पेस्तोलसहित चन्द समूहका सुनसरी इन्चार्ज पक्राउ

सुनसरी — सुनसरीको धरानबाट प्रहरीले हतियारसहित चन्द समूहका सुनसरी इन्चार्ज बताउने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भइ धरान–१५ बझगरामा बस्दै आएका २७ वर्षीय रोशन राई रहेका छन् ।

राईलाई प्रहरीले बधुबार राति पक्राउ गरेरे बिहीबार सार्वजनिक गरेको हो । उनलाई पक्राउ गरेपछि बिहीबार बिहान प्रहरीले मोटरसाइकल पनि बरामद गरेको थियो ।
राईले मोटरसाइकल भने धरान–१५ को रामहंश मार्गमा पार्क गरेका बताएपछि प्रहरीले मोटरसाइकल खोजी गरेको थियो । राईले भनेकै स्थानमा उक्त मोटरसाइकल फेला परेपछि डिकि खोलेर हेर्दा अंग्रेजीमा ‘वन्ली फर पब्लिक सप्लाई’ लेखेको अमेरिकामा बनेको र तीन राउण्ड गोली लोड गरेको पेस्तोल एक थान, एकथान मोटरसाइकल, म्यागजिन एकथान, दुई थान मोबाइल र ६ थान सिम बरामद भएको प्रहरीले जनाएको छ ।
धरानका प्रहरीका नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले भने,‘राईलाई सुनसरी जिल्ला अदालतबाट हात हतियार खरखजाना मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’
प्रकाशित : असार ११, २०७७ १५:१८