कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 मर्स्याङ्दीको बाढीले बस्ती जोखिममा

आश गुरुङ

लमजुङ — मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डे र ङोरो डाँडाबीचमा पहिरो खसेपछि बिहीबार केहीबेर मर्स्याङ्दी नदी आंशिक थुनियो । बाढीले कुनाबाट खोतलेपछि चामे–मनाङ सडकको उक्त क्षेत्र भासिएको छ । पहिरो गएको छ । सडक भासिएपछि उक्त गाउँमा सवारीसाधन र मानिस हिँड्न नमिलेको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।

 मर्स्याङ्दीको बाढीले बस्ती जोखिममा

‘मर्स्याङ्दीमा बाढी आएपछि कुनातिर खोतल्दा सडक भासियो । बाटो बगाएर खोलामा पुर्‍याएको छ,’ उनले भने, ‘यो क्षेत्रमा कहिल्यै यस्तो भएको थिएन ।’ नदीमा बाढी आएर पहिरो चल्न थालेपछि खोलाछेउका गाउँ जोखिममा रहेको स्थानीय बताउँछन् । मर्स्याङ्दीमा बढेको बाढीले माथिल्लो क्षेत्रभन्दा तल्लो क्षेत्र बढी जोखिममा पार्छ । नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार पहिरोले तालडाँडा नजिकै पहिरो गएपछि सडक नै अवरुद्ध बनायो । घेराङ गाउँ छेउबाट गएको पहिरोले गाउँलाई जोखिममा बनाएको उनले बताए ।

मनाङबाट लमजुङ हुँदै तनहुँ भएर मुग्लिनमा पुगी त्रिशूलीसँग मिसिने मर्स्याङ्दी नदीले यस आसपासका बस्तीलाई जोखिममा पारेको छ । तल्लो मनाङ र उत्तरी लमजुङका बस्ती जोखिममा रहेको स्थानीय बताउँछन् । मर्स्याङ्दीको बहाव बढेपछि मनाङको नासों–१, तालगाउँका स्थानीय जोखिममा परेको सिरानतालका सिंहबहादुर गुरुङले बताए । बाढीले तालगाउँमाथिका सिरानताल, खोत्रो, बगरछाप, धारापानी, चामेलगायतका गाउँ बढी जोखिममा रहेको स्थानीय बताउँछन् । ‘नदीबाट जोगिन तटबन्ध पनि बनाइएको थियो । तर यही बेला बाढी तटबन्ध नाघेर घरखेतमा पस्न थालेको छ’ उनले भने । उनका अनुसार ६ वर्ष पहिले गाउँमाथिबाट ठूलो पहिरो झरेको र अहिले पनि झर्न थालेको छ । ‘कतिबेला बाढी आउला, माथिबाट पहिरो आउला भनेर सुत्न सकेका छैनौं’ उनले भने । यसबाट गाउँका ५५ घरधुरी बढी जोखिममा रहेको स्थानीयले बताए ।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार बाढीपहिरोले शाखा सडक र बेंसीसहर–चामे सडक पनि बगाउने गरेको छ । ‘बाटोमाथि पहिरो, बाटोमुनि पहिरो । गाउँ र सडक जोखिममा छन्’ उनले भने । पछिल्लो समय मर्स्याङ्दी नदीमा ढुंगा, माटो र बालुवा निकाल्ने गरिएकाले पनि बाढीले कुना खोतल्दै लगेको हा । जलविद्युत् आयोजना, सडक निर्माण, निजी आवास निर्माणलगायत निर्माण कार्य अघि बढाउँदा अवैध रूपमा नदीजन्य पदार्थ झिक्ने गरिएको स्थानीयले बताए । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले नदी छेउका स्थानीयलाई सतर्क रहन आग्रह गरेको बताए ।

प्रकाशित : असार १३, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?