२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फुर्सदिला पाइलटलाई ‘एफपीटी’

पाइलटहरूले लाइसेन्सलाई वैधता दिन ९० दिनभित्र तीन उडान गरेकै हुनुपर्छ । नत्र सिम्युलेटर तालिममा सहभागी भएर आफ्नो सीपलाई ‘अपडेट’ गरिरहनुपर्छ । त्यसका लागि ककपिटजस्तै देखिने एफपीटी डिभाइस सहयोगी बन्छ ।
सुरज कुँवर

काठमाडौँ —  भारतको बनारसदेखि काठमाडौंसम्मको उडान । जहाजको इन्जिनमा अचानक आगो देखिन्छ । अब के गर्ने ? ककपिटमा बसिरहेका क्याप्टेन मेनिट केसी र सिद्धार्थ गुरुङ जहाज बनारसतिरै फर्काउने निधो गर्छन् । त्यसअघि उनीहरू आगो नियन्त्रण गर्ने विधि अपनाउँछन् । त्यसैको सहारामा जहाजलाई कुनै क्षति हुन नदिई गन्तव्य पुर्‍याउन सफल हुन्छन् ।

फुर्सदिला पाइलटलाई ‘एफपीटी’

यो पूरै घटना एउटा कल्पना मात्र हो । गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भागमा रहेको बुद्ध एयरको ह्यांगर (विमान–घर) मा बसेर केही पाइलट यस्तै कल्पना गर्दै थिए । खासमा उनीहरू उडानका क्रममा जहाजमा आइपर्ने जोखिम टार्ने विधिको प्रशिक्षण गर्दै थिए । लकडाउनका कारण घरमै बस्न बाध्य आफ्नो कम्पनीका ८० पाइलटलाई उनीहरूको ज्ञानमा कमी आउन नदिन यो प्रविधि उपयोग गर्ने तयारीमा थिए । त्यसैका लागि एटीआर विमानका प्रशिक्षक पाइलटहरू सुनील गुरुङ, मनोज केसी, प्रमोद थापा र आलोककुमार सिंह मेनिट र सिद्धार्थसँगै त्यहाँ जुटेका थिए ।

यो प्रशिक्षण सम्भव भइरहेको थियो, जहाजको ककपिटजस्तै देखिने एउटा उपकरणले । जसको नाम हो– फ्ल्याट प्यानल ट्रेनर (एफपीटी) डिभाइस ।

बुद्ध एयरले यो एफपीटी डिभाइसको बजार मूल्य ६ करोड पर्ने जनाएको छ । तर, फ्रान्समा रहेको एटीआर विमान निर्माता कम्पनीमार्फत बुद्धले तीनवटा जहाज खरिद गरेकाले कम्पनीले सम्झौताअनुसार त्यो उपकरण उपलब्ध गराएको हो । ‘भर्खरै ल्याइएको हो,’ क्याप्टेन मनोज केसीले भने, ‘एटीआर कम्पनीको यो आधिकारिक डिभाइसलाई नागरिक उड्डयन प्राधिकरणमा दर्ता गर्ने प्रक्रियामा छौं । दर्ता भइसकेपछि यसले वैधता पाउनेछ ।’

संसारभर पाइलटहरूले लाइसेन्सलाई वैधता दिइराख्न ९० दिनभित्र कम्तीमा तीनवटा टेक–अफ तथा ल्यान्डिङ गरेको हुनै पर्ने नियम छ । नत्र उनीहरूले ‘फुल–फ्लाइट सिम्युलेटर’ तालिममा जानुपर्छ । यो तालिम फ्ल्याट प्यानल ट्रेनरको तुलनामा विकसित अनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त मानिन्छ । सिम्युलेटर पनि विभिन्न प्रकारका हुन्छन् ।

प्रशिक्षक पाइलटका अनुसार लकडाउनको अवस्थामा विमानस्थलमा गएर आफ्नो कम्पनीका जहाज उडाउन सम्भव छैन । यो अत्यधिक खर्चिलो र जोखिम पनि हो । यस्तोमा पाइलटहरूको साथी सिम्युलेटर हो । तर, नेपालमा कुनै पनि प्रकारको जहाजको सिम्युलेटर तालिम छैन । नेपाली वायुसेवा कम्पनीहरूले आफ्ना पाइलटलाई हरेक वर्ष दुईपटक तालिमका लागि बाहिरी मुलुकका सिम्युलेटरमा पठाइरहेका हुन्छन् । यो अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को नियम हो ।

उड्ने क्षमता नभएको तर गतिशील सिम्युलेटर पाइलटहरूका लागि नभई नहुने सिकाइ उपकरण हो । नियमित उडानलाई परिपक्व बनाउन यसको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहन्छ । एउटा इन्जिनमा आगो लागे कसरी जोगाउने, खराब मौसममा कसरी उड्ने, पक्षीलाई कसरी छल्नेजस्ता कुरा जहाजमा अभ्यास गर्न सकिँदैन । ‘यी समस्या सामना गर्न पाइलटलाई सिम्युलेटर जानैपर्छ । रियल जहाजमा गर्छु भनेर सम्भव नै हुँदैन,’ पाइलट सुनील गुरुङले भने ।

उनका अनुसार जहाज उडाउन जति अभ्यास गर्दै गयो त्यति नै दक्षता बढ्ने पेसा हो । कुनै पाइलटले लामो समय उडानमा जान नपाए उसको क्षमतामा कमी आउँदै जान्छ । त्यसैले जहाज उडाउन नपाएका पाइलटहरूले विभिन्नखाले फ्लाइट ट्रेनिङ डिभाइसको मद्दतमा आफ्नो सीप र ज्ञान तिखार्छन् ।

फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स विभागका अनुसार नेपालमा ४ सय हाराहारी पाइलट छन् । तीमध्ये अधिकांशले पछिल्लोपटक लकडाउनका कारण जहाज उडाउन पाएका छैनन् । लकडाउन खुलेपछि उनीहरूले लाइसेन्स ‘भ्यालिडिटी’ भएका प्रशिक्षक पाइलट, लाइन क्याप्टेन, कोपाइलटसँग तोकिएबमोजिमका उडान गर्नुपर्छ । त्यसअघि नब्बे दिनसम्म उड्न नपाएकाहरूले सिम्युलेटर तालिम लिन विदेश जानुपर्छ । त्यो तालिमअघि बुद्धले ह्यांगरमा जडान गरेको फ्लाइट प्यानल ट्रेनर डिभाइसमा अभ्यास गर्नुपर्छ । यस्तो डिभाइस नहुनेहरू साधारण प्यानल बोर्ड पढेर सिम्युलेटर जान्छन् ।

नेपालमा अधिकांश वायुसेवा कम्पनीले आफूले उडाउँदै आएका जहाजअनुसारका ककपिटजस्तै देखिने प्यानलबोर्ड राखेका छन् । ‘यसले हामीलाई गहिरो ज्ञान प्रदान गर्छ भने हाम्रो इफिसेन्सी बढाउन पनि मद्दत गर्छ,’ क्याप्टेन मेनिट केसीले भने, ‘यो फुल फ्लाइट सिम्युलेटर होइन तर टेक्निकल ज्ञान बढाउन उपयोगी छ । लकडाउनमा विदेश जान नसकिरहेका बेला यसको झनै महत्त्व छ ।’

दुर्गम उडान गर्ने तारा एयरसँग ‘प्रोसिडिअर ट्रेनर’ नामको उपकरण छ । ‘हामीसँग पुरानो भर्सनको जेनेरिक हो, ककपिटको इन्स्ट्रमेन्ट देखिँदैन,’ ताराका एक अधिकारीले भने, ‘बुद्धको जस्तो एड्भान्स भर्सनको होइन ।’

पाइलट तथा फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स विभागका एक अधिकारीका अनुसार समिट एयरसँगको सहकार्यमा एउटा कम्पनीले सिम्युलेटरका लागि सहयोगी हुने एफपीटी उपकरण राख्न प्रस्ताव गरेको छ । तर लकडाउनका कारण प्रक्रिया टुंगिसकेको छैन ।

प्रकाशित : असार १०, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?