कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कश्मीरमा गोर्खा सैनिकको मृत्यु : न बाबुको इच्छा पूरा भयो, न छोराको वाचा

घनश्याम गौतम

बुटवल — भारतीय सीमा सुरक्षामा खटिएका गुल्मीका ३८ वर्षीय युवकले आफ्ना ९० वर्षीय बुवासँग गरेको वाचा अधुरै रहेको छ । यस पटक बिदामा आउँदा बाबुलाई पहाड लैजाने वाचा गरेका दीपक कार्कीको कश्मीरमा भारतीय सीमा रक्षामा खटिएकै बेला सोमबार बिहान पाकिस्तानी सेनाबाट भएको गोलीबारीमा मृत्यु भएको छ ।

कश्मीरमा गोर्खा सैनिकको मृत्यु : न बाबुको इच्छा पूरा भयो, न छोराको वाचा

दुई वर्षअघि आमा गुमाएका गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका दीपकका ९० वर्षीय वृद्ध बुवा शालिकरामले उनैलाई कुरिरहेका थिए ।

तराईको गर्मी खप्न नसकेपछि बाबुले फागुनमै फोन गरेर आफू पहाड (गुल्मी) जान खोजेको बताएका थिए । दीपकले चैतको अन्तिम साता दुई महिनाको छुट्टीमा आउने जानकारी दिएका थिए । तर, कोरोना महामारीले लकडाउन भएपछि उनी उतै थुनिए । त्यसले न बाबुको पुर्खौली थलो पुग्ने सपना पूरा भयो, न दीपकको बाबु भेट्ने वाचा । गुल्मीबाट दुई वर्षअघि मात्र रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बसाइँ सरेका कार्की परिवारमा बुवा, श्रीमती, दुई छोरी र एक छोरा छन् ।

दीपकका दाजु कृष्ण कार्कीका अनुसार उनी दशैंमा एक महिनाको छुट्टीमा आएर फर्केका थिए । भारतीय सेनामा उनको १८ वर्ष पूरा भएको थियो । एक वर्षअघि नै पेन्सन आउने तयारी गरेका उनी सिपाहीबाट हवल्दार पदमा बढुवा भएपछि रोकिएका थिए । ‘एक वर्षअघि नै पेन्सनमा निस्कन खोजेको थियो,’ दाजु कृष्णले भने, ‘बढुवा भएपछि रोकिएको हो, यस्तो हुन लेखेको रहेछ ।’ उनी पनि भारतको मुम्बईमा काम गर्छन् । भारतबाट आएर गुल्मीकै छत्रकोटमा २४ दिनदेखि क्वारेन्टाइनमा छन् । भाइको मृत्युको खबर पाए पनि उनको स्वाब परीक्षणको रिपोर्ट नआएका कारण घर पुग्न पाएका छैनन् ।

कार्की भारतीय सेनाको ३/५ गोरखा राइफल्समा कार्यरत थिए । जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका उनलाई सोमबार बिहान गोली लागेको थियो । गम्भीर घाइते उनको उपचारकै क्रममा मृत्यु भएको भन्दै भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले परिवारलाई मृत्युको जानकारी गराएका थिए । उनको शव मंगलबार गोरखपुरमा ल्याइएको छ । शवलाई भारतीय सेनाको टुकडीले सलामी अर्पण गरेपछि गोरखपुरमै अन्त्येष्टि गर्ने जानकारी गराएपछि श्रीमती, ५ वर्षीय छोरा, ११ र ९ वर्षका दुई छोरीसहित आफन्त गोरखपुर पुगेका छन् ।

गुल्मीको खर्ज्याङका उनका छिमेकी हरिनारायण शर्माले दीपक युवा अवस्थादेखि नै निकै लगनशील र मेहनती युवा भएको बताए । ‘सारै मिलनसार र मेहनती थियो,’ उनले भने, ‘तर, अल्पायुको रहेछ, उसको मृत्युको खबरले गाउँ नै शोकमा छ ।’ उनको मृत्युको खबरसँगै उनका साथी र चिनेजानेकाले मात्रै नभई अन्यले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : असार ९, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?