२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

साउदी अरबको जेद्दाबाट पहिलो उडानमार्फत २५४ नेपाली आइपुगे

होम कार्की

काठमाडौँ — साउदी अरबको प्रमुख आर्थिक सहर जेद्दाबाट २५ जना महिलासहित २ सय ५४ जना नेपाली कामदार नेपाल एयरलाइन्समार्फत काठमाडौं आइपुगेका छन् । उनीहरु बुधबार बिहान १० बजे आइपुगेका हुन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको संयोजनमा उडेको यो पहिलो उडान हो । कार्यवाहक महावाणिज्यदूत रेवती पौडेलका अनुसार स्वदेश फिर्ता हुनेमा अधिकांश करारपत्र समाप्त भएका कामदार रहेका छन् । किड्नी फेल भएका, ब्रेन टुयुमर र उच्च रक्तचापका कारण प्यारालाइसिस भएका १० जना बिरामीसमेत बुधबार फर्कनेको सूचीमा रहेका छन् ।

‘करार अवधि समाप्त भएको हुँदा धेरैजसो कामदारको टिकट रोजगारदाता कम्पनीले बेहोरिदिएको छ । एक्जिट भिसा लगाएर पनि स्वदेश नफिरेका हकमा कामदार र रोजगारदाताले आधा–आधा हालेका छन् । बन्द भएका साना कम्पनीमा कार्यरत कामदार आफैले खरिद गरेका छन्,’ उनले भने । जेद्दा क्षेत्रमा रहेका झन्डै ३ हजार नेपालीले स्वदेश फिर्नका लागि आवेदन दिएका छन् ।

त्यस्तै साउदीको अर्को सहर दमामबाट १५४ जना कामदार बोकेको हिमालयन एयरलाइन्स बिहान ६:१० मा आइपुगेको थियो ।

त्यस्तै कुवेतबाट १६० जना कामदारको बोकेको हिमालयन एयरलाइन्सको चार्टर बिहान १०:५४ मा आइपुगेको छ । कुवेतबाट चार्टर गरिएको यो पहिलो उडान हो । यसअघि १० वटा उडान कुवेत सरकारले गरेको थियो ।

त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट ३ बच्चासहित १५२ जना आएका छन् । आबुधावीबाट उडेको हिमालयन एयरलाइन्स त्रिभुवन विमानस्थलमा बुधबार बिहान १०:३८ मा आइपुगेको हो ।

प्रकाशित : असार १०, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?