पाल्पामा पहिरो : ३ को मृत्यु, ४ वटा सवारी साधन पुरिए [अपडेट]

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा पहिरोले बगाएर सोमबार तीन जनाको मृत्यु भएको छ । तानसेन–रिडी खण्डमा पहिरोले चार वटा सवारी साधन बगाएको छ ।

पाल्पामा पहिरो : ३ को मृत्यु, ४ वटा सवारी साधन पुरिए [अपडेट]

पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले पुष्टि गरे । उनका अनुसार मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । शवलाई पाल्पा अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार मिसन अस्पतालमा निधन भएकाको पनि शव पाल्पा अस्पताल ल्याइएको छ ।

सदरमुकाम तानसेनदेखि ६ किलोमिटर टाढा अपरान्ह पहिरो खसेको हो । लगातारको वर्षाले सोमबार बिहानैदेखि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको थियो । डोजरले पहिरो पन्छाई रहँदा पश्चिमतर्फ जाने पर्खाइमा रहेका सवारी साधनलाई पहिरोले बगाएको प्रत्यक्षदर्शी दीपक खड्काले बताए ।

उनका अनुसार अचालनक पहिरो खस्दा धेरै यात्रु भागेर बाँचेका थिए । पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकि राखेको ट्रक, ठूलो पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका हुन् ।

यो पनि पढ्नुहोस्ः

लगातारको वर्षापछि खसेको पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध (तस्बिरहरु)

प्रकाशित : असार ८, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?