कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१६८ किलोग्रामकी महिलाले स्वस्थ शिशु जन्माइन्

आमा र छोरी दुवै स्वस्थ

काठमाडौँ — काठमाडौंकी १ सय ६८ किलोग्रामकी एक महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा उनले शुक्रबार शिशुको जन्म दिएकी हुन् ।

१६८ किलोग्रामकी महिलाले स्वस्थ शिशु जन्माइन्

बाँझोपन रोग विशेषज्ञ एवं ल्याप्रोसकोपिक सर्जन डा. नूतन शर्माका अनुसार असार ११ गते ३१ वर्षीया ती महिलाको शल्यक्रिया गरेर २.९५ किलोग्रामको स्वस्थ शिशु जन्माइएको हो ।

‘मेरा लागि नयाँ अनुभव हो, असाधारण तौलले गर्दा यो प्रसूति प्रक्रिया जटिल र जोखिमपूर्ण थियो,’ डा. शर्माले भनिन्, ‘मुलुकमा शल्यक्रियाले १ सय ६८ किलोग्रामकी महिलाको प्रसूति भएको सम्भवत: यो नै पहिलो पटक हो ।’ मोटोपनले गर्दा गर्भाधान सहज नहुने भनिए पनि आधुनिक प्रविधिको उपयोग गरेर ती महिलाले सन्तान जन्माएको डा. शर्माले बताइन् । सामान्य महिलाको दाँजोमा तेब्बर तौल भएकी ती महिलालाई कुनै शारीरिक रोग थिएन । ‘उनमा मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वासको समस्या, हाइपोथाइराडिज्म आदि कुनै समस्या थिएन,’ उनले भनिन्, ‘आमा र छोरी दुवै स्वस्थ छन् ।’

ती महिलाको प्रसूतिका क्रममा निकै सावधानी अपनाइएको अस्पतालले जनाएको छ । ‘सामान्य रक्तचाप नाप्ने मेसिनको बेल्ट लगाउन सकिएन, विशेष प्रकारको उपायमार्फत रक्तचाप नाप्नुपर्‍यो,’ डा. शर्माले भनिन्, ‘उनको तौल धेरै भएकाले विशेष एनेस्थेटिस्टको सहयोग लिनुपर्‍यो ।’ उनका अनुसार शल्यक्रिया गर्दा सामान्य गर्भवती महिलामा एकदेखि डेढ इन्चसम्म बोसो देखिन्छ । यी महिलामा भने निकै बढी देखिएको थियो ।

सामान्य महिलाको गर्भाधारणपछि अधिकतम तौल ७० देखि ८० किलोग्रामसम्म पुग्ने गरेको छ । डा. शर्माका अनुसार औसत महिलाको गर्भधारणपछि अधिकतम १२ देखि १५ किलोग्राम तौल बढ्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले आफ्नो २६ वर्षे करिअरमा अधिकतम १ सय २५ किलोग्रामसम्मको महिलाको शल्यक्रिया गरेर बच्चा जन्माएको अनुभव सुनाए । ‘योभन्दा माथिको तौल भएका महिलाको नेपालमा शल्यक्रियाबाट प्रसूति भएको मेरो जानकारीमा छैन,’ उनले भने ।

गिनिज वर्ड रेकर्डस् डटकमका अनुसार सन् २००७ को फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाकी २ सय ४१ किलोग्राम तौल भएकी डोना सिम्पसनले छोरीलाई जन्म दिएकी थिइन् । उच्च जोखिमयुक्त शल्यक्रियाबाट हुने प्रसूति प्रक्रियाअन्तर्गत डोनालाई प्रसूति गराउन ३० चिकित्साकर्मीको टोली खटिएको डेली मेलले जनाएको छ ।

प्रकाशित : असार १३, २०७७ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?