२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कुलेश्‍वरबाट पक्राउ परेका फलफूल व्यापारीको नाममा दुई सहकारीमा साढे ४ करोड

मातृका दाहाल

काठमाडौँ — कुलेश्वरमा फलफूल व्यापार गर्दै आएका १ भारतीयसहित २ जनाले सहकारीमा राखेको ४ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम शंकास्पद देखिएको छ ।

कुलेश्‍वरबाट पक्राउ परेका फलफूल व्यापारीको नाममा दुई सहकारीमा साढे ४ करोड

सोमबार दिउँसो कुलेश्वरबाट स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँ नगदसहित पक्राउ परेका गढीमाई नगरपालिका–३, बाराका रमेश सिंह र भारत बेतिया घर भई सिंहसँगै बस्दै आएका उनका साला रविकुमार सिंहले शुक्रपथ र सुमेरु सहकारीमा साढे ४ करोडभन्दा बढी रकम राखेको अनुसन्धानबाट खुलेको हो ।

दुवै जनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ । वृत्तका डीएसपी रुगम कुँवरका अनुसार रमेश सिंह र उनकी पत्नीका नाममा उक्त रकम भेटिएको हो । सुमेरुमा ३ करोड ५० लाखभन्दा बढी र शुक्रपथमा १ करोडभन्दा बढी रकम राखिएको कुँवरले बताए ।

पक्राउ परेका दुवैजना हुण्डी कारोबारमा संलग्न भएको आशंंकामा प्रहरीले अनुसन्धान गरिहेको छ ।

‘पक्राउ परेका दुवै जनाले ५/७ वर्षदेखि फलफूल पसल गर्दै आएको बताएका छन्, यसबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी कुँवरले भने, ‘तर सहकारीमा भएको र बरामद रकमको स्रोत के हो, यसको खोजीमा लागेका छौं ।’

सहकारी सञ्चालकलाई रकम बचत गर्नेको शंकास्पद खाता बन्द गर्न भनिसकेको डीएसपी कुँवरले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार १५, २०७७ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?