर भित्रिएको एक वर्ष मात्रै भएको छ । गरुडा नगरपालिकाकी रञ्‍जु मलिक (डोम) श्रीमान् र सासूससुराले घरमा बस्न नदिएपछि अहिले घरनिकालामा परेकी छन् ।

जन्मेको ५ महिनामै बिहे, १७ वर्षमा घर निकाला

श्रीमान् सञ्जीव मलिक (डोम) र रञ्जुको २०६० सालमै बिहे भएको हो । त्यतिबेला सञ्जीवको उमेर डेढ वर्षमात्र थियो । यो समुदायमा सानैमा बिहे गर्ने चलन छ । बिहेको १६ वर्षपछि परम्पराअनुसार रञ्जुलाई गौना गरेर सञ्जीवले घर भित्र्याएका थिए । वर्षदिन नपुग्दै उनले छोरी जन्माइन् । घरबाट निकालिएपछि न्यायको खोजीमा छिन् ।

चन्द्रपुर–५ स्थित माइतीमा सरण लिएकी उनले न्यायका लागि अधिकारकर्मी गुहारेकी छन् । उनी बुबा शंकर मलिक र आमा संगीता देवीका साथ आइतबार चन्द्रनिगाहपुरस्थित महिला अधिकारकर्मी देवकी नेपालको घर पुगिन् । ‘५ महिनाकै उमेरमा छोरीको विवाह गरिदिएँ । अहिले नातिनी जन्मिएकी छ । ज्वाइँले घरमा राख्दिन भनेर निकालिदिए,’ शंकरले भने, ‘छोरीको न्यायका लागि अधिकारकर्मी, सुरक्षा निकाय गुहारेको छु । सानैमा विवाह गरेर भूल भयो ।’

घरमा श्रीमान्ले अर्को विवाह गर्छु भनेर निस्कन दबाब दिँदै आएको रञ्जुुले बताइन् । मानसिक तनाव दिने क्रम बढेपछि बाध्य भएर माइती आएर बसेको उनले सुनाइन् । सञ्जीवका बुबा लडाइले भने बुहारीलाई घरबाट ननिकालेको दाबी गरे । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले केटा पक्षका परिवारलाई झिकाएर रञ्जुलाई न्याय दिलाइने प्रतिबद्धता जनाए ।

गरुडास्थित चिनी मिलमा रञ्जुका बुबा शंकर र सञ्जीवका बुबा लडाइ सँगै काम गर्थे । एक दिन लडाइले छोराको बिहेका लागि केटी खोज्नुपर्ने कुरा निकाले । शंकरले मेरी छोरी छ भनेर प्रस्ताव राखे । शंकरको प्रस्तावमा लडाइले समर्थन जनाए । जन्ती लिएर लडाइ शंकरको घर आए । केटाकेटी दुवैलाई अभिभावकले काखमै राखेर बिहे गरिदिए । त्यसबेला भोजभतेरमा एक लाख खर्च भएको शंकरले सुनाए ।

सानैमा बिहे भएकाले केटाले ठूलो भएपछि मात्र गौना गरेर केटी भित्र्याउने चलन छ । गएको वर्ष सञ्जीवले त्यसै गरेर रञ्जुलाई घर भित्र्याए । वर्ष दिन सम्बन्ध ठीकै चलेको थियो । जब बच्चा जन्मियो अनि छोरीमाथि कुटपिट र गालीगलौज सुरु भएको शंकर बताउँछन् । डोम समुदायमा दाइजो कम लाग्ने भनेर सानैमा बिहे गरिदिने चलन छ । उमेर नपुगी गरेकाले उनीहरूको विवाह दर्तासमेत हुन सकेको छैन । रञ्जु र सञ्जीवकै विवाह दर्ता नभएकाले छोरीको पनि जन्मदर्ता भएको छैन । सरकारले डोम समुदायका शिशुलाई स्थानीय तहमार्फत मासिक ४ सय रुपैयाँको दरले पोषण भत्ता दिँदै आएको छ । जन्मदर्ता नहुँदा उनी पोषण भत्ताबाट समेत वञ्चित छिन् ।

सामाजिक सुरक्षा सञ्चालन कार्यविधिमा एउटै आमाबाट जन्मेका दुई जनासम्म बालबालिकाले पोषण भत्ता पाउने प्रावधान छ । बिहे र जन्म दर्ता नभएका कारण जिल्लाका करिब ५ सय डोम र मुसहर जातिका बालबालिकाले पोषण भत्ता पाउन नसकेको अनुमान छ । रौतहटको धमौरा, मौलापुर, गौर, पथरा, महम्दपुर, मिठुअर्वा, मर्यादपुर, सरमुजुवा, मलोहियालगायत गाउँमा डोम समुदायको बसोबास छ । डोम समुदाय विकास केन्द्र रौतहटका पूर्वअध्यक्ष विजय मालीले आफ्नो समुदायमा सानैमा विवाह हुने र बच्चा जन्माउने समस्या रहेको बताए । ‘उमेरै नपुगी विवाह गराइदिने परम्पराले पछि आएर ठूलो समस्या भोग्नुपरेको छ,’ उनले भने, ‘पछिल्लो समय उमेर नपुगी विवाह गर्न हुँदैन भन्ने चेतना भए पनि उमेर ढाँटेर र लुकाएर गर्दै आएका छन् ।’

प्रकाशित : असार १६, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?