राजमार्गमा छैन पहिरो रोक्ने तयारी

यसपालि छिट्टै आएको मनसुन अलि बढी नै सक्रिय छ तर पहिल्यैदेखि पहिरोको उच्च जोखिममा रहेका देशभरका सडकमा कमजोर स्थान पहिचानसम्म गरिएको छैन ।

काठमाडौँ — मनसुन सक्रिय भएसँगै भारी वर्षाका कारण पहाडी र हिमाली क्षेत्रमा पहिरोको जोखिम बढेको छ । यसपालि अघिल्ला वर्षभन्दा मनसुन छिटो र बढी सक्रिय देखिएको छ । 

राजमार्गमा छैन पहिरो रोक्ने तयारी

जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि केही दिनयता पहाडी–हिमाली क्षेत्रमा पहिरो तथा तराईमा वर्षाका कारण जलसतह बढ्ने र बाढीको सम्भावना रहेको भन्दै सजग गराउन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागले ठूला, मझौला र सहायक नदीमा बहावको अवस्थाबारे चौबीसै घण्टा अनुगमन गरिरहेको छ । बाढीको सम्भावना भएका क्षेत्रमा पूर्वसूचना दिने गरी काम भइरहेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।

पाँच वर्षअघिको शक्तिशाली भूकम्पले बढी प्रभाव पारेका कतिपय स्थान अहिले पनि पहिरोको उच्च जोखिममा रहेको सम्बद्ध विशेषज्ञले औंल्याएका छन् । मनसुन सुरु भएको केही दिन नबित्दै पर्वतको दुर्लुङमा पहिरोले ठूलो क्षति पुर्‍याइसकेको छ भने मुलुकका अन्य भागमा पनि जोखिम छ ।

त्रिचन्द्र क्याम्पसका इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकाल भूकम्पले प्रभाव पारेका सबैजसो जिल्ला अहिले पनि पहिरोको उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार मुग्लिन–नारायणगढ, बुटवल पाल्पाअन्तर्गतको सिद्धबाबा, पृथ्वी राजमार्गका विभिन्न स्थान, अरनिको राजमार्ग, मेलम्ची क्षेत्र, काठमाडौं–नुवाकोट हुँदै रसुवागढी जोडिने पासाङल्हामु राजमार्ग र बेंसीसहर चामे (मनाङ) सडकखण्ड अहिले पनि बढी जोखिममा छन् ।

‘ती स्थान भूकम्पले धेरै थिलथिलो पारेकाले मनसुनको अवधिमा जति बेलै पहिरो जान सक्छ,’ ढकालले कान्तिपुरसित भने, ‘सडक विस्तार गर्ने क्रममा जथाभावी खनिएको छ, संवेदनशील स्थानको पहिचान गरिएको छैन र जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गरिएको देखिन्न ।’

पहिरोका हिसाबले संवेदनशील क्षेत्र पहिचान नगरी सडक विस्तार गरिएका कारण मुग्लिन–नारायणगढ खण्डमा समस्या बढेको उनको तर्क छ । ‘कुन–कुन स्थानमा चट्टानी पहिरोको सम्भावना छ, त्यसबारे प्राविधिकमार्फत पहिचान गरी न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्थ्यो,’ ढकालले भने, ‘जथाभावी सडक चौडा गर्नेतिर मात्र ध्यान दिँदा पहिरोले दुःख दिएको छ ।’ मनसुनको अवधिमा केही वर्षयता कुनै निश्चित क्षेत्रमा केन्द्रित भएर बढी वर्षा हुने गरेकाले त्यस्तो बेला बाढी र पहिरोको उच्च सम्भावना हुन्छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्यापन गराइरहेका अर्का भूगर्भविद् तथा विपद्विज्ञ वसन्तराज अधिकारी मनसुनको अवधिमा भूकम्पले असर गरेका जुनसुकै क्षेत्रमा अझै पहिरोको उच्च जोखिम भएको बताउँछन् । ‘काठमाडौंसँग जोडिएका दक्षिणकाली–हेटौंडा, काठमाडौं–रसुवागढी, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, रामेछाप जोडिने सबै सडक पहिरोको जोखिममा छन्,’ उनले भने, ‘भूकम्पले असर गरेका पर्वतीय शृंखलामा मनसुनी गतिविधिका बखत लामो समयसम्म पहिरोको जोखिम बाँकी हुन्छ ।’

त्यसका अलावा कर्णाली राजमार्गका विभिन्न स्थान, धनगढी–दार्चुला, डडेलधुरा–बझाङ, गोरुसिंगे–सन्धिखर्क, पाल्पा–गुल्मी सडकखण्ड पनि जोखिममा छन् । गत वर्ष गुल्मीमा पहिरोमा परेर धेरैको ज्यान गएको थियो । यसपटक पनि पाल्पा–गुल्मी सडकखण्डमा पहिरो जान सुरु भइसकेको छ ।

प्रदेश १ मा धरान, हिले हुँदै वसन्तपुर जोडिने सडक, घुर्मी–ओखलढुंगा र खोटाङ तथा इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोडिने सडकमा पहिरोको सम्भावना छ ।

भूगर्भविद् ढकाल महाभारत शृंखलाका सबैजसो क्षेत्रमा पहिरोको जोखिम हुने बताउँछन् । ‘राजमार्गहरूमा खास गरी चट्टानी पहिरो र डेभ्रिजफ्लोको सम्भावना बढी छ,’ उनले भने, ‘नदीले कटान गरेको क्षेत्रमा झनै पहिरोको सम्भावना हुन्छ ।’ राजमार्गसँग जोड्न स्थानीय स्तरमा जथाभावी खनिएका सहायक सडकले पनि भूक्षय निम्त्याइरहेका छन् । त्यसरी खनिएका सडकको अनुगमन नहुने भएकाले विकराल अवस्था निम्तिएको ढकालको तर्क छ ।

सडक विभागका अनुसार राष्ट्रिय राजमार्गको लम्बाई देशभर १४ हजार ९ सय १३ किमि छ । विभागको योजना तथा अनुगमन महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता शिवहरि सापकोटा सञ्चालनमा रहेका सबै सडक विस्तृत डिजाइन गरेर, सुरक्षा प्रणाली अपनाएर र भौगर्भिक अवस्था अध्ययन गरेरै बनाइए पनि केही सडकखण्ड जोखिमयुक्त भएको स्विकार्छन् ।

राजमार्गको मर्मतसम्भार गर्न देशभर ३३ वटा सडक डिभिजन कार्यालय छन् । मनसुनलगायत अन्य आकस्मिक अवस्थामा मर्मतसहितका काम गर्न सातवटा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय छन् । ‘ती कार्यालयले जेठ पहिलो साता कुन मेसिन कहाँ राख्ने र जनशक्ति कसरी परिचालन गर्ने भनेर निर्णय गर्छन्,’ सापकोटा भन्छन्, ‘पहिरोलगायत जोखिम भएका स्थानमा हेभी मेसिन र प्राविधिक तैनाथ गरिएको हुन्छ ।’ उनले स्थानीय तहमा पछिल्ला वर्ष निर्माण गरिएका सडक बढी जोखिमयुक्त भएको र तिनका कारण राष्ट्रिय सडकमा समेत असर परेको बताए ।

जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको बहाव र बाढीको पूर्वानुमान गरे पनि पहिरोबारे राष्ट्रिय स्तरमा पूर्वसूचना प्रणाली विकास भइसकेको छैन । तर, दोलखाको दुर्गम सुन्द्रावतीको थामी बस्तीमा नमुना परियोजना (पाइलट प्रोजेक्ट) सञ्चालनमा छ । वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गतको तत्कालीन जलाधार तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को साझेदारीमा उक्त कार्यक्रम २०७५ सालमा सुरु भएको हो । पहिरोको पूर्वसूचना दिने त्यो नै पहिलो प्रविधि हो ।

उक्त प्रविधिअन्तर्गत पहिरोको जोखिम रहेका चार स्थानमा सेन्सर उपकरण जोडिएको छ । सेन्सरले जमिन चल्ने अवस्थाबारे मुख्य उपकरणलाई ‘अलर्ट’ गराउँछ । त्यसपछि कति जमिन चलमलायो त्यसका आधारमा साइरन बज्छ । पहिलो साइरनले जमिन कति चल्यो भनेर ‘अलर्ट’ रहन सूचना दिन्छ । दोस्रोपटक बजेपछि सुरक्षित स्थानमा जानुपर्ने हुन्छ ।

साथै, उपकरणमार्फत जमिनको चाल, वर्षा मापन र पहिरोको गतिबारे वडापालिका, स्थानीय जिम्मेवार व्यक्ति, प्रहरी–प्रशासनलगायतलाई एसएमएस पठाइन्छ । यो प्रणाली जडानपछि थामी बस्तीका १ सय १४ घरका करिब ५ सय व्यक्तिलाई पहिरोको जोखिमबाट बचाउन सहयोग पुगेको छ । भूगर्भविद् अधिकारी यो प्रणालीमा धेरै रकम खर्च नहुने र सरल भएकाले समुदायस्तरमा देशभर फैलाउन सकिए सम्भावित जोखिम न्यून गर्न मद्दत पुग्ने सुझाउँछन् ।

‘पहिरोको जोखिम भएका मुलुकका सबै राजमार्गमा यो प्रणाली विस्तार गर्न सकिन्छ,’ उनले भने, ‘सर्वसाधारणलाई तीन दिनको तालिम दिइयो भने उनीहरू आफैंले यसलाई सञ्चालनमा ल्याउन सक्छन् ।’

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहाडमा पहिरो तथा तराईमा बाढी र डुबानको प्रमुख समस्या छ । २०६८ सालयता बाढी, पहिरो, डुबान तथा मनसुनजन्य प्रकोपबाट देशभर १ हजार ६ सय ९८ जनाले ज्यान गुमाएका छन् । यसबाट १८ अर्ब ३२ करोड ४७ लाख ५८ हजार २ सय २५ रुपैयाँ बराबरको सम्पत्तिमा क्षति पुगेको तथ्यांक छ ।

विपद् व्यवस्थापनमा जापानबाट विद्यावारिधि गरेका पूर्वमन्त्री गंगालाल तुलाधर ग्रामीण क्षेत्रमा स्थानीय तहहरूले खनेको सडकलाई ‘ढुकुर मार्न धापेको धराप’को संज्ञा दिन्छन् । न्यूनतम मापदण्डसमेत पूरा नगरी हजारौं किलोमिटर सडक विस्तार गर्दा पहिरो र भूक्षयको जोखिम बढेको उनको तर्क छ । ‘सडक विस्तारअघि इन्जिनियरिङ, भूगर्भ र विपद् व्यवस्थापनका विज्ञहरूको राय लिएर मात्र बनाउनुपर्छ,’ उनको सुझाव छ, ‘सरकारले बुलडोजर डेमोक्रेसी अन्त्य नगरेसम्म समस्या समाधान हुँदैन ।’

जलवायु परिवर्तनजन्य विपद् न्यूनीकरण तथा व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएका दीपक केसी पहिरोको सम्भावित प्रकोप आँकलन गरेर मात्र सडक खन्ने, बायो इन्जिनियरिङ तथा उपयुक्त इन्जिनियरिङ संरचनासहित र पहिरोको पूर्वसूचना प्रणाली विकास गर्न सकिए सम्भावित क्षति न्यून गर्न सहयोग पुग्ने बताउँछन् ।

‘राजमार्गनजिक हुने उत्खनन रोक्ने र नदी–खोला नियन्त्रणका उपाय अवलम्बन गर्ने हो भने पहिरो नियन्त्रणमा सहयोग पुग्छ,’ उनले भने, ‘एकीकृत जलाधार व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनलाई दिगो विकासको महत्त्वपूर्ण अवयवका रूपमा अगाडि नबढाएसम्म पहिरोजस्तै अरु प्रकोपले ठूलो विपद्को रूप लिन सक्नेतिर ध्यान दिन आवश्यक छ ।’

प्रकाशित : असार ९, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?