१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कर्णालीमा क्वारेन्टाइनबाट समुदायमा पुग्यो कोरोना संक्रमण

वीरेन्द्रनगर — जेठ अन्तिममा कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुगेका तीनजना व्यक्तिमा कोरोना संक्रमण देखियो । उनीहरु न भारतबाट आएका थिए, न त क्वारेन्टाइनमा बसिरहेका थिए । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि केही समयको लागि आकस्मिक कक्ष सिल गर्नुपर्‍यो । ती बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

कर्णालीमा क्वारेन्टाइनबाट समुदायमा पुग्यो कोरोना संक्रमण

केही समयअघिसम्म क्वारेन्टाइनमा सीमित कोरोना संक्रमण अहिले समुदायमा पुगेको छ । संक्रमण नियन्त्रणका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’, स्वाब परीक्षणलगायतका काम भने हुन सकेका छैनन् । बरु पोजिटिभ देखिएर आइसोलेसनमा बसिरहेका संक्रमितलाई परीक्षणबिनै घर पठाउन थालिएको छ । ‘यसले गर्दा कोरोना संक्रमण समुदायमा झन् फैलिने जोखिम बढेको छ,’ प्रदेश अस्पतालका एक चिकित्सक भन्छन्, ‘आकस्मिक कक्षमा आउने बिरामीलाई समेत सहजै उपचार गर्न डराउनुपर्ने अवस्था आएको छ ।’

विशेष गरी क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीमार्फत कोरोना दोस्रो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार तीन दिनअघि संकलन गरिएको विवरणमा क्वारेन्टाइनभन्दा बाहिरका १२ जना व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ‘उनीहरुको सम्पर्कमा गएका व्यक्तिको स्वाब परीक्षण गर्ने हो भने संख्या बढ्न पनि सक्छ,’ उनी भन्छन्, ‘तर लक्षण नदेखिएको अवस्थामा समुदायमा बसेका व्यक्तिको कोरोना परीक्षण गर्ने गरिएको छैन ।’

पीसीआर रिपोर्ट नआउँदै जेठ तेस्रो साता क्वारेन्टाइनबाट घर गएका दैलेख, नारायण नगरपालिकाका ८७ जना व्यक्तिमा कोरोना देखिएको थियो । त्यतिन्जेलम्म उनीहरु ३ देखि ५ दिनसम्म घरमा गएर बसिसकेका थिए । उनीहरुको परिवारका सदस्य र सम्पर्कमा पुगेका समुदायका अन्य व्यक्तिको पीसीआर परीक्षण गर्नुको साटो क्वारेन्टाइन (आइसोलेसन) मा फर्केका उनीहरुलाई बिहीबार परीक्षणबिनै घर पठाइएको छ । फोकल पर्सन रेग्मी क्वारेन्टाइनमा बसेको मितिदेखि २० दिनको गणना गरेर ‘डिस्चार्ज’ गरिएको बताउँछन् । ‘उनीहरुको दोस्रोपटक स्वाब लिए पनि रिपोर्ट आएको छैन, नगरपालिकाको सहयोगमा कतिपय व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने काम भएको छ,’ उनले भने, ‘तर लामो समयसम्म लक्षण नदेखिएकोले उनीहरुलाई घर पठाइएको हो ।’

आइतबारसम्म कर्णालीमा १ हजार २ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४ जनाको मृत्यु भएको छ भने ५ सय ३१ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज भएका संक्रमितलाई पनि पीसीआर रिपोर्टको आधारमा गरिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २१ गते सबै कोभिड–१९ अस्पतालहरुलाई पत्राचार गर्दै पोजिटिभ केसहरुलाई लक्षणमुक्त भएको तीन दिन र जम्मा १४ दिनको आइसोलेसन बसाइपछि डिस्चार्ज गर्न सकिने भनेको थियो । सोही पत्रको आधारमा कर्णालीका आइसोलेसनबाट संक्रमितलाई डिस्चार्ज गर्न थालिएको हो । ‘लक्षण नदेखिए पनि उनीहरुमा कोरोना पोजिटिभ भइरहने अवस्थालाई नकार्न सकिँदैन,’ प्रदेश अस्पतालका ती चिकित्सक भन्छन्, ‘एकातिर पोजिटिभ केसहरु घर जाने, अर्कोतिर समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने भोलि अवस्था जटिल हुनसक्छ ।’

जेठ १ गते घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएकी सुर्खेत, सिम्ताकी २५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । जेठ १२ गते श्रीमान्‌सँगै भारतबाट आएकी उनी १४ दिन क्वारेन्टाइनमा बसेर घर गएकी थिइन् । ‘घरमा गइसकेपछि मृत्यु भएकोले अन्य व्यक्तिमा पनि संक्रमण सरेको हुनसक्छ भनेर हामीले सम्पर्कमा पुगेका व्यक्तिहरुको स्वाब संकलन गरेर आइसोलेसनमा राखेका छौं,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘ती महिला भारतबाट आएकी भए पनि समुदायस्तरमै उनमा संक्रमण देखिएको हो ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार समुदायमा हालसम्म करिब २२ जनामा कोरोना पुष्टि भएको छ । यसले कोरोना नियन्त्रणमा नयाँ चुनौती थपेको छ । सामाजिक विकास मन्त्रालयले समुदायस्तरमा कोरोनाको संक्रमितको पहिचान गर्न जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीको नेतृत्वमा कन्ट्याक्ट ट्रेसिङ टिम गठन गरेको छ । यद्यपि उक्त टिमले अहिलेसम्म समुदायमा संक्रमणको अवस्था के कस्तो छ भन्ने भेउ पाउन सकेको छैन । स्थानीय तहसँग समन्वय गरी समुदायमा संक्रमण देखिएका केसको आधारमा स्वाब संकलन गर्ने योजना बनाइएको शाही बताउँछन् । ‘समुदायमा समेत संक्रमित देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङका लागि एउटा फर्म बनाएर स्वाब संकलन गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म समुदायस्तरमा स्वाब परीक्षणले गति लिन सकिरहेको छैन ।’

समुदायमा त्रास

कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि समुदायस्तरमा त्रास पनि छाएको छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी पनि कार्यक्षेत्रमा डराउन थालेका छन् ।

सुर्खेतको चौकुने गाउँपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सहकर्मीका साथै गाउँका मान्छे पनि डराएका छन् । ती स्वास्थ्यकर्मीको लगाम बजारमा मेडिकलसमेत रहेकोले उनकोमा आउने अन्य बिरामीलाई पनि संक्रमण भएको हुनसक्ने कन्ट्रयाक्ट ट्रेसिङ टिमको आकलन छ ।

समुदायबाट आएका संक्रमितको कारण प्रदेश अस्पतालको इमरजेन्सी सेवा त दुईपटक सिल भइसकेको छ । जेठ अन्तिम सातासमेत क्वारेन्टाइनमा सर्पले टोकेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि इमरजेन्सी सेवा सिल गरिएको थियो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार उनलाई अस्पताल ल्याउने व्यक्तिले क्वारेन्टाइनबाट ल्याएको सूचना लुकाएका थिए । ‘आकस्मिक रुपमा आउने बिरामीलाई हामीले जतिसक्दो छिटो उपचार गर्ने गर्छाैं,’ उनले भने, ‘तर समुदायबाट आएका बिरामीमा कोरोना देखिन थालेपछि चुनौती थपिएको छ ।’

प्रकाशित : असार ८, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?