कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेकपा बैठक : बस्नै कठिन, बसे टुंगाउनै जटिल

पार्टीकै नेता र भारत सरकार ढाल्न सक्रिय भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे आइतबार छलफल हुने संभावना
बबिता शर्मा

काठमाडौँ — अनेकौं घुम्ती पार गर्दै एकताका दुई वर्ष बिताएको सत्तारुढ नेकपामा दुखका दिन अझै उस्तै छन् । बुधबार (१० असार) देखि जारी स्थायी कमिटीको बैठकमा पनि नेकपाभित्रका दुख बालुवाटारमा देखिएको छ ।

नेकपा बैठक : बस्नै कठिन, बसे टुंगाउनै जटिल

अवस्था यस्तो छ– नेकपाका लागि बैठक बस्नै कठिन छ, बैठक बसिहाले एजेन्डा तय गर्नदेखि सिट व्यवस्थापनसम्म कठिन । कार्यसूची निर्माणदेखि बैठकको निरन्तरता झन् कठिन । स्थायी कमिटीको बैठकमा पनि अहिले यस्तै अबस्था देखिएको छ ।

विधान–पद्धति अनुसार र आवश्यकताले होइन, नेकपाको अहिले बसेको स्थायी कमिटी बैठक बाध्यता र पार्टीभित्रको शक्तिसंघर्षको उपज हो । यसका लागि नेकपाको विधानले गरेको व्यवस्था हेर्नुपर्ने हुन्छ । विधानअनुसार नेकपाको स्थायी कमिटी बैठक हरेक तीन महिनामा बस्नुपर्छ । तर, मंसीरपछि अहिले ७ महिनामा नेकपाले बैठक बोलाएको छ । विधानअनुसार बैठक त बसेन नै, २० सदस्यले पत्र लेखेर आग्रह गर्दा पनि बैठक समयमै बस्न सकेन ।

स्थायी कमिटीका २० सदस्यले बैशाख १० मा दुई अध्यक्षलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए । त्यतिबेला बैठक बसेन, बरु नेकपाभित्र शक्तिसंर्घष चर्कियो । र, पार्टीभित्रको शक्तिसंघर्ष अलि मथ्थर भएपछि बैशाख २५ र ३१ का लागि तय भएका बैठक अन्तिम समयमा स्थगित भए । राष्ट्रिय महत्वका विषयहरुमा पार्टीको सामूहिक विवेक, बुद्धि र शक्ति लगाएर समस्याको समाधानलाई सहज तुल्याउनुपर्ने नेताहरुको माग बैठक स्थगनसँगै ओझेलमा पर्‍यो । कोरोना संक्रमण र लकडाउनसँगै माघको केन्द्रीय कमिटी बैठकबाट बनेका नेकपाका सबै कार्यक्रम पनि स्थगित भएका थिए ।

बैठक बोलाउन पार्टीभित्र नेताहरुको निरन्तर माग रह्यो र करिब डेढ महिनापछि असार १० का लागि बैठक तय भयो । विगतमा जस्तै अन्तिम समयमा बैठक स्थगित हुन्छ कि भन्ने आंशका नेताहरुमा थियो । योपटक भने बैठक स्थगित भएन । तर, सुरुदेखि नै बैठक सुखद देखिएको छैन । तीन दिनका बैठकमा भएका घटनाक्रमलाई नियाल्ने हो भने नेकपाका दुख प्रस्टै देखिन्छन् ।

बैठक अगाडि एजेन्डा तय भएनन्, प्रतिवेदन लेखिएन


सात महिनापछि बल्लतल्ल बसेको बैठकमा अध्यक्षद्वयबीचको विवादले प्रतिवेदन प्रस्तुत हुन सकेन । नेकपाका यसअघिका महत्वपूर्ण बैठकहरुमा राजनीतिक प्रतिवेदन पेश हुने प्रचलन थियो । तर, अहिले बैठकमा दुवै अध्यक्षले मौखिक रुपमा आफ्ना भनाई राखे । स्थायी कमिटी बैठक बस्नुपूर्व सचिवालय बैठकमा प्रतिवेदन र बैठकका एजेण्डाबारे छलफल हुने गरेका थिए । अहिले न त सचिवालय बैठक बस्यो न त पहिल्यै एजेण्डा तय भए ।

बैठककै दिन एजेन्डा तय, चिक्त नबुझेपछि सदस्यहरुको आपत्ति

बुधबार बिहान ११ बजेका लागि बैठक तय भएको थियो । बैठकका एजेन्डाबारे मंगलबार साँझसम्म स्थायी कमिटी सदस्य कसैलाई जानकारी थिएन । बैठक सुरु हुनु केहीबेरअघि महासचिवसहित दुई अध्यक्षले पाँच एजेण्डा तय गरे । बैठकको सुरुमै महासचिव विष्णु पौडेलले छलफलका लागि तय भएका पाँच एजेन्डा प्रस्तुत गरे ।

पहिलो, वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य । दोस्रो, सरकारको कामको सन्दर्भमा कोरोना नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी तथा नेपालको सीमा समस्या समाधान तथा अन्य । तेस्रो, पार्टी एकताका बाँकी काम । चौथो, एमसीसी र पाँचौमा विविध थिए ।

महासचिवले एजेण्डा प्रस्तुत गरेलगत्तै धेरै नेताहरुले यी एजेन्डामा छलफल नहुने भन्दै उठेर विरोध गरेका थिए । उनीहरुले सरकारको काममा कोरोना, सीमा समस्यालाई एकै ठाउँ राख्न नहुने भन्दै सरकारको कामको समीक्षालाई छुट्टै एजेण्डा राख्न माग गरे । यस्तै, पार्टी एकताको बाँकी काम भन्ने एजेन्डालाई पनि नेताहरुले विरोध गरे । समग्र पार्टीका कामको समीक्षा छुट्टै एजेण्डा हुनुपर्ने भन्दै नेताहरुले माग गरे । करिब एक घन्टा एजेन्डाका विषयमा छलफल भएपछि शीर्ष नेतृत्व एजेन्डा थप्न तयार भयो । त्यसपछि ७ एजेन्डा निर्धारित भएका थिए ।

सुरुकै दिन दुई अध्यक्षबीच मतभेद छताछुल्ल

बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र दाहालले खुलेरै असन्तुष्टि पोखे । झन्डै एक–एक घण्टा बोलेका दुवैले एकअर्काप्रति घोचपेच र गुनासोमा समय बिताए । प्रधानमन्त्री ओलीले दाहाल र वरिष्ठ नेता नेपाललगायतका नेताहरुले पार्टीभित्र बहुमतको नाममा गुटको राजनीति गरेको गुनासो पाखे । सहमतिको आधारमा पार्टी चलाउनु पर्नेमा बहुमतको खेलमा लागेर आफूविरुद्ध घेराबन्दी गरेको भन्दै त्यो समूहको आलोचना गरे ।

सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टीभित्रैबाट गलत प्रचार भएको पनि ओलीले गुनासो पोखे । त्यतिमात्रै हैन उनले विदेशी शक्ति पार्टी र सरकार भत्काउन लागेकोसमेत दावी गरे ।

अर्का अध्यक्ष दाहालले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँड सम्बन्धी सम्झौता छाडेर गल्ती महशुस भएको गुनासो गरे । पार्टी एकता हुँदाको सम्झौता छाडेर पार्टीको हकमा जे लाभ हुन्छ भनिएको थियो त्यो नभएको गुनासो दाहालले गरेका थिए । दाहाल यतिमै रोकिएनन् । उनले पार्टी र सरकार संकटमा भएको भन्दै फुटतिर जान नदिन त्याग गर्न तयार हुनुपर्ने बताए । दाहालले त्याग गर्न तयार रहनु पर्छ भनेर प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये ओलीले एक पद छाड्नुपर्ने प्रस्ताव गरे ।

दाहालले पार्टी र सरकार भत्काउन विदेशी शक्ति लागेका छन् भन्ने प्रधानमन्त्रीको भनाईलाई खण्डन गरे । उनले पार्टी र सरकार संकटमा पर्नुको कारण विदेशी शक्ति नभई पार्टी भित्रै खासगरी दुई अध्यक्षबीचको समस्याका प्रमुख भएको बताए । दाहालले ओलीको कार्यशैलीमाथि पनि प्रश्न उठाएका थिए ।

कुर्सी काण्ड र ओली–नेपालबीच मनमुटाव

बैठक हलमा दुई अध्यक्षका लागि सोफा र अन्यका लागि कुर्सीको व्यवस्था थियो । दुई अध्यक्षको सोफा अगाडि र वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालका लागि राखिएका कुर्सी अलि पछि थिए । अध्यक्षद्वय बस्ने सोफाभन्दा पछि कुर्सी राखेको भन्दै बरिष्ठ नेता नेपालले आपत्ति जनाउँदै पार्टी कार्यालयका सचिवलाई कुर्सी अगाडि सार्न लगाए । सचिवले दुई अध्यक्षको सोफाकै लाईनमा कुर्सी सारेका थिए । त्यसपछिमात्रै नेता नेपाल मञ्चमा बसेका थिए । त्यसकै केहीबेरपछि ओली र नेपालबीच मनमुटाव पनि भयो ।

बैठकमा तय भएका एजेण्डा अनुसार प्रधानमन्त्री ओलीले बोल्दै थिए । उनले सरकारले धेरै राम्रो काम गरेको भन्दै लामो सूची पेश गर्न थालेपछि नेता नेपालले उनलाई बीचमै रोके । उनले भने, ‘एकछिन रोक्नुस् । यिनै कुरा धेरैपटक सुन्दासुन्दा थाकियो । तपाईले राम्रो काम भएको छ भन्ने दावी गरेर हुन्छ ? मसँग हिड्नुस्, देखाई दिन्छु कहाँ के काम भएको छ । जनताले के भनेका छन्, ग्राउन्डमा गएर बुझ्नुस् । आफ्नो बखान नगर्नुस् ।’ लगत्तै ओलीले ‘तपाई आफ्नो पालोमा बोल्नु होला, अहिले हैन’ भनेपछि नेपाल बसेका थिए ।

दोस्रो दिन ओली अनुपस्थित, सोफा हटाएर कुर्सी राखियो

शुक्रबार दोस्रो दिनको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएनन् । लामो समयपछि बैठक बसेको र त्यो पनि बालुवाटारमै बैठक हुँदा प्रधानमन्त्री ओली उपस्थित नभएको भन्दै नेताहरुले आलोचना गरेका थिए । अधिकांश नेताहरुले बैठकमा प्रधानमन्त्री किन अनुपस्थित भन्ने प्रश्न गरेपछि अध्यक्ष दाहालले कार्यव्यस्तताका कारण अनुपस्थित भएको र कुनै पनि बेला उपस्थित हुने जानकारी दिएका थिए । त्यसपछि भने अध्यक्ष दाहालले नै बैठक सुरु गरेका थिए ।

त्यसै दिनको बैठकमा दुई अध्यक्षका लागि राखिएको सोफाको विषयलाई लिएर नेता भीम रावलले विरोध गरे र हटाउन आग्रह गरे । नेता रावलको कुरामा अन्य सदस्यहरुले पनि समर्थन गरे । लगत्तै दुई अध्यक्षका लागि राखिएका सोफा हटाईएको थियो । र, अन्य नेताहरुलाई जस्तै अध्यक्षका लागि कुर्सीको व्यवस्था भएको थियो ।

तेस्रो दिन बैठकमा एकैछिनका लागि प्रधानमन्त्री आए, वामदेवले २५ वर्षअगाडिको प्रसंग उठाए

शुक्रबारको बैठकमा प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै नेताहरुले विरोध गरेपछि तेस्रो दिनको बैठकमा प्रधानमन्त्री ओली सहभागि त भए । तर, एकछिन बसेलगत्तै निस्किए । ओली हिँडेपछि फेरि नेताहरुले प्रश्न गरे । त्यसपछि अध्यक्ष दाहालले स्वास्थ्यका कारण प्रधानमन्त्री पूरै समय बैठकमा बस्न नसकेको प्रष्टीकरण सदस्यहरुलाई दिएका थिए ।

त्यो दिन पार्टी उपाध्यक्ष बामदेव गौतमले सीमा समस्याका विषयमा आफ्ना धारणा राखेका थिए । उनले २५ बर्ष अगाडिको महाकाली सन्धिको प्रसंग बैठकमा निकालेका थिए । उनले महाकाली सन्धि ऐतिहासिक गल्ती थियो भनेर नेकपाले निर्णय गर्न माग गरे । सन्धि गर्दा महाकाली नदीको मुहान तय हुनुपर्छ भन्ने आफूसहित १६ जनामाथि कारबाही भएको र त्यही कारणले पार्टी फुटेको कुरा त्यहाँ सुनाए । उनी त्यतिमै रोकिएनन् । महाकाली सन्धि गल्ती थियो भन्ने नेकपाले निर्णय गरेर आफूमाथि न्याय गर्न माग पनि गरे । तत्कालीन एमालेले गरेको निर्णय नेकपाले सच्चाउनु पर्ने माग गौतमले गरेका हुन् ।

एउटै एजेण्डामा छलफल

बैठकको पहिलो दिन दुई अध्यक्ष मात्र बोलेका थिए । दोस्रो दिन १८ र तेस्रो दिनको बैठकमा २१ जना नेताले आफ्ना धारणा राखेका थिए । यसरी दुई अध्यक्षसहित बैठकमा ४१ जना बोलेका छन् । एजेन्डाका हिसाबले नेपालको सीमा समस्या र समाधानकाबारे छलफल भएको छ । दुई अध्यक्ष बोलेकोले अरु पाँच एजेन्डामाथिका छलफल पुरै बाँकी छ । पदेन सदस्यसहित ५१ सदस्यीय स्थायी कमिटी छ । यसमा पनि अमिक शेरचन र अग्नि सापकोटाले पार्टीबाट राजीनामा दिएपछि हाल ४९ सदस्यीय छ ।

बैठक बस्दै स्थगित हुँदै

असार १४ गते मदन जयन्ती र १५ गते धान दिवसका दिन नेकपाका विभिन्न कार्यक्रमहरू रहेकाले अर्को बैठक असार १६ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । त्यसो त १० गतेपछि बैठक १२ सम्मका लागि स्थगित भएको थियो । १३ मा बैठक बसेपछि एकैपटक १६ सम्म सारियो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले बैठकमा थप बहस हुने संकेत

छलफलपछि तय भएका सात एजेण्डाबाहेक स्थायी कमिटी बैठकमा नयाँ विषयले पनि प्रवेश पाउने भएको छ । आइतबार प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई लिएर बैठकमा प्रष्टीकरण माग्ने तयारी भएको एक नेताले जानकारी दिए ।

बालुवाटारमै बसेको पार्टी बैठकलाई वेवास्ता गरेको आरोप लागेका बेला प्रधानमन्त्रीले नक्सा छापेवापत आफ्नै पार्टीका नेता र भारतले प्रधानमन्त्रीबाट हटाउने प्रयास गरेको दावी गरेका छन् । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको कार्यक्रमलाई आइतबार बालुवाटारबाटै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्सा छापेवापत प्रधानमन्त्रीबाट हटाउने प्रयास भएको बताए थिए ।

यही विषयलाई लिएर नेताहरुले उनीमाथि प्रश्न उठाउने तयारी गरेका छन् । त्यसले पनि बैठक अझै फराकिलो छलफलतर्फ जाने संभावना बढेको ती नेताले बताए । उनका अनुसार बैठक कहिलेसम्म चल्छ र कसरी टुंगिन्छ भन्नेमा नेताहरु नै अन्यौलमा छन् ।

प्रकाशित : असार १५, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?