नेपालको जनसंख्या ३ करोड नाघ्यो

गणेश राई

काठमाडौँ — जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । 

‘अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको छ ।’ मध्यजनसंख्या सिद्धान्तअनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ ।

कुनै पनि व्यक्ति अक्सर बसोबास (६ महिनाभन्दा बढी) गरेको स्थानबाट उसको गणना गर्ने गरिन्छ । ०६८ को तथ्याङ्कमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला छन् । त्यसैगरी पुरुष ४८ दशमलव ५ प्रतिशत छन् । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको छ । देशभरिमा १२५ जातजाति र १२३ भाषा बोल्ने छन् ।

आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ । जन्मदर घट्दो छ । जनगणना–२०५८ ले वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव २५ देखाएको थियो भने दश वर्षमा शून्य दशमलव ९ विन्दुले जन्मदर घटेको देखिन्छ ।

विश्लेषकहरुको ठम्याइमा समाजमा चेतनास्तर बढेको छ । पढेलेखेका पुस्ता बढेका छन् । महिलाको शैक्षिक स्तर वृद्धि भइरहेको छ । साक्षरता दर ६५ दशमलव ९ प्रतिशत छ । शिक्षा, रोजगारीका अवसरहरू पाएसँगै एक वा दुई सन्तान जन्माउने र सुखी जीवन बिताउने भन्ने धारणाको विकास भइरहेको छ । सामाजिक चेतनास्तर बढेसँगै ‘दुई सन्तान’को अवधारणाको विकास भएको छ । ‘छोरा होस् या छोरी एकसन्तान भए पुग्छ’ भन्ने पुस्ता पनि छन् । अर्कोतर्फ, छोराको चाहना राख्नेले गर्भमै भ्रुण पहिचान गरेर ‘छोरी’ भएमा गर्भपतन गराउने पनि छन् । यसले गर्दा लैगिक असमानता झन बढ्ने देखिन्छ ।

मृत्युदर पनि उस्तै घटेको छ । अहिलेको तथ्यांकअनुसार सरदर आयु करिब ६७ वर्ष रहेको छ । जसमा महिलाको ६८ वर्ष र पुरुषको आयु ६५ वर्ष छ ।

अघिल्लो दश वर्षको तुलनामा जनसंख्या बढे पनि मुलुकको २७ जिल्लामा जनसंख्या घटेको छ । दश वर्षको अन्तरमा सहरमा बसोबास गर्ने जनसंख्या १३ दशमलव ९ बाट बढेर १७ दशमलव ०७ प्रतिशत पुगेको छ ।

दश वर्षमा काठमाडौं जिल्लाको जनघनत्व ६१ दशमलव २३ प्रतिशतले बढेको थियो भने मनाङको जनघनत्व ३१ दशमलव ८० प्रतिशतले घटेको थियो । कुल भूभागको १७ प्रतिशतमात्र ओगटेको तराईको जनसंख्या चाप ५० दशलमव २७ प्रतिशत छ । जनघनत्व प्रतिवर्गकिलोमिटर १ सय ८० जनसंख्या बसोबास गर्दछन् ।

१९६८ सालदेखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले आउँदो वर्ष १२औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ ।

घडीको यही सूत्रका आधारमा असार ८ गतेसम्म देशको कुल जनसख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना पुग्ने छ । त्यसमा १ करोड ५६ लाख ४३ हजार ८ सय ५३ महिला हुनेछन् । त्यसैगरी पुरुषको संख्या १ करोड ४७ लाख ३४ हजार २ सय १ जना हुने निर्देशक लामिछानेले बताए ।

अघिल्ला जनगणनामा नेपालको जनसंख्या


स्रोत : केन्द्रीय तथ्यांक विभाग
प्रकाशित : असार १२, २०७७ ११:२१

प्रतिक्रिया
पठाउनुहोस्

महलभित्रको गरिबी

क्यानभास साँघुरो छ, त्यही महलमात्र । मुख्य घटना महलभित्रै हुन्छन् । तर, अभावको समान नियतिमा बाँचिरहेका चरित्रबीचको समीकरण उम्दा लाग्छ ।
गोकर्ण गौतम

जतिबेला सुजित सरकार ‘गुलाबो सिताबो’ बनाउँदै थिए, कोरोना भाइरसको नामोनिसाना थिएन । फिल्म ‘पोस्ट प्रोडक्सन’ मा पुग्ने बेला त भाइरसले विश्वभर आतंक विस्तार गरिसकेको थियो । निर्माण कम्पनीले रिलिज मिति तोक्ने चाँजोपाँजो मिलाउँदै गर्दा भारतमा लकडाउन सुरु भइहाल्यो ।

सिनेमा घर नै चलाउने गरी लकडाउन कहिले खुल्छ, टुंगो छैन । कति फिल्मले लगानी बढाएरै भए पनि हलको प्रतीक्षा गरिरहेका छन् । तर ‘गुलाबो सिताबो’ का निर्माताले हल रिलिज पर्खेनन्, सशुल्क भिडियो स्ट्रिमिङ साइट ‘अमाजोन प्राइम भिडियो’ मा रिलिज गरे । यो निर्णयप्रति फिल्मका मुख्य अभिनेताद्वय अमिताभ बच्चन र आयुष्मान खुराना खासै सन्तुष्ट थिएनन् । यद्यपि सिधै अनलाइन प्लेटफर्ममा प्रदर्शन हुने यो पहिलो ठूलो हिन्दी फिल्म बनेको छ ।

कसैले वास्ता नगरेका स–साना विषयमाथि गहकिलो फिल्म बनाउन खप्पिस छन्, सुजित सरकार । ‘विक्की डोनर’, ‘पिकु’, ‘अक्टोबर’ यसका गतिला उदाहरण हुन् । सुजितले ‘गुलाबो सिताबो’ मा पनि आफ्नो परिचित शैली छोडेका छैनन्, बलिउडको मसलेदार सूत्रलाई फिटिक्कै पछ्याइएको छैन, तर यसले उनका अघिल्ला फिल्मले झैं दर्शकको मस्तिष्कमा अनेक सवाल खडा गर्न भने सक्दैन । आम मानिसमा हुने स्वार्थी र लोभी प्रवृत्तिलाई केही हदसम्म उदांगो भने पारिदिएको छ । त्यसका लागि सुजित र लेखक जुही चतुर्वेदीले पुरानो महल र त्यसभित्र हुने यावत् लुछाचुँडीलाई केन्द्रमा राखेका छन् ।

लखनउको फातिमा महलको रेखदेख गर्ने अनि भाडा असुल्ने जिम्मा पाएका छन्, मिर्जा (अभिताभ बच्चन) ले । महलको मालिक उनकी पत्नी फातिमा हुन् । तर, ८० वर्ष पुग्नै लागेका मिर्जाको एउटै सपना छ, महलको कानुनी मालिक बन्ने । यसका लागि उनी पत्नीको मृत्युको कामनासमेत गर्छन् । उता, भाडामा बस्ने रस्तोगी (आयुष्मान खुराना) उस्तै कन्जुस छन् । भाडा नदिन अनेक बहानाबाजी गर्छन्, मिर्जालाई घुर्काउँछन्, धम्काउँछन् । महलभित्रै तनाव बढिरहेका बेला पुरातत्त्व विभागका कर्मचारी गणेश (विजय राज) को प्रवेश हुन्छ । महल सय वर्ष पुरानो भएकाले विभागले कब्जा गर्न खोज्छ । जसका कारण मिर्जा, रस्तोगी र अन्य भाडावालाबीच खैलाबैला मच्चिन्छ । यो रमिता हेरिरहेकी हुन्छिन्, ९५ वर्षीया फातिमा । उनले लिने ‘बोल्ड’ निर्णयसँगै फिल्म सकिन्छ । क्लाइमेक्स थोरै नाटकीय लागे पनि रोचक छ ।

‘गुलाबो सिताबो’ मा देखिने प्राय: सबै चरित्रमा देखिने एउटा साझा गुण (वा अवगुण) हो, लोभी । र, यो लोभको मूल कारण हुन्छ, गरिबी । रस्तोगीलाई तीन बहिनी र आमा पाल्नुपर्ने दायित्व छ तर कमाइको भरपर्दो स्रोत छैन । त्यसमाथि बसिरहेको घरबाट हट्नुपर्ला भन्ने ठूलो डर छ, त्यसैले मिर्जालाई तह लगाउन हदैसम्म निकृष्ट हर्कत गर्छन् । परिवारबाट रस्तोगीले उस्तै खप्की सहिरहनुपर्छ, विपन्नताकै कारण प्रेमिकाले समेत हेप्छिन् । मिर्जा यो महललाई आफ्नो बनाउन मरिहत्ते गर्छन् किनभने यही महलका लागि उनले आफूभन्दा १५ वर्ष जेठी फातिमासँग बिहे गरेका हुन्छन् । भलै उनीहरूबीच त्यति फराकिलो उमेर अन्तर देखिन्न । कास्टिङ र मेकअप पात्रअनुरूप नहुनुको परिणाम हो यो । पुरातत्त्वको कर्मचारी गणेश, मिर्जाका वकिल, रस्तोगीकी बहिनीलगायतका चरित्रमा पनि खिच्चोपना भरपूर छ ।

फिल्मको क्यानभास साँघुरो छ, त्यही महलमात्र । मुख्य घटना महलभित्रै हुन्छन् । तर, अभावको समान नियतिमा बाँचिरहेका चरित्रबीचको समीकरण उम्दा लाग्छ । हरेक आ–आफ्नो दाउ पूरा गर्ने ध्याउन्नमा छन् । मिर्जा र रस्तोगीको ‘केमेस्ट्री’ लाई लेखक जुही चतुर्वेदीले नयाँ र पुरानो पुस्ता भए पनि गरिबीले उस्तै स्वभावको निर्माण गराउँछ भन्ने अर्थमा पेस गर्न खोजेकी छन् । महल आफ्नो बनाउने सपनामा रस्तोगी बाधक बनेकाले मिर्जा उनलाई महलबाट जसरी पनि निकाल्न लागिपर्छन् । जाने अर्को ठाउँ नभएकाले रस्तोगीलाई त्यहीँ बस्नुपर्ने विडम्बना छ । अझ भाडामा बस्ने अन्य विपन्न परिवारको ‘नेता’ झैं लाग्छन् उनी । त्यसैले त मिर्जामात्र होइन, उनका वकिल र कर्मचारीलाई पनि धम्काउन पछि पर्दैनन् । फिल्मको सुन्दर पक्ष भनेकै निम्न आय भएका मान्छेले बाँच्नका लागि गर्नुपर्ने संघर्ष हो, जहाँ स्वाभिमान र आत्मसम्मानको कुनै ठाउँ हुन्न ।

‘गुलाबो सिताबो’ मा कथाको विकासक्रम भने सुस्त छ । मिर्जालाई अति लोभी देखाउन निर्देशकले उस्तै प्रकृतिका दृश्य दोहोर्‍याएका छन् । रस्तोगीसँगको घृणाको सम्बन्धलाई बढी महत्त्व दिइएको छ । वृद्धवृद्धाको महलमाथि कब्जा गर्न सरकारी कर्मचारीलाई हतारो छ, कुनै संवेदना देखिन्न । मिर्जालाई आफ्नी पत्नीभन्दा महलको माया छ तर त्यो तहसम्म उनी कसरी पुगे ? देख्न पाइन्न । फातिमा बेगमको चरित्रलाई अन्त्यतिरबाहेक खासै मतलब गरिन्न । जबकि उनी र मिर्जाको जोडीको कथाको खुब खोजी हुन्छ । महलको कथा छ, महल फातिमाको हो तर फातिमाकै बेवास्ता हुँदा खल्लो लाग्ने भइहाल्यो ।

जसको जिन्दगीमा आफ्नो भन्नु केही हुन्न/छैन, उनैलाई अर्थात् मिर्जालाई आफूभन्दा बूढो भइसकेको महल चाहिएको छ । महलबाहेक उनको कसैप्रति प्रेम देखिन्न । सबै सकिएपछि रस्तोगीले उनलाई सोध्छन्, ‘के देखेर फातिमासँग बिहे गरेको ?’ उनी नलजाई भनिदिन्छन्, ‘महल देखेर ।’ तर, मर्ने बेला न उनीसँग महल हुन्छ, न फातिमा । समाजमा धेरै देखिने र वास्ता नगरिने चरित्रका प्रतिनिधि हुन्, मिर्जा । बोलीबाहेक अमिताभ बच्चन नै मिर्जा हुन् भनेर ठम्याउन मुस्किल पर्छ । कुप्रो परेको शरीर, सेताम्मे र लामा दाह्री, मोटो चस्मा, टाउको ढाक्ने कपडाले अमिताभलाई भिन्न बनाएको छ तर चरित्रको उमेर र आवश्यकताभन्दा धेरै नै बूढो देखाइएकाले उतिविघ्न विश्वसनीय लाग्दैन ।

आयुष्मान खुराना यो समयका निकै प्रतिभाशाली अभिनेता हुन् । उनका फिल्म बक्सअफिसमा हिट हुँदैनन् मात्र, प्रशंसा पनि बटुल्छन् । विविध आयामका चरित्रलाई जीवन्त बनाउन माहिर छन् उनी । यो कुशलताले यसपटक पनि निरन्तरता पाएको छ । परिवारलाई खुसी दिन नसकेको दिनहीन भूमिकामा उनी विश्वसनीय लाग्छन् । बहिनीको गलत आनीबानीबारे जानकार हुँदा वा प्रेमिकाले अर्कै केटा रोज्छु भन्दा पनि सहनै पर्ने बाध्यता छ । उनले सधैंभर रिस देखाउन सक्ने भनेको मिर्जामात्र हुन् । हुलियामात्र होइन, हाउभाउ र व्यवहारबाट विजय राज दुरुस्तै सरकारी कर्मचारी लाग्छन् । गुड्डुसँगको उनको सम्बन्ध रोचक छ । वकिल क्रिस्टोफर र महलको सांस्कृतिक महत्त्व बेवास्ता गर्दै भत्काएर व्यापारिक कम्प्लेक्स ठड्याउन हतारिएको ठेकेदारले पनि कथालाई बलियो बनाउन भूमिका खेलेका छन् ।

कोरा मनोरञ्जन खोज्नेका लागि ‘गुलाबो सिताबो’ उपयुक्त होइन तर मानवीय स्वभावका विविध रङ अनुभूत गर्न चाहनेलाई यसले निराश पार्दैन । कथा र प्रस्तुतिको गुणवत्ता केलाउँदा यस फिल्मलाई अब्बल होइन, मध्यम दर्जामा राख्न सकिन्छ । सुजित सरकार र जुही चतुर्वेदीको सहकार्यबाट योभन्दा स्तरीय सिनेमाको अपेक्षा रहन्छ ।

प्रकाशित : असार १२, २०७७ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×