नरैनापुरमा कोरोनापछि बाढीको सन्त्रास- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नरैनापुरमा कोरोनापछि बाढीको सन्त्रास

आकाशमा कालो बादल मडारिँदा भान्सामा गृहिणी आतिन्छन् । घर–आँगन जलमग्न हुने पीर बढ्छ । हरेक वर्षायामका डुबानको त्रासमै बित्छ ।
मधु शाही, रुपा गहतराज

नरैनापुर, बाँके — आकाशमा कालो बादल मडारिँदै थियो । नरैनापुर गाउँपालिका–५ भगवानपुरकी नाजिया नुरीले बल्दै गरेको चुलोतिर हत्तपत्त हेरिन् । मुसुरोको दाल कसौंडीमा हालिन् । जतिसक्दो छिटो पकाउने तरखरमा थिइन् ।

पानी पर्‍यो भने छानो चुहिएर चुलो चिसिन्छ । दिनभरि पानी परे नजिकै राप्तीको बहाव भान्साभित्रै पस्छ । त्यसैले १६ वर्षीया नुरीले मंगलबार दिउँसो २ बजे खाना पकाउँदै थिइन् । ‘पानी नपर्दै काँचो र पाकेको जे छ, हतारमा खाइहाल्नुपर्छ,’ उनले भनिन्, ‘भगवानपुरका बासिन्दाको यही बाध्यता छ ।’ मौसम हेरेर चुलो बाल्नुपर्ने, नदीको बहाव हेरेर निदाउनुपर्ने नियति छ । ‘काँचो पाकेको जे हुन्छ, त्यही खाइहाल्नुपर्छ,’ उनले भनिन्, ‘बादल हेरेर कति पानी पर्ला भन्दै हतारहतार खाना बनाउनुपर्छ ।’

उनको जस्तै नरैनापुर गाउँपालिकाका राप्ती नदी छेउछाउ बस्नेहरूको खाने र सुत्ने समय बिथोलिएको छ । कोरोना संक्रमणबाट उम्किन नपाउँदै यहाँका बासिन्दालाई डुबानमा पर्ने त्रास सुरु भएको छ । बर्सेनि बाढीको समस्या हुन्छ । उनीहरूका लागि यो नियतिजस्तै हो । स्थानीय गंगापुरको छेउमै राप्ती नदी सुसाइरहेको छ । तीन दिनअघि परेको पानीले राप्तीको बहाव बढेर यहाँका गंगापुर, भोजभगवानपुर, जमुनी, टेपरीलगायत गाउँका घरहरूको आँगनमा बाढी पुगिसकेको छ । तीन दिनअघि नाजियाको घरभित्रै बाढी पस्यो । त्यसबाट क्षति त भएन, तर नाजियाको परिवार भने रातभर जाग्राम बस्नुपर्‍यो । आमाबुबासहित नौ जनाले रातभरि घरका सामान रुँघे । प्रत्येक वर्षामा उनीहरूको छाप्रोको घर डुबानमा पर्छ । उनकी छिमेकी सवेरा मुखेरीले दिउँसो २ बजे नै खाना खाइसकेकी थिइन् । गत वर्ष आएको बाढीले जमिनको आधा भाग काटेर लगिसकेको छ । स्थानीयले मिलेर बाँस जोडेर नदीमा बाँध लगाएका छन् । त्यो पनि नदीले कटान गरेर घरसम्मै पुगेको सवेराले सुनाइन् ।

नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष वीरेन्द्रपाल सिंहका अनुसार वडाका गंगापुर, जमुनी, कोहला, लक्ष्मणपुर, रामपुर जोलजालालगायत गाउँ बाढीले धेरै प्रभावित हुने क्षेत्रमा पर्छन् । झन्डै १ हजार ६ सय घरधुरी बाढी प्रभावित क्षेत्रमा रहेको उनले बताए । जसका अधिकांश घर झिँजा र छेस्काले बारेर बनाइएका झुप्रा छन् । चार वर्षअघि वडा पूरै डुबानमा पर्दा हजारौं मानिस विस्थापित भएका थिए । केही वर्षयता डुबान नपरे पनि बाढीले दैनिक जीवनमा असर गरिरहेको उनले बताए । डुबान भयो भने सुरक्षितसाथ बस्ने सेल्टरको अभाव रहेको उनले सुनाए । भारतको सीमासँगै जोडिएको जमुनीमा जंगल छेउ बस्ती छ । खेत सबै बाढीले बगर बनाएपछि यहाँका स्थानीय युवा भारतमा मजदुरी गर्न पुग्छन् । ‘कोरोनाको त्रासले अहिले धेरै घर फर्किएका छन्,’ वडाध्यक्ष सिंहले भने, ‘खेती गर्ने जमिन बगर बनेको छ, रोजगार केही छैन ।’

सहरी विकासको सहयोगमा एउटा सेल्टर बनाउने योजना रहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए । पाँच महिनाअघि ठेक्का दिए पनि ठेकेदार बेपत्ता भएपछि काम अलपत्र परेको उनले सुनाए । बाढी आए नरैनापुरमा भएका स्कुलमै व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । नरैनापुर–६, भोजपुरका ३६ वर्षे सर्जु अहिमदका अनुसार चार वर्षअघि तीन सयको हाराहारीमा बस्ती थियो । ‘डुबानमा परेपछि नयाँ बस्तीमा सरे पनि अझै यहाँ एक सय घरधुरी छन् । अधिकांश घर फुसले छाएका छन्,’ अहिमदले भने, ‘२५ मिटर जति बाँध लगाइएको भए पनि भत्किएर गाउँ नै कटान गर्न लागेको छ ।’ झन्डै २ सय मिटर पक्की बाँध नलगाएसम्म नरैनापुरको वडा ६ र ५ का बस्ती डुबानको उच्च जोखिममा रहने उनले सुनाए ।

नरैनापुर गाउँपालिकाका नदी छेउमा बस्ने स्थानीयलाई यस वर्ष खेती गर्न नपाउँदाको चिन्ता पनि थपिएको छ । कोरोनाले भारत गई मजदुरी गर्ने अवसर गुमेपछि स्थानीय यहीं खेतीपाती गर्न चाहन्थे । तर, राप्ती नदीको बहाव दिनानु दिन बढ्दै गएपछि खेतीयोग्य जमिनमा नदी पसेको छ । भोजभवानीपुरको बस्तीवारि नदी छ भने पारि भारतको सीमा नजिकै खेत छ । ‘अरू बेला डुंगा चढेर नदी पार गरी खेती गर्न पुग्थ्यौं भने यस वर्ष नदी बढेपछि डुंगा चलाउन सम्भव भएन,’ भोजपुरका शुभम तिवारीले भने, ‘खेत पारि छ, नदी बढेर पारि जान सकिएन ।’ हिउँदमा बगरे खेती गर्दै आएका उनले बर्खामा धान रोप्छन् । ६० वर्षे पवित्रा सोनीको सात पुस्ताले यही नदी छेउमै बितायो । खेत कटान भएपछि अहिले उनीसँग बस्ने बास मात्रै छ । त्यो पनि कतिबेला नदीले कटान गर्छ, पत्तो छैन । बचेको केही कट्ठा जमिन नदीपारि छ ।

जोखिम उच्च

बाँकेमा बाढीको उच्च जोखिमको संकेत असार लागेदेखि देखिएको हो । शनिबार राप्ती नदीमा फसेका ११ जनाको उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२, ३ र ४ का उनीहरूलाई सशस्त्र प्रहरी तथा रेडक्रसका सामुदायिक सेवकले उद्धार गरेका हुन् । ५ मिटर ४० सेन्टिमिटरमाथि पानीको सतह आयो भने खतराको संकेत हुने जिल्ला आपत्कालीन कार्ययोजना कार्य सञ्चालन केन्द्र सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकीले बताए । शनिबार राप्ती सोनारीको खतरा संकेतमा ५ मिटर ९० सेन्टिमिटर पानीको सतह पुगेको थियो । अहिले २ मिटर ३० सेन्टिमिटर छ । ०७२ मा सबैभन्दा उच्च ८ मिटर ७५ सेन्टिमिटर बहाव थियो । उनका अनुसार विपत् व्यवस्थापनका लागि तीव्र तयारी भइरहेको छ । स्थानीय तहले ५ लाखदेखि एक करोड रुपैयाँसम्म बजेट छुट्याएका छन् ।

नरैनापुर गाउँपालिका-५ स्थित साविकको गंगापुर गाउँमा राप्ती नदीले कटान गर्दै बस्ती छिर्न थालेको अवस्था । तस्बिर : मधु शाही/कान्तिपुर

जिल्लामा विपत् व्यवस्थापनका लागि जिल्ला विपत् तथा पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ बनाइएको छ । जसमा पालिकाभित्रको कुन वडाको कुन गाउँको समुदाय प्रभावित छ भन्ने योजना बनाइएको छ । उनीहरूलाई बाढीको जोखिमबाट बचाउनका लागि वैकल्पिक आवासको व्यवस्थासमेत गरिएको छ । त्यसका लागि राप्तीसोनारी गाउँपालिकामा तीनवटा सेल्टर निर्माण गरिएको छ भने डुडुवा गाउँपालिकामा चारवटा सेल्टर व्यवस्थापन गरिएको छ ।

जिल्लाभरि यस्ता सयवटा सेल्टर स्थापना गरिएको छ । बाढी आउँदा व्यवस्थापन गर्न हेलिप्याड बनाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । बाँकेका उच्च जोखिमका क्षेत्र राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा हेलिप्याड बनाउन लागिएको हो । ‘एक हप्ताभित्र हेलिप्याड बनाउँछौं,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘विपत् व्यवस्थापनको तयारी तीव्रताका साथ अगाडि बढेको छ ।’

प्रकाशित : असार ११, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

रातभरि छतमा, दिनभरि बगरमा

एक पटक संक्रमण पुष्टि भएर आइसोलेसनको बसाइपछि पीसीआर परीक्षणबिनै घर पठाइएकाहरु गाउँलेको नजरमा अझै सशंकित
मधु शाही, रुपा गहतराज

बाँके — दैनिक मजदुरी गरेर पत्तै नपाई दिन बित्थ्यो । घरखर्च चलाउन सजिलो थियो । कोरोनाको त्रास बढेपछि गाउँ फिरेका २७ वर्षीय दिनेश धोवीलाई अहिले दिन काट्नै गाह्रो परेको छ । घर आए, भित्र निर्धक्क बस्न पाएनन् । राति छतमा सुत्छन् ।

दिनभरि नदी किनारमा टहलिन्छन् । घरमा छोराछोरी, आमाबुबा र पत्नीसँग सुखदु:ख साट्ने कुरा त परै जाओस्, छिमेकीले उनलाई नजिक पर्न दिँदैनन् । यसरी अलग्याउनुको कारण उनी कोरोना संक्रमित भएकाले हो । सरकारले एक साताअघि १४ दिन आइसोलेसनमा बिताएपछि लक्षण नदेखिए संक्रमितलाई घर पठाउने निर्देशिका लागू गरेको छ । निर्देशिकाबमोजिम आफूमा संक्रमण बाँकी रहे/नरहेको नखुल्दै उनी घर आएका हुन् ।

नरैनापुर गाउँपालिका–५, मटैयाका १९ संक्रमित गत जेठ २६ मा घर फर्किएका थिए । सुरुमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भयो । त्यसपछि आइसोलेसनमा राखियो । यसबीच उनको दोहोर्‍याएर परीक्षण गरिएन । घर पठाउँदा उनीहरूलाई डिस्चार्जको पत्र दिइएको छ । तर, त्यसमा उनीहरूको स्वास्थ्य अवस्थाबारे केही उल्लेख छैन ।

दाङको कोरोना अस्पतालबाट तीन र कोहलपुरको आइसोलेसनबाट १९ जना घर फर्किएका छन् । उनीहरू एउटै गाउँका हुन् । चिकित्सकले १० दिन घरमै आइसोलेसन बनाएर बस्नु होला भन्दै पठाएका थिए । २७ वर्षीय दिनेशलाई पर्चामा लेखिएका अक्षर पढ्न आउँदैन । ‘कोरोना छ’ भनेकाले घरकै छतमा रात बिताउने उनी दिनभरि बगरमा बस्न बाध्य छन् । बस्तीमा मजदुरी गर्न जाने पुरुष सबै संक्रमित भएकाले घरखर्च जुटाउन समस्या छ ।

स्थानीय बासिन्दा संक्रमित व्यक्तिका घरसम्म आएर पानी खान डराउँछन् । दिनेशले लकडाउन सुरु भएयता दुई महिना भारतमै बिताए । फर्किंदा पारिश्रमिक पाएनन् । बल्लतल्ल ५ हजार रुपैयाँ गाडीभाडा खोजेर दशगजासम्म आएको उनले बताए । नाकामै चार दिन यत्तिकै बिताए । त्यसपछि क्वारेन्टाइन र आइसोलेसनमा बसे । त्यसक्रममा एक रुपैयाँ देख्न नपाएको उनले बताए । घरमा वृद्ध आमाबुबा छन् । छोराछोरी र पत्नीको पेट पाल्ने आधार उनी मात्र हुन् । उनी संक्रमित भएपछि परिवारमा नुनतेलको समस्या परेको छ । ‘कमाइ फिटिक्कै छैन, नुनतेलकै अभाव हुन थाल्यो,’ उनले भने, ‘दिनभरि राप्ती नदीमा डुल्छु । साँझ परेपछि फर्केर घरको छतमा सुत्छु ।’

स्थानीय ओमकार यादवले आइसोलेसनबाट फर्किंदा सुरक्षा स्वरूप मुखमा मास्क लगाएर आएका थिए । अहिले पुरानो भएर च्यातिएको छ । लगाउन नमिल्ने भएको छ । मास्क नलगाई बसेको भन्दै गाउँलेले गाली गर्न थालेपछि उनी गम्छाले मुख बेरेर बस्छन् । गाउँमा खेती गर्ने सिजन छ । खनजोत गर्ने पाखुरा भए पनि उनलाई गाउँका कसैले काम दिएका छैनन् । ‘कोरोना सर्छ भन्दै काम गर्न दिँदैनन्,’ उनले भने, ‘घरखर्च जुटाउनै गाह्रो छ ।’ उनीहरूलाई भारतमा रोजगारी गुमेको पीडा एकातिर छ भने अर्कोतिर संक्रमित भएपछि गाउँमै प्रेमपूर्ण व्यवहार पाउन मुस्किल छ । अहिले यहाँका संक्रमित घरखर्च चलाउन आफूसँग भएको अन्न बेच्न तयार छन् । तर, संक्रमित भएकै कारण गाउँका कसैले उनीहरूको अन्न खरिद गर्न मान्दैनन् ।

स्थानीय रमजान बेहना ५ दिनअघि दाङको आइसोलेसनबाट घर फर्किएका हुन् । भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका ३३ वर्षे बेहनालाई अहिले नुन किन्ने पैसा जुटाउन सास्ती छ । घरमा पुरानो गहुँ र धान छ । त्यही बेचेर नुनतेल जुटाउने उनको सोच थियो । तर, संक्रमित भएकाले अन्नसमेत बिक्री नभएपछि उनी दु:खी छन् । ‘अन्न बेच्छु भन्दा कोरोना सर्छ भनेर कसैले किन्न मान्दैनन्,’ रमजानले भने, ‘बिरामी हँुदा सिटामोल किन्ने पैसासमेत छैन । रोगले रोजगार गुमायो ।’ उनीसँगै घर फर्किएका ओमप्रकाश बर्माको दु:ख पनि उस्तै छ । कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण नै अछूत भएको उनले बताए । खेतमा काम गर्ने बेला आउँदा उनी टुलुटुलु हेरेर बस्न बाध्य छन् । कोरोना रोग लागेर आइसोलेसनमा बसेको भन्ने गाउँलेलाई थाहा छ । माया र सद्भाव दिनुको सट्टा उल्टै हेलाँ गर्ने प्रवृत्तिले संक्रमितको मनोबल खस्कँदै गएको बर्माले बताए ।

मटैया गाउँका धेरैजसो पुरुष भारतमा मजदुरी गर्न जान्छन् । उनीहरू वर्षभरि कमाएर घर खर्च पठाउने गर्छन् । तर, कोरोना संक्रमणमा परेपछि यहाँका युवाले रोजगार र आत्मसम्मान दुवै गुमाउनु परेको नरैनापुर–५, मटैयाका वडाध्यक्ष युवराज मौर्यले बताए । ‘संक्रमितलाई सरकारले घर पठाएपछि सिंगो गाउँ नै तनावमा छ,’ उनले भने, ‘गाउँ डुल्छन्, रोजगार पाइन भन्दै गुनासो गर्छन् । निगरानी कसले गर्ने ?’ संक्रमितका परिवार के काम देऊ, के राहत देऊ भन्दै वडा कार्यालय धाइरहेको उनले सुनाए । उनका अनुसार गाउँपालिकाले संक्रमितलाई जोखिम न्यूनीकरण गराउन झुल, तन्ना, मास्क, साबुन र सेनिटाइजरको व्यवस्था गर्नु परेको छ । मास्कसमेत नहुँदा खुलेयाम गाउँ डुल्ने संक्रमित बढ्दै गएको उनले बताए । यता संक्रमित भने मास्कभन्दा पनि राहत पाउनुपर्ने गुनासो गर्छन् ।

२४ वर्षीय परमेश्वर गोडियाले आफू कहिलेसम्म संक्रमित रहेको भनेर हिँड्नुपर्ने प्रश्न गरे । कोरोना निको भएपछि नेगेटिभको कागज पाइन्छ कि पाइँदैन भन्नेमा उनलाई चिन्ता छ । यसरी परिवारसित अलग्गिएर १० दिन बिताए पनि गाउँलेको नजरमा सधैं कोरोना संक्रमित भइरहने डर उनलाई छ । यहाँका सारवीर खाँ निको भएर घर फर्किएका हुन् । गाउँमा उनलाई पहिलेको जस्तो व्यवहार गरिँदैन । दाल, नुन, तेल नभएपछि काँचो आँपसित रोटी खानु परेको उनले बताए । ‘साबुन र मास्कले पेट भरिँदैन,’ उनले भने, ‘रोजगार चाहियो ।’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बजेट नभएकाले तत्काल कुनै पनि सुविधा दिन नसकिने बताए । नरैनापुरमा १ सय १८ संक्रमित पुगेका छन् । तीमध्ये एक जनाको क्वारेन्टाइनमै मृत्यु भएको छ भने बाँकी आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् ।


प्रकाशित : असार २, २०७७ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×