१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोना कोषबाट साढे ५५ करोड निकासा [कसलाई कति रकम ?]

सात प्रदेशलाई कुल ३८ करोड र सेनालाई ९ करोड २६ लाख रुपैयाँ उपलब्ध
बलराम बानियाँ

काठमाडौँ — सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट सात प्रदेश र नेपाली सेनालाई गरी साढे ५५ करोडभन्दा बढी रकम निकासा गरेको छ । 

कोरोना कोषबाट साढे ५५ करोड निकासा [कसलाई कति रकम ?]

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बुधबार बसेको कोषको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बिहीबार रकम निकासा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोरोनाको जोखिम नियन्त्रण, आइसोलेसन स्थापना तथा सञ्चालन र संक्रमितको उपचार गर्न सात प्रदेशलाई कुल ३८ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रदेश १ लाई ४ करोड, प्रदेश २ लाई ७ करोड, वाग्मतीलाई ४ करोड, गण्डकीलाई ४ करोड, प्रदेश ५ लाई ७ करोड, कर्णालीलाई ६ करोड र सुदूरपश्चिम प्रदेशलाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको हो । प्रदेशगत संक्रमण प्रक्षेपणका आधारमा रकम उपलब्ध गराइएको निर्णयमा उल्लेख छ । यसअघि स्थानीय तह र अस्पताललाई मात्र कोषबाट रकम दिइएको थियो ।

सरकारले कोरोना कोषबाट सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई ९ करोड २६ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ । सैनिक अस्पताललाई आईसीयू कक्षलगायतका भौतिक पूर्वाधार निर्माण गर्न र औषधिलगायत स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न रकम दिइएको हो । सातै प्रदेशका ८४ पालिकालाई क्वारेन्टाइनको मर्मतसम्भार, खानपिन र बसोबासका लागि ७ करोड २२ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराइएको छ । पालिकाहरूलाई घटीमा करिब ३ लाखदेखि बढीमा १७ लाख रुपैयाँसम्म रकम दिइएको छ ।

स्वाब संकलन गर्न प्रयोग भएका नेपाली सेना, नेपाल वायु सेवा निगम र निजी क्षेत्रका हेलिकप्टर र जहाजको भाडाका लागि कोषबाट ८८ लाख ५५ हजार रुपैयाँ निकासा भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र त्रिवि शिक्षण अस्पतालका १२ जना बिरामी र संक्रमित १० स्वास्थ्यकर्मीको उपचारका लागि २५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । कोषले आफूले निकासा गरेको रकम कानुनबमोजिम खर्च गर्न र त्यसको लेखा परीक्षण गराई प्रतिवेदन पेस गर्नसमेत सबै निकायलाई सर्कुलर गरेको छ ।

सरकारले कोषबाट पहिलो पटक जोखिमयुक्त क्षेत्रका अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार र दोस्रो पटक कोरोना परीक्षण प्रयोगशाला, क्वारेन्टाइन र सीमा क्षेत्रका होल्डिङ सेन्टरलाई २४ करोड रुपैयाँ निकासा गरेको थियो । तेस्रो पटकको निर्णयसँगै कोषबाट निकासा भएको रकम साढे ८४ करोड रुपैयाँ पुगेको छ । हालसम्म २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको कोषमा अब १ अर्ब ५१ करोड रुपैयाँ बाँकी रहेको छ ।


कसलाई कति रकम ?

प्रदेश १ – ४ करोड

प्रदेश २ – ७ करोड

वाग्मती प्रदेश – ४ करोड

गण्डकी प्रदेश – ४ करोड

प्रदेश ५ – ७ करोड

कर्णाली प्रदेश – ६ करोड

सुदूरपश्चिम प्रदेश – ६ करोड बराबर ३८ करोड

८४ पालिका – ७ करोड २२ लाख ६८ हजार

सैनिक अस्पताल – ९ करोड २६ लाख ८० हजार

विमान भाडा – ८८ लाख ५५ हजार

दुई अस्पतालका संक्रमित स्वास्थ्यकर्मी र उपचारलाई २५ लाख

प्रकाशित : असार ११, २०७७ २३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?