नेविसंघ कार्यकर्ताले त्रिवि उपकुलपतिको कुर्सी जलाए

सुदीप कैनी

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् ।

नेविसंघ कार्यकर्ताले त्रिवि उपकुलपतिको कुर्सी जलाए

विभिन्न माग लिएर उपकुलपति कार्यालय पुगेका विद्यार्थीलाई अपमान गर्न खोजेपछि आक्रोशित विद्यार्थीले उपकुलपतिको कुुर्सी कार्यकक्षबाहिर ल्याएर आगो लगाएको नेविसंघ त्रिवि इकाईका एक पदाधिकारीले बताए । त्रिविका प्रवक्ता सूर्य अधिकारीले नेविसंघको झण्डा बोकेर आएका केही युवाले कुर्सीमा आगजनी गरेको पुष्टि गरे ।

ती पदाधिकारीका अनुसार नेविसंघले रजिष्ट्रार, रेक्टरको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । इकाईले केही दिनअघि अनलाइन कक्षा प्रभावकारी बनाउन, इन्टरनेटमा सहुलियत दिन र राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न पदाधिकारीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति बाँस्कोटाले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरिएको भन्दै नेविसंघले असन्तुष्टि जनाएको थियो ।

नेविसंघ केन्द्रीय समितिले विश्वविद्यालयमा भइरहेका गतिविधिबारे ध्यानार्कषण गराउँदै बुधबार विज्ञप्ति जारी गरेको थियो । अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ति जारी गरेको केही घण्टा नबित्दै उपकुलपतिको कुर्सीमा आगजनी गरिएको हो । नेविसंघले त्रिविमा सत्तारुढ नेकपाको सिफारिसको आधारमा पदाधिकारी, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति गरिएको आरोप लगाएको छ । वरिष्ठता र क्षमताको आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरिएको छ ।

९ महिनादेखि उपकुलपतिसहितका पदाधिकारी रिक्त संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न नेविसंघले माग गरेको छ । आईओएमलगायत भागबण्डाको आधारमा गरिएको नियुक्ति खारेज गर्न माग गरिएको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

प्रकाशित : असार १०, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?