राम्रो काम नगर्ने कर्मचारी हटाउँछु : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका छन् ।

राम्रो काम नगर्ने कर्मचारी हटाउँछु : पर्यटनमन्त्री भट्टराई

आइतबार मन्त्रालयमा आयोजित एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको सुरुबाटै काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताएका हुन् ।

मन्त्रालयले विज्ञप्ति जारी गरेर बैठकबारे जानकारी दिएको हो । ‘अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउनबाट हामी काममा प्रोएक्टिभ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ,’ विज्ञप्तिमा भट्टराईलाई उद्धृत गर्दै भनिएको छ, ‘त्यस बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नुहोला ।’

आफूले प्रधानमन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उनले भने, ‘तपाईंहरूले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए/नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारबाही जे गर्नुपर्ने हो, त्यो गरिन्छ ।’ उनले चालू वर्षमा सम्पन्न हुन बाँकी काम १५ दिनभित्र पूरा गरिसक्न पनि निर्देशन दिए ।

साथै कोभिड–१९ का कारण बन्द रहेका सबै विमानस्थल सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकल कार्यान्वयन र अनुगमन गर्न पनि उनले सम्बन्धित महाशाखा/निकायप्रमुखलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : असार १४, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?