१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थलीज्युलोमा रोपाइँ भो, रौनक भएन

वसन्तप्रताप सिंह

बझाङ — करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ, थलीज्युलो । ज्युलो अर्थात् धान फल्ने फाँट, जहाँ २ सय ५० परिवारका खेत छन् । छबिस पाथीभेरा र दुर्गाथली गाउँपालिकाको मध्य भागमा पर्ने यो ज्युलोमा रोप्ने, धान काट्ने र भित्र्याउने काम एकै दिन सुरु गर्ने परम्परा छ ।

थलीज्युलोमा रोपाइँ भो, रौनक भएन

बीउसमेत एउटै जातको लगाइने यो ज्युलोमा बिहीबार रोपाइँ सुरु भएको छ । यहाँ रैथाने ‘परापुलो’ जातको बीउ मात्रै रोपिन्छ ।

रोपाइँमात्र होइन, धान भित्र्याउने काम पनि एकै पटक हुने भएकाले थलीज्युलोको परम्परा जिल्लाभर प्रसिद्ध छ । रोपाइँ सुरु हुँदा मेला लाग्ने भए पनि यो वर्ष कोरोना महामारीका कारण बाहिरका मानिसको भीड लागेन । स्थानीयले थलीज्युलोको परम्परालाई भने निरन्तरता दिए ।

स्थानीयहरू यो फाँट ‘देवी दुर्गाले उपहार दिएको’ भन्ने ठान्छन् । त्यसैले यो फाँटमा भैंसीको गोबर मल हाल्न नपाइने, जुत्ताचप्पल लगाएर हिँड्न नपाइने नियम छ । किंवदन्तीअनुसार आफ्नी बहिनी सुर्मा र भाइ मस्टा (महालिंग) सहित मृत्युलोकको भ्रमणमा आएकी दुर्गालाई चारैतिर सुन्दर पहाडले घेरिएको थली भन्ने ठाउँ मन पर्‍यो र उनले यहाँ बस्ने विचार गरिन् । उनले आफ्नो दैवी शक्तिको प्रयोग गरी थलीको डाँडोलाई सम्याउन लगाएर खेत बनाएको जनश्रुति छ ।

थलीज्युलोमा पुजारा, जप्रेल, थापा, रोकाया, बुढा, चलाउने र सिंह जातिका खेत छन् । पुजारा जातिले रोपाइँ सुरु नगरेसम्म कसैले नरोप्ने चलन छ । ‘जुन दिन पुजाराले रोपाइँ सुरु गर्छन्, त्यही दिन अन्य जातिले पनि सुरु गर्ने र सोही नियम धान काट्ने बेला पनि लागू हुने गरेको छ,’ स्थानीय गणेश बुढाले भने ।

रोपाइँ सकिएको साँझ साबिकको सैनपसेला र लेकगाउँ गाविसका स्थानीय मैलडो (खेत सम्याउँदा प्रयोग भएको डोरी) तानातान खेलिन्छ भने रातभर देउडा गाएर र नाचेर रमाइलो गर्ने परम्परा छ ।


तस्बिर सौजन्य : गणेश बुढा

प्रकाशित : असार १२, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?