रेल्वे लिकका कारण डुबान

देवनारायण साह

मोरङ — भारतको बथनाहादेखि कटहरीसम्म निर्माण भइरहेको रेल्वे लिकका कारण विराटनगर-१८ मा डेढ सय बिघा खेत डुबानमा परेको छ ।जमिनको सतहबाट ५ फिट बढी अग्लो ड्याम जस्तो अग्लो रेल्वे लिक निर्माण भएपछि डुबान भएको हो ।

रेल्वे लिकका कारण डुबान

यस क्षेत्रका मानिसहरु विगत २/३ वर्षदेखि यो समस्या झेल्दै आएका छन् ।

रेल्वे लिकसँगै एकीकृत जाँच चौकीमा पनि प्रयाप्त पानी निकासको व्यवस्था नगरिएकोले पनि यस क्षेत्रमा डुबानको समस्या भएको विराटनगर १८ का जोगिन्द्र यादवले गुनासो पोखे । ‘पहिले जाँच चौकी क्षेत्रबाटै पहाडदेखि बग्दै आएको पानी बिना रोकटोक भारततर्फ बग्दै आएको थियो,’ उनले भने, ‘तर जाँच चौकीको संरचना र पर्खाल लगाउँदा पानीको निकासलाई वेवास्ता गरियो र अर्कोतिर रेल्वे लिक पनि ड्याम जत्रै अग्लो बनाइ दिएर डुबानको समस्या भएको हो ।’

जाँच चौकी जाने लिंक रोड र रेल्वे लिकले वर्षाको पानी जलमग्‍न भएपछि बुधबार एक बालकको डुबेर ज्यान गएको स्थानीय रामलखन मण्डलले गुनासो पोखे । वर्षाको पानी दक्षिणतर्फ निकास नहुँदा बुधबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको थियो ।

वर्षौदेखि पहाडदेखिको पानी बग्‍ने क्षेत्रमा भारतले रेल्वे लिक र जाँच चौकी निर्माण गर्दा पानी निकासका लागि आवश्यकता अनुसारको पुल, कल्भर्ट र नाला निर्माण नगरेकाले डुबानको समस्या झेल्न बाध्य भएको विराटनगर १८ का निमित्त वडा अध्यक्ष राजदेव यादवले बताए । ‘रेल्वे लिक र जाँच चौकी निर्माण गर्ने बेलामा पानी निकासका लागि ठूला पुल, कल्भर्ट र नाला निर्माणका लागि निर्माण कम्पनीको ध्यानाकर्षण गराएको थियौं तर मानेनन्,’ उनले भने, ‘निर्माण कम्पनीले दिल्लीले नक्सा बनाएर पठाएकाले परिवर्तन गर्न मिल्दैन भन्दै रेल्वे र जाँच चौकीको निर्माण गरेको थियो ।’

रेल्वे लिक र जाँच चौकीमा पानी निकासका लागि आवश्यक व्यवस्था गर्न बुधनगरवासीले आन्दोलनसमेत गरेका थिए तर स्थानीय प्रशासनले वास्ता नगरेकै परिणाम अहिलेको डुबान भएको यादवले बताए ।

‘पहाडसम्मको पानी जाँच चौकी क्षेत्रमा जम्मा भएर भेडियारी हुँदै भारतको बैजनाथपुरबाट झोखरन घाटमा प्रमाण नदीमा जाने गरेको थियो,’ उनले भने, ‘अहिले जाँच चौकीलाई चारै तिरबाट पर्खाल लगाएर पानी निकासमा रोक लगाइएको छ जसले जाँच चौकीभन्दा पूर्व र रेल्वे लिकभन्दा उत्तर क्षेत्रको डेढ सयबढी विघा धान खेत डुबानमा परेको छ ।’ पानी बग्‍ने ठाउँमा एउटा सानो कल्भर्ट रहेको र त्यसबाट थोरै पानी निकास भएकाले डुबानको समस्या भएको हो । अहिले खेत डुबानमा परेको तर ठूलो वर्षा भए गाउँहरुसमेत डुबानमा पर्ने जोखिम बढेको यादवको भनाइ थियो ।

विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले रेल्वे लिक र जाँच चौकीले डुबानको समस्या रहेको तर त्यसको समाधान स्थानीय स्तरबाट नहुने अवस्था रहेकोले संघीय सरकारमा पहल थालेको बताइन् । ‘रेल्वे लिकको नाममा अग्लो ड्याम जस्तो बनाएको तर आवश्यक पानी निकासका लागि ठूला पुल, कल्भर्ट र नालाको व्यवस्थै गरिएको छैन,’ उनले भनिन्, ‘त्यस क्षेत्रका किसानको खेती डुबानबाट उकास्‍नका लागि संघीय सरकार गम्भीरता पूर्वक समस्या समाधानमा जुट्नुको विकल्प छैन ।’

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सीमा क्षेत्रमा निर्माण गरिएको जाँच चौकीसम्म पुग्‍ने सहायक सडक र रेल्वे लिकले डुबानको समस्या भएको स्वीकारे । डुबान क्षेत्रको अनुगमन गरेपछि प्रजिअ भुजेलले यो समस्याका लागि स्थानीयस्तरबाट तत्काल केही गर्न नसक्ने बताए । ‘बुधनगर क्षेत्र डुबानमा परेको कारणसहित केन्द्रमा जानकारी गराएका छौं,’ उनले भने, ‘जाँच चौकी उद्योग मन्त्रालय मातहत रहेकोले अध्ययन गर्न प्राविधिक टोली आउने छ ।’

प्रकाशित : असार १५, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?