कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

ओली अभिव्यक्तिको विरोधाभास [टिप्पणी]

आफ्ना सरकारविरुद्ध चलखेल गर्नेलाई बोलाएर सोध्नेदेखि फिर्ता पठाउन सक्नेसम्मको अधिकार ओलीसँगै छ । तर किन आफूविरुद्धको षड्यन्त्रको मुकदर्शक बन्दै सार्वजनिक अभिव्यक्ति दिएर मात्र बसिरहेका छन् ? 
दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूलाई हटाउन भारतीय चलखेल’ भएको अभिव्यक्ति दिएका छन् । नेपालको संसद्‍मा करिब दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्रीबाट आएको यो अभिव्यक्ति ‘अस्वाभाविक’ र केही ‘नौलो’ छ ।

ओली अभिव्यक्तिको विरोधाभास [टिप्पणी]

त्यसैले उनका अभिव्यक्तिले यतिबेर राजनीतिक र कूटनीतिक वृत्त तरंगित छ । के ओलीमाथि साँच्चिकै संकट आइपरेको हो ? उनलाई हटाउन को–को कसरी सक्रिय छन् ? एक कोणबाट यस्ता प्रश्न उठेका छन् । अर्को कोणबाट ओलीका यी अभिव्यक्ति आफ्नै कारण अप्ठेरोमा परेपछि विषयान्तर गर्ने उनको पुरानै शैलीको पुनरावृत्ति त होइन ? आफ्नै शासकीय असक्षमताको ढाकछोप गर्न कुनै अदृश्य चलखेलको भएको कार्ड फ्याँकेर जनतालाई भ्रमित बनाउन त खोजेका होइनन् ? यस्ता प्रश्न पनि छन् ।

आफूलाई जनमतको बल रहेको भन्दै शक्तिशाली ठान्ने प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा दिएको अभिव्यक्ति विगतमा उनैले भन्दै आएका कुराहरुसँग विरोधाभासपूर्ण पनि छन् । छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धमा नक्सा प्रकरणपछि समस्या आइरहेका बेला प्रधानमन्त्रीले नै सिधा भारतले सरकार ढाल्न खोजेको आरोप लगाए । यसले कूटनीतिलाई आवेश, उत्तेजनामा होइन, मर्यादित र शिष्ट ढंगले अघि बढाउने भन्ने उनकै विगतको अभिव्यक्ति र अडानसँग केही विरोधाभास देखिएको छ ।

पछिल्ला अभिव्यक्तिले ओली शक्तिको धरातल कस्तो रहेछ भन्ने पनि सर्वसाधारणले भेउ पाएका छन् । ओलीले किन यस्तो अभिव्यक्ति दिए त ? यसको जवाफ उनको पार्टी नेकपाभित्रको अहिले बदलिएको समीकरणबाट पाउन सकिन्छ । आफ्नै शैलीका कारण अहिले ओली सत्तारुढ दल नेकपाभित्र आलोचनाको केन्द्रीय पात्र बनेका छन् । सरकार सञ्चालनमा मनलाग्दी गरेको, पार्टीसँग समन्वय नगरेको कारणले उनलाई हटाउनुपर्छ भन्ने मत नेकपाभित्र प्रभावी बनेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको समूह ओलीबाट अघि काम चल्दैन भन्ने निष्कर्षमा पुग्दैछन् । यसका लागि जारी स्थायी कमिटिको बैठकमै ओलीको राजीनामा माग्नेसम्मको तयारी नेताहरुको छ ।

यही पृष्ठभूमिमा ओलीले आफूलाई हटाउने चलखेल भइरहेको अभिव्यक्ति दिएका छन् । हटाउने चलखेलमा नक्सा प्रकरणबाट रुष्ट बनेको भारतको हात रहेको भनेका छन् । पार्टीभित्र नेताहरुको घेराबन्दीमा पर्दै भएको बेलामा भारतबाट हटाउने चलखेल भएको भनेर ओलीले आफूलाई अप्ठेरोमा पार्न खोज्ने नेताहरुलाई भारतीय कित्तातर्फ धकेल्न खोजेका छन् । अर्थात्, आफूलाई हटाउनका लागि भारतीय चलखेल भएको छ भन्नु र यही बेलामा नेकपाका नेताहरु ओलीबाट काम चल्दैन भन्ने निकर्षमा पुग्नुको संयोग हुन सक्ने ओलीको संकेत छ ।

खासमा ओलीसँग संसद्को बहुमत छ । पार्टीको संसदीय दलमा उनको पकड राम्रै छ । पाँच वर्षका लागि जनताले उनकै अनुहार हरेरेर उनको नेतृत्वको गठबन्धनलाई मत दिएका हुन् । तर, करिब तीन वर्षको कार्यकालमा उनले अपेक्षित काम गर्न सकेनन् । अहिले कोरोना भाइरसको संकटमा बेलामा जनुखालका शासकीय कुशलत प्रदर्शन हुनुपर्ने थियो, त्यसमा व्यापक कमजोरी देखिए । यी कमजोरीमाथि प्रश्न उठाउनेलाई ओलीले आफ्नो विरोधीको रुपमा बुझ्छन् । शासकीय कमजोरीले आफैंलाई थिच्दै लगेको भेउ उनले पाएका छैनन् । त्यसैले उनी अहिले आफूलाई घेराबन्दी गरेर हटाउन खोजेको मात्र सर्वत्र देख्छन् ।

त्यही श्रृंखलाको पछिल्लो कडी हो आइतबारको उनको अभिव्यक्ति । नत्र भारतले उनलाई हटाउने कुरा कहाँबाट आयो ? अहिले विगतको जस्तो त्रिशंकु संसद् छ र ? भारत वा कुनै देशको शक्तिले चाहँदैमा हटाउन सक्छ ? विगतमा पो संसद्‍मा धेरै दलहरु थिए । एउटै दलको बुहमत थिएन । त्यसैले गठबन्धन सरकार बन्थे, कसैको चलखेल भए सहजै भत्किन्थे र भत्किएका उदाहरण पनि थिए । अहिले त त्यस्तो अवस्था हैन । ओली नेतृत्वकै नेकपाको एकल बहुमत छ । यस्तो अवस्थामा उनलाई हटाउन नेकपाबाहेक अर्को कुनै शक्तिले सक्दैन । अनि आफ्नो पोजिसन यो हुँदाहुँदै भारतीय चलखेलले हटाउन खोजियो भन्नुको सोझो अर्थ आफ्नै पार्टीभित्र भित्र भारतीय घुसपैठ छ भन्ने हुँदैन र ?

ओलीले चलखेलमा भारतीय राजदूतलगायतको सक्रियता, होटलहरुमा भइरहेका बैठकका प्रसंग पनि उठाएका छन् । के यस्ता बैठकहरुबाटै प्रधानमन्त्री डराउनुपर्ने अवस्था आएको हो ? ‘भूगोल सानो र ठूला हुन सक्ला तर सार्वभौमसत्ता समान हुन्छ,’ भन्ने प्रधानमन्त्री ओली के भारतका सहसचिवस्तरका कर्मचारीले गर्ने दौडधुपबाट थर्कमान भएका हुन् ? यदि होइन भने, यस्तो चलखेल भएको थाहा पाउँदापाउँदै उनी किन ती राजदूतलाई बोलाएर सोध्न सक्दैनन् ? आफ्ना सरकारविरुद्ध चलखेल गर्नेलाई बोलाएर सोध्नेदेखि फिर्ता पठाउन सक्नेसम्मको अधिकार ओलीसँगै छ । तर, किन आफूविरुद्धको षड्यन्त्रको मुकदर्शक बन्दै सार्वजनिक अभिव्यक्ति दिएर मात्र बसिरहेका छन् ?

हुन त ओली चतुर राजनीतिक खेलाडी हुन् । आफूलाई अप्ठेरो नपर्दासम्म उनी अडानमा अडिग रहन्छन् । जब अप्ठेरोमा पर्छन् त्यो बेलामा मुद्दाहरुलाइ विषयान्तर गर्छन् । त्यसबाट पनि भएन भने उनी ‘कम्प्रोमाइज’ गर्छन् । विगतमा उनले गर्दै आएको राजनीतिको एउटा नक्सा यही हो । त्यसैले अहिले पनि केही समययताका उनका श्रृंखलावद्ध अभिव्यक्ति र गतिविधिमा यो छनक देखिन्छ ।

कतिपय कूटनीतिज्ञहरुले अहिले सरकार सञ्चालमा परेको अप्ठेरो र यही कारण पार्टीले पनि समस्या पार्न थालेपछि उनले ध्यान अयन्त्र मोड्न यस्तो अभिव्यक्ति दिएको हुनसक्ने विश्लेषण गरिरहेका छन् । नक्सा प्रकरणमा ओलीको पक्षमा संसद्‍मा राष्ट्रिय एकता नै प्रदर्शन भएको हो । भारतले मिचेको नेपाली भूभाग नेपालको नक्सामा समेट्ने गरी सरकारले संविधान संशोधन विधेयक अघि सार्दा सबै दलले सर्वसम्मत स्वीकारे । जुन मुद्दामा ओलीको पक्षमा राष्ट्रिय एकताको प्रदर्शन भयो त्यही मुद्दालाई जोडेर अहिले भारत वा अन्य नेपाली नै कुनै शक्तिले हटाउन खोजे भन्नु आफैंप्रतिको अविश्वास होइन र ? संसद्‍मा प्रकट राष्ट्रिय एकतामाथि नै नजरअन्दाज होइन र ?

हो, ओली एउटा अवस्थामा हट्ने स्थिति हुन्छ, जब उनी आफ्नो स्वेच्छाचारिता बढाउँदै लैजान्छन्, शासकीय कमजोरीहरु दोहोऱ्याइरहन्छन् र आफ्नै पार्टीका नेताहरुलाई अविश्वास गर्दै चिढ्याउँदै जान्छन् । यस्तो स्थिति आउन नदिन ओलीले बरु आफ्नो कार्यशैली बदल्न सक्छन् । पार्टीलाई विश्वासमा लिएर जान सक्छन् । यो कुरा जति छिटो ओलीले बुझ्छन् त्यति उनका लागि सहज हुन्छ । नत्र दृश्य वा अदृश्य रुपमा षड्यन्त्रका तानाबाना कसैले बुन्नै पर्दैन आफ्नै कर्मको फल उनलाई स्वत: मिलिहाल्छ ।

प्रकाशित : असार १५, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?