कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली–दाहाल भेट

दुवै पक्ष दवावको रणनीतिमा, एमसीसी विवाद जहाँको त्यहीँ

काठमाडौँ — बुधबार बस्ने पार्टीको स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा झन्डै चार घण्टा छलफल गरेका छन् । तर, दुई अध्यक्षबीचको छलफलपछि बैठकका एजेण्ड के–के तय भन्नेबारे औपचारिक रुपमा जानकारी नआइसकेको वरिष्ठ नेता झलनाथ खनालले बताए । 

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली–दाहाल भेट

एजेन्डाबारे औपचारिक जानकारी नगराइए पनि कमिटी बैठक बस्ने निश्चित भएको नेता खनालले बताए । विगतमा दुईपटक तय भइसकेको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएकाले अहिले पनि त्यस्तै हुन्छ कि भन्ने आंशका स्थायी कमिटीका सदस्यहरुमा थियो ।

यसअघि वैशाख २५ मा तय भएको बैठकमा दुवै पक्षले बैठकमा उठाउने विषयबस्तुको तयारीमा जुटेका थिए । तर, त्यतिबेला बैठक स्थगित भयो । त्यसपछि वैशाख ३१ मा अर्को मिति तय भएको थियो । त्यो मितिमा पनि बैठक बस्न सकेन । हरेक तीन महिनामा स्थायी कमिटी बैठक बस्ने पार्टी विधानमा प्रावधान रहे पनि पुसयता बैठक बस्न सकेको छैन ।

बुधबारको बैठकमा सरकारको कामको समीक्षा र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्य एजेन्डा बनाउने तयारी छ । नेकपामा एमसीसी र सरकारका कामलाई लिएर पार्टी नेतृत्वतहमा एक मत छैन । त्यसैले बैठकमा एक अर्को समूहमाथि दवाव बनाउने दुवैपक्षका नेताहरुको रणनीति छ ।

प्रधानमन्त्री यथास्थितिमा तत्काल एमसीसी अनुमोदनको पक्षमा र अन्य नेता परिमार्जनसहित अनुमोदनको पक्षमा उभिएपछि नेकपाभित्र धुव्रीकरण र दवावको राजनीतिक पनि सुरु भएको हो ।

यो धुव्रीकरणको संकेत चार दिन अगाडि उपाध्यक्ष वामदेव गौतमले दिइसकेका छन् । उनले असार ४ मा एमसीसीलाई लिएर पार्टीभित्रको अन्तरकहल र धुव्रीकरण सार्वजनिक गरेका थिए ।

‘प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउनेछन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न,’ गौतमको सचिवालयका तर्फबाट जारी प्रेस नोटमा थियो, ‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउँदै छ । वामदेवलाई पनि त्यहीँ भेटिने छ ।’

एससीसी संसदमा लैजानुपर्ने मिति नजिकिएको बेला यसैलाई मुख्य एजेन्डा बनाएर स्थायी कमिटी बैठक बोलाइएकाले दुवै पक्ष निर्णायक रणनीतिक र दवावमा छन् । एमसीसी कार्यान्वयनका लागि असार १६ सम्मको समयावधि रहेकाले त्यस अघि संसदबाट पास गराउनुपर्ने अवस्था छ ।

बैठकमा आफू अनूकुल निर्णय नभए पनि एमसीसीलाई अनुमोदनका लागि संसदमा लैजाने प्रस्ताव पारित गराउने प्रधानमन्त्री एवं अध्यक्ष ओली समूहको तयारी छ । तर, अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्र निर्णय नगरी यसलाई संसदमा प्रवेश हुन नदिने पक्षमा छन् ।

ओली समूह निकट मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल भन्छन्, ‘भोली बैठक बस्दैछ, यी सबै छलफल त्यही होला । बैठक लामो बस्ने संभावना कम छ । त्यसकारण अहिले केही भन्न सकिन्न । यद्यपि बैठकका एजेन्डाबारे जानकारी पनि आइसकेको छैन ।’

तर, दाहाल–नेपाल समूहका नेताहरु भने धेरै विषय बैठकमा छलफल गराउने पक्षमा छन् । स्थायी कमिटी सदस्य युवराज ज्ञवाली भन्छन्, ‘भोलीको बैठकमा एमसीसी मात्रै एजेण्डा बन्दैन । सरकारका कामको समीक्षा, सांगठनिक एकीकरणमा भएको ढिलाईलगायत तमाम बिषय जोडदार रुपमा उठ्छन् ।’

अर्का स्थायी कमिटी हरिबोल गजुरेल पनि बैठकमा एमसीसीमात्रै नभएर सरकारका कामलगायतका विषयमा छलफल हुने बताए । तर, बैठक कति दिन बस्छ भन्ने केही तय भएको छैन ।

निकट नेताहरुले बताएअनुसार प्रधानमन्त्री ओली विभिन्न विकल्पसहित एमसीसीलाई तत्कालै संसदमा अनुमोदन गराउने पक्षमा छन् । उनका अनुसार सकेसम्म पार्टीभित्रै निर्णय गराएर एमसीसी संसदमा लैजाने प्रधानमन्त्रीको पहिलो विकल्प छ । सचिवालय र स्थायी कमिटीमा यथास्थितिमा पास गर्न हुँदैन भन्ने नेताहरुको बहुमत छ ।

स्थायी कमिटी बैठकपछि संसदीय दलको बैठकमार्फत् एमसीसीलाई अगाडि बढाउने प्रधानमन्त्री ओलीको चाहना रहेको निकट नेताहरुको भनाई छ । तर, पार्टीभित्र छलफल नगरी सिधै संसदीय दलमा जाँदा समस्या आउन सक्ने ओली समूहको बुझाई छ ।

सहमतिअनुसार एमसीसी १६ असारबाट कार्यान्वयन जाने अन्तिम मिति हो । तर, गत माघमा केन्द्रीय कमिटी बैठक यता एमसीसीलाई लिएर नेकपाभित्र ठूलो विवाद छ । त्यसैले नेताहरु पार्टी निर्णय विना सिधै संसदमा यो विषय लैजान नसकिने तर्क गरिरहेका छन् ।

स्थायी कमिटी सदस्य ज्ञवाली भन्छन्, ‘एमसीसी अनुमोदन गर्ने वा नगर्ने पार्टीको निर्णयविना केही हुँदैन । जे गर्छ पार्टीले निर्णय गर्छ । संसदीय दल पार्टीको निर्देशनमा चल्ने भनेर पार्टीको विधानमा छ । पार्टीलाई छलेर जाने कुनै संभावना देख्दिनँ । जबर्जस्ती गर्न खोजियो भने दुर्घटना हुन्छ ।’

कुनै पनि तरिकाले एमसीसी संसद प्रवेश भए विपक्षी दल कांग्रेस सांसदको समर्थनमा समेत पास गराउन सकिने प्रधानमन्त्री ओलीको बुझाई रहेको ती नेताले बताए । राष्ट्रिय हितमा रहेको भन्दै कांग्रेसले बारम्बार एमसीसी चाँडो पारित गर्न माग गर्दै आएको छ ।

तर, सचिवालयका बहुमत सदस्यहरु अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा भने पार्टीले बनाएको कार्यदल विपरित एमसीसी पारित नगर्नेपक्षमा छन् । एमसीसी र पार्टी बैठकलाई लिएर यी नेताहरुबीच अनौपचारिक छलफल भने भैरहेको छ ।

अनौपचारिक छलफलमा सहभागि सचिवालयका एक नेताका अनुसार एमसीसी यथास्थतिमा पास गर्न नहुने निर्णय गरेर प्रधानमन्त्री ओलीमाथि दवाव बनाउने दाहाल–नेपालसमूहको रणनीति छ । स्थायी कमिटी र सचिवालयमा यो समूहको बहुमत छ ।

प्रधानमन्त्री ओलीले पटक–पटक एमसीसी पास वा फेल गर्ने विषय संसदको भएको बताएका छन् । पार्टीलाई छलेर बारम्वार संसदको विषय भनेकोमा दाहाल–नेपाल समूह शंशकित छ ।

प्रकाशित : असार ९, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?