१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खोकनावासी र प्रहरीबीच हाते ट्याक्टर खोसाखोस

प्रशान्त माली

काठमाडौँ — खोकनावासी र प्रहरीबीच सोमबार पुनः विवाद भएको छ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीय किसानलाई प्रहरीले अवरोध गरेपछि विवाद भएको हो । यसअघि धानको ब्याड राख्ने क्रममा विवाद भएको थियो ।

सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।

प्रहरीले अवरोध सिर्जना गरेपछि स्थानीयले सरकार विरोधी नाराबाजी लगाएका थिए । प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भएको थियो । स्थानीय नरेन्द्र महर्जन भन्छन्, ‘खोकनबासीले सेनाको प्याराग्लाइडिङ चौर, भैंसेपाटी आवास, रेडियो नेपालको टावर राख्‍न गरेर पटक पटक सरकारलाई जग्गा दिइसकेको छ । अहिले स्मार्ट सिटी जस्ता जतिपनि अन्य योजना छन् । यसले आदिवासी विस्थापित मात्र नभई मौलिक बस्तीको अस्तित्व नै सखाप पार्ने निश्चित छ ।’

स्थानीयले संसदको विकास समितिले बुङमती र खोकनाबासीको माग तत्काल सम्बोधन गर्न सरकालाई दिएको निर्देशन पनि वेवास्ता गर्दै आइरहेको आरोप लगाए । स्थानीय तहमा जनप्रतिधि आएलगतै ललितपुर महानगरका मेयर र उमेयरले स्थानीयको मागको सम्बोधन गर्न पहल गर्ने बताएका थिए । तर, अहिले स्थानीय जनप्रतिनिधि पनि मौन छन् ।

ललितपुरका तत्कालीन प्रजिअ यादवप्रसाद कोइरालाको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले पाखो बारीअन्तर्गत पर्ने भैंसेपाटीमा मोटर बाटो जग्गाको प्रतिरोपनी ४७ लाख ५० हजार, गोरेटोको ४० लाख ५० हजार, बाटो नभएको २६ लाख, खोकनामा मोटर बाटो जग्गाको ४४ लाख, गोरेटोको ३६ लाख, बाटो नभएकोमा २५ लाख, बुङमतीमा मोटर बाटोको ४१ लाख, गोरेटो ३३ लाख, बाटो नभएको २४ लाख र डुकुछापमा मोटर बाटो ३८ लाख, गोरेटो ३० लाख, बाटो नभएको २३ लाख छुट्याएको थियो ।

त्यस्तै भैंसेपाटीमा मोटर बाटो पुगेको जग्गाको प्रतिरोपनी ५२ लाख २५ हजार, गोरेटो बाटोको ४४ लाख ५५ हजार, बाटो नभएको २८ लाख ६० हजार, खोकना मोटर बाटोको ४८ लाख ४० हजार, गोरेटो बाटोको ३९ लाख ६० हजार, बाटो नभएको २७ लाख ५० हजार, बुङमतीमा मोटर बाटो भएको ४३ लाख ५ हजार, गोरेटो ३४ लाख ६५ हजार, बाटो नभएको २५ लाख २० हजार र डुकुछापमा मोटर बाटो ३९ लाख ९० हजार, गोरेटो बाटोको ३१ लाख ५० हजार, बाटो नभएको २४ लाख १५ हजार मुआब्जा रकम तोकेको छ ।

२०६६ कात्तिकमा शिलान्यास भएको ७६ किमी लामो ट्रयाकको उद्‍गम विन्दु निजगढ र अन्तिम विन्दु खोकना रहेको छ ।

प्रकाशित : असार १५, २०७७ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?