स्वास्थ्यकर्मी नै जोगिन गाह्रो

आइसोलेसनमा बस्दा घर परिवारलाई अवहेलना
सामान्य तालिमसमेत नहुंँदा स्वास्थ्य सामग्री प्रयोगमा समस्या
भवानी भट्ट

कञ्‍चनपुर — सुरक्षाका प्ररम्भिक उपाय अपनाएकै थिए । जेठ ८ देखि कैलालीको गौरीफन्टा नाकाबाट घर फर्कनेको स्वास्थ्य जाँच र क्वारेन्टाइनमा नियमित अनुगमन गरिरहेका पुनर्वास नगरपालिकाका ल्याब असिस्टेन्ट जनक धामीले आफू कोरोना संक्रमित भएको पत्तै पाएनन् ।

स्वास्थ्यकर्मी नै जोगिन गाह्रो

पहिलो दिन नै गौरीफन्टा हुँदै आएका पुनर्वासका ३४ जनामध्ये आरडीटी पोजिटिभ देखिएका एक जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइयो । अन्य ३३ जनालाई टिपरमा राखेर क्वारेन्टाइनतर्फ लैजाने क्रममा सामान्य विवाद भएको थियो । त्यतिबेला दुई जना ती धामीको नजिकै आएका थिए । ‘त्यतिबेला उनीहरुलाई सम्झाउने क्रममा मैले मास्कसमेत लगाएको थिइनँ,’ उनले भने, ‘तिनीहरूबाटै मलाई पनि संक्रमण भएको शंका छ ।’

नाकामा जाँच गर्न खटिएका दुई स्वास्थ्यकर्मीका लागि एउटा मात्रै पीपीई सेट थियो । राम्रो मास्क पनि थिएन । त्यसपछि तिनको प्रयोगको तरिका समेत राम्ररी थाहा नभएका कारण संक्रमित हुनुपरेको धामीले बताए । जेठ २० मा संक्रमण पुष्टि भएका उनी असार १ मा निको भएर फर्किएका हुन् । स्वाब जाँचका लागि पठाएको ५ दिनपछि उनको रिपोर्ट आएको हो । ९ वर्षदेखि परासन स्वास्थ्य चौकीमा कार्यरत धामी आरडीटी परीक्षणदेखि स्वाब संकलनमा खटिएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्दा स्वास्थ्यमा खासै समस्या नभए पनि घर परिवारले भने अवहेलना खेप्नुपरेको उनी बताउँछन् । छिमेकीहरुले गर्ने छिछि र दूरदूरले आफन्तहरुमा झनै पीडा भएको उनले बताए । संक्रमणको त्रास र डर कम हुँदै गए पनि संक्रमितप्रतिको व्यवहार र सोचाइ भने फरक हुन नसकेको उनको बुझाइ छ ।

पुनर्वास नगरपलिकाकै त्रिभुवनबस्ती स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट दुर्गा भट्ट पनि नाकामा भित्रिनेको जाँचसँगै क्वारेन्टाइनमा बसेकाको परीक्षण र रेखदेखमा थिए । क्वारेन्टाइनमा रहेकाको परीक्षण र उपचारका क्रममा उनी पनि संक्रमित भएका हुन् ।

जेठ तेस्रो साता पुनर्वास नरगपालिकाकै बिचफाँटामा रहेको एक क्वारेन्टाइनमा बसेका बीच विवाद भयो । त्यतिबेला भीड नियन्त्रण गर्न निकै समस्या भयो । पछि स्वाब संकलन गर्दा उक्त क्वारेन्टाइनमा ६ जनाको रिपोर्ट पोजिटिभ भएपछि उनलाई पनि आफू संक्रमित भएको हुन सक्ने शंका लागेको थियो ।

जेठ १५ मा संक्रमण देखिएको ल्याब असिस्टेन्ट धामीको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनको स्वाब संकलन गरिएको हो । उनमा जेठ २५ मा संक्रमण पुष्टि भएको हो । असार ५ गते निको भएर डिस्चार्ज भएका उनी अहिले होम क्वारेन्टाइनमा छन् । ‘हामीलाई कोरोनाभन्दा पनि छिमेकीले बढी दु:ख दिएका छन्,’ कोरोना संक्रमण भएर महाकाली अस्पतालको आइसोलेसनमा रहेकी वेदकोट नगरपालिकाकी एक संक्रमित स्वास्थ्यकर्मीले भनिन्, ‘मलाई त कुनै पनि लक्षण देखिएको छैन, तर छिमेकी र आफन्तले कुरा काट्ने र घर परिवारलाई तनाव दिने गरेका कारण दु:ख लागेको छ ।’

उनले आफ्नो फेसबुक पेजमा समेत कोरोना सामान्य संक्रमण भएकोले यसप्रति खासै डराउनु नपर्ने भन्दै बरु समाज र छिमेकीले गर्ने व्यवहार परिवर्तन गर्नुपर्ने लेखेकी छन् । उनी पनि ल्याब असिस्टेन्ट नै हुन् ।

पीपीईलगायत मास्क र अन्य स्वास्थ्य सामग्री लगाउने तरिका थाहा नभएकै कारण संक्रमण भएको उनको अनुमान छ । उनी सुरुदेखि क्वारेन्टाइनमा स्वाब संकलनदेखि आरडीटी परीक्षणमा खटिएकी थिइन् । उनमा असार ९ गते संक्रमण पुष्टि भएको हो । आइसोलेसनमा लक्षण देखिएका र नदेखिएका सबैलाई एउटै ठाउँमा राख्दा जोखिम बढी देखिएको उनले बताइन् ।

कञ्चनपुरमा ५ स्वास्थ्यकर्मीका संक्रमण देखिएको छ । उनीहरु सबै ल्याबमै काम गर्ने हुन् । जसमध्ये पुनर्वास नगरपालिकाका २ र लालझाडी गाउँपालिकाका १ गरी ३ जना निको भइसकेका छन् ।

वेदकोट नगरपालिकाका २ जना अहिले महाकाली अस्पतालको आइसोलेसनमा छन् । ‘क्वारेन्टाइनमा जाँदा होस वा स्वाब संकलन गर्दा र आरडीटी परीक्षणका क्रममा हुने सामान्य असावधानीले समेत संक्रमण भएको हुन सक्छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले भने, ‘यो नयाँं अभ्यास भएकाले पनि पीपीई लगाउने, खोल्ने र डिस्पोज गर्ने तरिकाहरु थाहा नभएर पनि संक्रमण भएको हुन सक्छ ।’

उनले नयाँ अभ्याससँगै स्वास्थ्यकर्मीहरुलाई तालिमको समेत अभाव भएकाले समस्या देखिएको बताए । जिल्लामा क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीसँगै २ सुरक्षाकर्मी र १ जना भान्सेमा समेत संक्रमण देखिएको छ ।

प्रकाशित : असार १४, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?