सोमालियाको सैन्य कारबाहीमा मारिएका अल सबाब कमान्डर 'नेपालबाट गएका'

काठमाडौं — सोमालियाको सशस्त्र बलको सैन्य कारबाहीमा अल सबाबका कमान्डरको मृत्यु भएकाे त्यहाँकाे राष्ट्रिय रेडियाेले दाबी गरेको छ । मारिनेमा नेपालबाट गएका असरफ अज्मी अबु हमदान रहेको र उनी इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

सोमालियाको सैन्य कारबाहीमा मारिएका अल सबाब कमान्डर 'नेपालबाट गएका'

साेमालियाकाे राष्ट्रिय रेडियोले यसबारे बिहीबार रिपोर्ट प्रसारण गरेको विदेशी सञ्चारमाध्यले लेखेका छन् । रेडियोका अनुसार दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा भएको कारबाहीमा उनी मारिएका हुन् । हमलामा कमान्डर हमदानसँगै अन्य तीनजना लडाकु पनि मारिएका छन् ।

रोयटर्स, सिन्‍ह्वालगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाले सैन्य कारबाहीमा मारिएका अल सबाबका कमाण्डर नेपाली नागरिक भएको उल्लेख गरेका छन् । तर नेपाली अधिकारीहरुले भने यसको औपचारिक जानकारी नभएको बताएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले सोमालियामा मारिएका विद्रोही नेपालबाट गएका वा नेपाली नागरिक हुन् भन्ने केही जानकारी प्राप्त नभएको कान्तिपुरसँग बताए ।

विद्रोही समूह अल सबाबले सन् २००८ देखि सोमालियाको केन्द्रीय सरकारसँग सरिया कानुन स्थापनाका लागि लड्दै आएको सञ्चारमाध्यममा उल्लेख छ ।

प्रकाशित : असार १४, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?