२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालका सेवा बन्द

सुर्खेत, जुम्ला, दैलेख — कर्णालीका दुई ठूला अस्पताल सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालका सेवा बन्द

कोरोना संक्रमणकै कारण बिहीबारदेखि कर्णाली प्रदेश अस्पताल र जुम्ला अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सल्यानको जिल्ला अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालमा दुई जना चिकित्सकसहित ९ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कोरोना विशेष अस्पतालको संयोजन गरिरहेका वरिष्ठ चिकित्सक र अर्का एक चिकित्सकमा संक्रमण देखिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए । उनका अनुसार एक जना एचए र ६ जना प्रयोगशालाकर्मी पनि संक्रमित भएका छन् । ‘चिकित्सकलाई अस्पतालकै क्वाटरमा बनाइएको आइसोलेसनमा राखिएको छ,’ उनले भने, ‘अहिलेसम्म कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।’ केही समयका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको निर्देशक डा. खड्काले बताए ।

जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको थप जोखिम भएकाले अनिश्चितकालका लागि अस्पताल बन्द गर्नुपरेको बताएका छन् । कन्ट्याक्ट ट्रेसिङ गरेर अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिने उनको भनाइ छ ।

सम्भावित संक्रमित व्यक्तिहरूले सूचना लुकाउँदा स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको चिकित्सकहरूको गुनासो छ । जेठ अन्तिममा कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुगेका तीन जनामा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो । उपचार सुरु भएपछि मात्र उनीहरूमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ देखिएपछि तत्काल आकस्मिक कक्ष सिल गरी उपचारमा संलग्न ४२ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

जेठ अन्तिम साता क्वारेन्टाइनमा सर्पले टोकेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि इमर्जेन्सी सेवा सिल गरिएको थियो । अस्पताल निर्देशक डा. खड्काका अनुसार उनलाई अस्पताल ल्याउने व्यक्तिले क्वारेन्टाइनबाट ल्याएको सूचना लुकाएका थिए । ‘आकस्मिक रूपमा आउने बिरामीलाई हामीले जतिसक्दो छिटो उपचार गर्ने गर्छाैं,’ उनले भने, ‘तर समुदायबाट आएका बिरामीमा कोरोना देखिन थालेपछि चुनौती थपिएको छ ।’

एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सल्यानको जिल्ला अस्पताल बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । समुदायस्तरमा संक्रमण फैलन नदिन अस्पताल सिल गरिएको अस्पताल प्रमुख डा. अर्जुन बुढामगरले बताए । उनका अनुसार गत ५ गते एक दर्जन स्वास्थ्यकर्मीको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकामा एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

समुदायमा फैलने जोखिम

क्वारेन्टाइनमा सीमित कोरोना संक्रमण अहिले समुदायस्तरमा पुग्ने जोखिम छ । संक्रमण नियन्त्रणको लागि कन्ट्याक्ट ट्रेसिङ, स्वाब परीक्षणलगायतका काम भने हुन सकेका छैनन् । बरु पोजिटिभ देखिएर आइसोलेसनमा बसिरहेका संक्रमितलाई परीक्षणबिनै घर पठाउन थालिएको छ । ‘यसले गर्दा कोरोना संक्रमण समुदायमा झन् फैलिने जोखिम बढेको छ,’ प्रदेश अस्पतालका एक चिकित्सक भन्छन्, ‘आकस्मिक कक्षमा आउने बिरामीलाई समेत सहजै उपचार गर्न डराउनुपर्ने अवस्था आएको छ ।’

विशेषगरी क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीमार्फत कोरोना समुदायसम्म पुगेको छ । पीसीआर रिपोर्ट नआउँदै जेठ तेस्रो साता क्वारेन्टाइनबाट घर गएका दैलेख, नारायण नगरपालिकाका ८७ जना व्यक्तिमा कोरोना देखिएको थियो । त्यतिन्जेलम्म उनीहरू ३ देखि ५ दिनसम्म घरमा गएर बसिसकेका थिए । उनीहरूको परिवारका सदस्य र सम्पर्कमा पुगेका समुदायका अन्य व्यक्तिको पीसीआर परीक्षण गर्नुको साटो क्वारेन्टाइन (आइसोलेसन) मा फर्केका उनीहरूलाई बिहीबार परीक्षणबिनै घर पठाइएको छ । कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मी क्वारेन्टाइनमा बसेको मितिदेखि २० दिनको गणना गरेर ‘डिस्चार्ज’ गरिएको बताउँछन् । ‘उनीहरूको दोस्रोपटक स्वाब लिए पनि रिपोर्ट आएको छैन, नगरपालिकाको सहयोगमा कतिपय व्यक्तिको ट्रेसिङ गर्ने काम भएको छ,’ उनले भने, ‘तर लामो समयसम्म लक्षण नदेखिएकाले उनीहरूलाई घर पठाइएको हो ।’

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बिहीबार मात्र ३२ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । यसले पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको देखाउँछ । मन्त्रालयले समुदायस्तरमा संक्रमण पहिचान गर्न जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीको नेतृत्वमा कन्ट्रयाक्ट ट्रेसिङ टिम गठन गरेको छ । यद्यपि सो टिमले अहिलेसम्म समुदायमा संक्रमणको अवस्था के कस्तो छ भन्ने भेउ पाउन सकेको छैन । स्थानीय तहसँग समन्वय गरी समुदायमा संक्रमण देखिएका केसका आधारमा स्वाब संकलन गर्ने योजना बनाइएको शाही बताउँछन् ।

बिहीबारसम्म कर्णालीमा १ हजार ४ सय ६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने ६ सय ९२ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज भएका संक्रमितलाई पनि पीसीआर रिपोर्टका आधारमा गरिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २१ गते सबै कोभिड–१९ अस्पतालहरूलाई पत्राचार गर्दै पोजिटिभ केसहरूलाई लक्षणमुक्त भएको तीन दिन र जम्मा १४ दिनको आइसोलेसन बसाइपछि डिस्चार्ज गर्न सकिने भनेको थियो । सोही पत्रका आधारमा कर्णालीका आइसोलेसनबाट संक्रमितलाई डिस्चार्ज गर्न थालिएको हो । ‘लक्षण नदेखिए पनि उनीहरूमा कोरोना पोजिटिभ भइरहने अवस्थालाई नकार्न सकिँदैन,’ प्रदेश अस्पतालका ती चिकित्सक भन्छन्, ‘एकातिर पोजिटिभ केसहरू घर जाने, अर्कोतिर समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने भोलि अवस्था जटिल हुन सक्छ ।’

दैलेखमा पीसीआर मेसिन

संक्रमितको संख्या बढ्दै गएपछि परीक्षणको दायरा बढाउन दैलेखमा पीसीआर मेसिन जडान गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको करिब १ करोड ३० लाख रुपैयाँ लगानीमा मेसिन खरिद गरिएको हो । मेसिन नहुँदा जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि प्रदेश अस्पताल, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाउनुपर्ने बाध्यता थियो । रिपोर्ट आउन हप्तौं कुनुपर्ने समस्या हल गर्न दैलेखमै मेसिन जडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

प्रयोगशाला सञ्चालनका लागि काठमाडौंबाट ६ जना प्राविधिकको टोली ल्याइएको छ । आवश्यक उपकरण जडानको काम सकिएपछि २/३ दिनभित्रै परीक्षण सुरु गरिने ल्याब इन्चार्ज शंकर शाहीले बताए । ‘सुरुमा ५ वटा नमुना परीक्षण गरी पुन: परीक्षणका लागि नेपालगन्ज पठाइनेछ,’ उनले भने, ‘दुवै ठाउँको रिपोर्ट एउटै आएपछि परीक्षणलाई तीव्रता दिनेछौं ।’ उनले परीक्षण सुरु भएपछि स्वाब संकलन गर्न गाउँगाउँमा स्वास्थ्यकर्मी खटाइने जनाए । जिल्लामा अहिलेसम्म ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको जिल्ला अस्पताल प्रमुख डा.नीरञ्जन पन्तले बताए । उनका अनुसार १ हजार ७ सय ९९ जना क्वारेन्टाइनमा र ३ सय ६९ जना आइसोलेसनमा छन् ।

प्रकाशित : असार १२, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?