१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हिले बजारमा सडककै हिलोमा रोपाइँ !

धनकुटा — रोपाइँको भाकासहित बाजागाजा घन्किरहेको थियो । रोपाहार धान रोप्न व्यस्त देखिन्थे । हातमा राष्ट्रिय झन्डासहित भेला भएर हातमा बिउ बोकेकाहरु धान रोप्दै थिए । तर, खेतका गरामा होइन, हिलाम्य सडकमा । 

हिले बजारमा सडककै हिलोमा रोपाइँ !

यो धनकुटाको पर्यटकीय स्थल हिले बजारमा सोमबार देखिएको दृश्य हो । देशव्यापी रुपमा राष्ट्रिय धान दिवस मनाइरहँदा हिलेवासीले भने पिच सडकमाथि थुप्रिएको दलदलमा धान रोपे । उनीहरुले ढल व्यवस्थापन र सडकमा थुप्रिएको हिलो नपन्छाइएको प्रति सांकेतिक विरोध जनाउन सडकमै रोपाई गरेको बताएका छन् । पछिल्ला केही वर्षमा यसरी विरोध जनाउने क्रम अन्य जिल्लामा पनि देखिएका छन् ।


संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरको लगानीमा हिले बजारमा निर्माण भइरहेको ढल निर्माण कार्य व्यवस्थित नभएको स्थानीयले गुनासो पोखे । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ७ करोड ६१ लाख १० हजार रुपैयाँमा ढल निर्माणको कार्य पाँच महिना अघिदेखि सुरु गरेको छ । ढल निर्माण कम्पनीले लापरवाही गरेकोले हिलाम्य सडकमा आवाजावत गर्न समस्या उत्पन्न भएको स्थानीय मनकला लिम्बुको भनाई छ ।

भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा वुटवलले हिले वजारमा ढल निर्माणको जिम्मा लिएको छ । ढलको निर्माण कार्य लापार्वाही हुँदा सडक हिलाम्य भएकोले सर्वसाधरण आवात जावतमा समस्या उत्पन्न भएको भन्दै विरोध स्वरुप सडकमा धान रोपिएको स्थानीय रुपमान तामाङले बताए । ‘वर्षामा उसै पनि हिलो हुने हिलेमा ढल निर्माण कार्यको लापरवाहीले हामी स्थानीय सास्तीमा परेका छौं,’ उनले भने, ‘सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि सांकेतिक विरोध जनाएका हौं ।’

अनुगमन समितिले मापदण्ड र गुणस्तरीय निर्माणको लागि ध्यानाकर्षण गराउँदासमेत निर्माण कम्पनीका जिम्मेवार व्याक्तिले चासो नदिएको स्थानीयको गुनासो छ । तत्काल हिलाम्य सडकको समस्या सामाधान नभए निर्माण कार्यको काम रोक्ने समेत स्थानीयले बताएका छन् ।

गत चैत मसान्तमा सक्नुपर्ने सडक असारसम्म नसकिएको स्थानीयले आरोप लगाए पनि लामो समयको लकडाउनका कारण समय सीमामा काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीको भनाई छ । निर्माण कम्पनीका प्रतिनिधि फुर्वा तामाङले ढल निर्माण कार्यको सम्झौता अवधि आगामी फागुन मसान्तसम्म रहेकोले काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिए ।

प्रकाशित : असार १५, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?