१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सत्तारूढ सांसदको प्रश्न, 'नेपालले जब स्वतन्त्र निर्णय गर्छ, किन भारतबाट टाढा गर्न खोजिएको भनिन्छ ?'

काठमाडौँ — सत्तारुढ नेकपाका सांसद वेदुराम भुसालले नेपालले स्वतन्त्र निर्णय गर्न खोज्दा किन भारतबाट टाढ गर्न खोजिएको भनेर प्रश्न गरिने गरेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा भुसालले नागरिकता विधेयकका विषयमा प्रतिपक्षी दलका सांसदले उठाएको प्रश्नको जवाफ दिने शैलीमा बोल्दै राजनीतिक अभिष्टका निम्ति परराष्ट्र सम्बन्धलाई नजोड्न आग्रह गरेका थिए ।

सत्तारूढ सांसदको प्रश्न, 'नेपालले जब स्वतन्त्र निर्णय गर्छ, किन भारतबाट टाढा गर्न खोजिएको भनिन्छ ?'

राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद जितेन्द्रनारायण देवले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको समय सीमा लगाउने निर्णय असंवैधानिक भएको, नेपालको परराष्ट्र सम्बन्धको आधार भत्काउने, नेपाललाई चीनको झोलामा राख्ने लगायतका प्रतिगामी काम भएको आरोप लगाएका थिए । उनले सत्तारुढ नेकपा 'मण्डले राष्ट्रवाद'मा लागेको भनेका थिए ।

भुसालले ती भनाइ आपत्तिजनक भएको बताए । उनले संविधानले संघीय कानुन बनाएर वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था भनेको अवस्थामा सोहीअनुसार कानुन बनाउँदा कसरी संविधान विपरीत हुन्छ भनेर प्रश्न गरेका थिए ।

'चीन जोड्ने कोदारी राजमार्ग निर्माण गर्ने बेला, संविधान निर्माणका बेलाको र नाकाबन्दीको बेलाकै जस्तो नागरिकता विधेयकमा पनि कुरा उठाइएको' भुसालको भनाइ थियो । 'नेपालले स्वतन्त्र ढंगले जब निर्णय गर्छ किन भारतबाट टाढा गर्न खोजिएको भनिन्छ ? के भारतको चंगुलमा राखिरहनुपर्छ भनिरहेको हो ? राजनीतिक दुर्घटना हुन्छ भनिएको छ, के भारतको छोटे भाइ भइरहेन भनेर हो ? नेपालले आफ्नो खुट्टामा आफै‌ हिँड्न खोज्दा किन आपत्ति हो ?' उनले प्रश्न गरेका थिए ।

भारतको नाम लिएर नेपाली नेताहरूले नै किन आगो लगाउछौं भनिँदैछ भनेर उनले प्रश्न गरेका थिए ।

नेपालले कानुन भारतका युपी र बिहारबाट आउने महिलाका लागि मात्रै निर्णय नगरेर विश्वका जुनसुकै मुलुकका महिलाले नेपाली पुरुषसँग विवाह गरेर आउँदा पनि त्यो व्यवस्था लागु हुने बुझ्न उनले आग्रह गरेका थिए । 'जुन खालको व्यवस्था हाम्रो छिमेकले गरेको छ त्यस्तै व्यवस्था हामीले गर्दाखेरि भारतसँगको सम्बन्ध कटअप हुन्छ भन्ने ? हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको जग भत्किन्छ भन्ने ? राजनीतिक अभिष्टका निम्ति राखिएका यी तर्क हुन्,' भुसालले भने ।

हेर्नुहोस्, सांसद जितेन्द्रनारायण देवले के भनेका थिए ?

प्रकाशित : असार ९, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?