कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

लगातारको वर्षापछि खसेको पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध (तस्बिरहरु)

माधव अर्याल

पाल्पा — लगातारको वर्षापछि खसेको पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध भएको छ । तीन दिनदेखिको वर्षाले सडकको तानसेन–रिडी खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको हो । सडकमा सय बढि सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् ।

लगातारको वर्षापछि खसेको पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध (तस्बिरहरु)

सडकमा यात्रा गरेका विष्णु प्रसाद भुसालका अनुसार सडकको तानसेन नगरपालिका अन्तर्गत ढुंगाखानी, सम्मोबारी, जोगेपानी लगायतका स्थानमा दर्जन बढी पहिरो खसेको छ ।

स्थानीयका अनुसार दुई तिर पहिरोको बीचमा दुई ट्रकसमेत फसेको छ । पहिरो खसे पनि लगातारको वर्षाले पहिरो खस्‍न नरोकिएकाले पहिरो पन्छाउन कठिनाइ भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।


पहिरो पन्छाउने ठाउँमा बिजुलीको हाइटेन्सन लाइन भएकाले पनि डोजरले खन्‍न नमानेको प्रहरीले जनाएको छ । एक महिना अघि मात्र तानसेन नगरपालिकाले सडक चौडा गर्दा खनेको सडकमा पहिरो खस्दा बन्दीपोखरामा दर्जन बढी घरसमेत जोखिममा परेको छ ।


नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले परिचालन गरेर घरहरुलाई पहिरो र बाढीबाट जोगाएका थिए । तीन दिनदेखिको वर्षाले पहिरो खसेर जोगेपानीमा गोठ पुरेको छ भने घर जोखिममा परेको छ । पाल्पाको पूर्वभेग जोड्ने आर्यभन्ज्याङ–रामपुरको चापगैरा, सेफद, खालीवन लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबााबा, गौडेपुल, बर्तुङ लगायतका स्थानमा अविरल वर्षाले पहिरो खसे पनि एकतर्फी सञ्‍चालनमा आएको प्रहरीले जनाएको छ । तानसेन नगरपालिकाले असार लागेपछि बर्तुङदेखि सडक चौडा गर्दा यस भेगमा ठूलो पहिरो खसेको छ ।

सडक एकतर्फि मात्रै खुलेको बर्तुङ प्रहरी चौकीले जनाएको छ । लगातारको वर्षाले पाल्पाको अर्घाखाँची जोड्ने छहरा सडक र भित्री सडकमा पनि पहिरो खसेर सवारी साधन चल्न सकेका छैनन् । अन्नभण्डारका रुपमा चिनिने माडीफााटका साथै बाासटारी डुबानमा परेको छ ।

प्रकाशित : असार ८, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?