कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

नेपाल प्रवेश गरेको सलहको झुन्ड भारत नै फर्किन सक्छ ?

सलह भारत फर्केनन् भने के हुन्छ ?
गोविन्द पोखरेल

काठमाडौँ — शनिबार र आइतबार गरेर सलहका ५ वटा झुन्ड भारतको राजस्थान-नयाँ दिल्ली हुँदै नेपाल प्रवेश गरे । भारतबाट उत्तरपश्चिमी हावा बहेपछि ठूलो झुन्डबाट टुक्रिएर सलह हावाको वेगसँगै नेपाल प्रवेश गरेको थियो ।

नेपाल प्रवेश गरेको सलहको झुन्ड भारत नै फर्किन सक्छ ?

नेपालमा प्रवेश गरेको झुन्डबाट टुक्रिदै सलह फैलने क्रममा जारी छ । किट विज्ञहरुले ट्रेसिङको काम पनि अगाडी बढाइरहेका छन् । सलहका लागि नेपाल उपयुक्त बासस्थान नभएकाले यी सलह पुनः आफ्नो प्राकृतिक बासस्थानमा प्रवेश गर्ने सम्भावना धेरै रहेको विज्ञहरुले बताएका छन् ।

वरिष्ठ किट वैज्ञानिक समुद्रलाल जोशीले नेपाल प्रवेश गरेका सलह पुनः भारतमै फर्किने संभावना रहेको बताए । उनले सलहका लागि नेपाल उपयुक्त बासस्थान नभएकाले 'यू-टर्न' लिनसक्ने कान्तिपुरलाई बताए । जोशीले भने, 'मरुभूमिको वातावरणमा मात्रै सलहले फुल पार्छ । नेपालमा यसले प्रजनन गर्ने वातावरण छैन ।'

उनले अपरिपक्‍व सलहले 'यू-टर्न' गर्न कोसिस गरेर पुरानै बासस्थानमा फर्कने जिकिर गरे । 'नेपालमा आएको सलहको झुन्ड अपरिपक्‍व वयस्क हो कि वयस्क हो त्यो थाहा हुनुपर्‍यो,' उनले भने, 'वयस्क परिपक्‍वहरु त्यतिकै मरेर जान्छन् । अपरिपक्‍वको झुन्डले पुनः प्रजननका लागि बासस्थानमा फर्कने कोसिस गर्नेछन् ।'

त्रिभुवन विश्‍वविद्यालयका प्राणशास्त्रका सह-प्राध्यापक एवं प्राकृतिक विज्ञान संग्राहालयका विज्ञ इशान गौतम पनि नेपालमा आएको सलहको झुन्ड पुनः भारततिरै फर्कने सम्भवाना रहेको बताउँछन् । गौतमले कान्तिपुरसित भने, 'प्रजातिहरु सकेसम्म आफ्नो बासस्थानमा फर्कन खोज्छन् । तर, कहिले फर्कन्छन् भन्‍ने सवाल अहिले मुख्‍य हो । '

नेपाल प्रवेश गरेका झुन्डहरु पुनः प्राकृतिक बासस्थानमा नै फर्कनका लागि विभिन्‍न वातवरणीय कुराहरुले प्रभाव पार्ने पनि विज्ञहरुले बताएका छन् । किट विज्ञ जोशीले भने, 'सलह आफ्‍नो बासस्थानमा फर्कने कोसिस त गर्छ तर शरीरमा ऊर्जा कति छ ? फ्याट कति सुरक्षित गरेर राखेका छन् भन्‍ने कुरामा पनि भरपर्छ ।' उनले सलह नेपाल प्रवेश गरिसकेकाले यसले क्षति निश्‍चित रुपमै गरेको देखिएको र फर्कदाका लागि खाना धेरै चाहिने भएकाले पनि बालीको क्षति अझ गर्न धेरै गर्न सक्‍ने औंल्याए ।

किटसम्बन्धी विषयमै विद्यावारिधी समेत गरेका सहप्राध्यापक गौतमले सलहको फैलावट र फर्कने कुराको निर्धारण हावा कतातिर बहन्छ भन्‍ने कुराले पनि निर्क्योल गर्ने जनाए ।

सलह भारत फर्केनन् भने के हुन्छ ?

सलहका झुन्ड अहिले टुक्रिदै देशका विभिन्‍न जिल्लाहरुमा फैलिरहेका छन् । बास बसेको क्षेत्रहरुमा यिनीहरुले बालीलाई नोक्सानी पनि गरिरहेका छन् । नेपाल प्रवेश गरेका झुन्डहरु वयस्क अपरिपक्‍व (गुलाबी रंगको) भएकाले यिनीहरुले प्रजनन गर्ने सम्भावना कम रहेको विज्ञहरुको भनाइ छ । यस्तै वयस्क परिपक्‍व (पहेंलो रंग) का सलह विकासित नहुने र बाली नोक्सानी गर्दै मर्ने किट विज्ञ जोशीले बताए ।

सलहको जीवनचक्रमा फुलको अवस्था २ साता रहने र बच्चा कोरिलिएपछि ५ सातामा व्यस्क हुने र अर्को नयाँ झुन्ड तयार हुने जोशीले जानकारी दिए । पहेंलो वयस्कहरु अन्न सखाप पार्दै जीवन चक्र समाप्त हुने उनले बताए । सलहको 'समर ब्रिडिङ'को समय भएकाले जुलाईसम्ममा त्रास हुने उनले बताए । सलहको आयु २ देखि तीन महिनाको हुने र एउटा वयस्क सलहले फुल पार्ने र बच्चा हुर्काइसक्दा जीवन चक्र पनि समाप्त हुने उनले बताए ।

नेपालमा फैलिरहेका झुन्डहरुमा टुक्रिने र हावाले उडाएर लैजाने क्रम जारी छ । जसका कारण क्षति त्यति ठूलो हुन नसक्ने नार्कका किट विज्ञ सुदीप उपाध्ययाले बताए । उपाध्यायले नेपालको भौगोलिक अवस्था र यहाँको हावापानी हेर्दा सलहलले प्रजनन् गर्न सक्‍ने सम्भावना अत्यन्तै न्यून रहेको बताए । कुनै कारणले सलहको आनीबानी परिवर्तन हुन पनि सक्‍ने उनको भनाइ छ । मौसमको प्रतिकूलताका कारण नेपालमा रहेका सलह यही नष्ट भएर जाने उपाध्याले बताए ।

उनले भने, 'अहिले सलह नै अलमलमा परेजस्तो देखिन्छ । झुन्ड बाहिरिएका छैनन् । टुक्रिएर फैलने क्रममा छन् । प्राविधिक समितिले अध्ययन पनि गरिरहेको छ । यिनीहरुलाई नेपालको मौसम अनुकल भइरहेको छैन ।' उपाध्यायले भारतको राजस्थानबाट दिल्ली आएको अर्को झुन्ड केही ठूलो रहेको र उत्तरतिर हावा बहे नेपाल आउने सम्भावना धेरै रहेको बताए । यसैले तयारी अवस्थामा बस्नुपर्ने उनको सुझाव छ ।

सलहका कारण नेपालमा भएको क्षतिको यकिन विवरण मन्त्रालयले तयार गरिरहेको छ । सबैभन्दा बढी मकवानपुरको मकवानपुरगढीमा क्षति गरेको कृषि मन्त्रालयले सलह नियन्त्रणका लागि गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले बताए । उनका अनुसार मकवानपुर गढीमा लगाइएको ठूलो क्षेत्रफलको मकै बालीमा सलह बसेको तर कति क्षति भयो भन्‍ने विवरण निकालि नसकिएको बताए । ७ वटै प्रदेशहरुमा सलह व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय टास्क फोर्स गठन गरिएको छ ।

कस्तो छ हावाको बहाव ?

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार 'सर्फेस विन्ड'को बहाव उत्तरबाट दक्षिण पूर्व र दक्षिण पश्चिम जाने जनाएको छ । जमिनको सतहदेखि १० मिटरको उचाईसम्मको हावाको बहावलाई 'सर्फेस विन्ड' भन्‍ने गरिन्छ । महाशाखाकी वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले कान्तिपुरसित भनिन्, 'तल्लो सतहमा हुने हावाको बहाव उत्तर दक्षिण बहने भएपनि माथिल्लो सतहको हावा दक्षिण उत्तर देखिन्छ ।'

श्रेष्ठका अनुसार मंगलबार १५ सय मिटर उचाईतिरको हावाको बहाव दक्षिणबाट उत्तर पूर्वी र उत्तर पश्चित हावा बहनेछ । यसको मतलब मंगलबार पनि भारतबाट नेपालतिर हावा बहनेछ । उक्त हावाको गति ५ देखि १५ मिटर प्रति सेकन्ड रहेको श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठले आकल झुक्कल अवस्थामा दक्षिणबाट उत्तरतिर हावा बहिरहेको जानकारी दिइन् । महाशाखाले कृषि मन्त्रालयसँग निरन्तर समन्वय गरेर नियमित रुपमा हावाको बहावबारे जानकारी दिइरहेको उनले बताइन् ।

प्रकाशित : असार १५, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?