२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सहारा नै ढलेपछि...

इलम गर्ने, परिवारको सहारा हुने र भविष्य सपार्न लागिपर्ने सम्भावना बोकेका युवा सदस्य खोसिएका परिवारलाई अबका दिन कसरी बित्लान् भन्ने चिन्ता छ । आरोपित पक्राउ परे । मुद्दा प्रक्रियामा गयो । नचिताएको घटना भोगेको परिवारमा यतिबेला दिवंगतहरूलाई सम्झँदा अझै रुवाबासी चल्ने गरेको छ ।

काठमाडौँ — मुद्दा दर्ता भएपछि आरोपितहरूविरुद्ध कानुन कारबाहीको प्रक्रिया अघि बढेको छ । तर, आफन्त गुमाएका परिवारमा परेको सन्ताप घटेको छैन । पश्चिम रुकुमको सोती घटनामा हत्या गरिएका ६ युवाका आफन्त न्यायका लागि खबरदारी गरिरहेका छन् ।

सहारा नै ढलेपछि...

न्यायप्राप्तिको संघर्ष जति कठिन छ, त्यतिकै कष्टकर देखिन्छ, परिवारको भोलिका दिनहरु । सबै परिवार आर्थिक रूपले कमजोर छन् । दिनभर मजदुरी नगरी साँझ–बिहान चुल्हो बाल्न धौधौ छ । दुई मृतकका कलिला सन्तान छन् । अभिभावक वृद्धवृद्धा छन् ।

चोटमाथि चोट

भेरी नगरपालिका ११, मटेलाकी भीमाकुमारी बुढाथोकी शाहीको मनमा वेदनाको चाङ छ तर उनलाई कसैसामु पोख्न मन लाग्दैन । १८ वर्षमै छोरा गुम्नुको पीडा बोलीमा व्यक्त गर्न सकिन्छ र ? यही कारण हुनुपर्छ, उनका ओठ चल्नु पहिले आँखा भिज्छन् । कान्छो छोरो गोविन्द जेठ १० मा सम्पर्कविहीन भए । त्यसको दसौं दिनमा भेरीमा शव भेटियो । अनुहार होइन, कपडाबाट गोविन्दको पहिचान भएको थियो । शरीरभर चोटैचोट थिए ।

गोविन्द शाहीकी आमा भीमा शाही

भीमाको घर पुग्दा आँगनमा फूलमालाले सजाइएको गोविन्दको तस्बिर थियो । ‘फोटो देख्नासाथ छोरा आउलाजस्तो लाग्छ । जब आउँदैन भन्ने थाहा पाउँछु, छाती फुट्लाजस्तो हुन्छ,’ भीमाले भक्कानिँदै भनिन् । गोविन्द शीतल मावि चौरजहारीबाट यो वर्ष एसइईमा सहभागी हुने थिए । लकडाउनले परीक्षा रोकियो । घरमा धेरथोर पढ्दै थिए, कहिलेकाहीं मात्र बाहिर निस्कन्थे, नत्र सधैं आमासँगै ।

मटेलामा भीमाको सानो होटल छ । घर खर्च त्यसैबाट चल्छ । खाना पकाउनेदेखि भाडा माझ्नेसम्म सबै काम भीमा नै गर्छिन् । ६ मध्ये सबैभन्दा अन्तिममा गोविन्दको शव भेटिएको थियो । जति शव भेटिएको खबर आउँथ्यो, भीमा झस्कन्थिन्, गोविन्दको शव होइन भनेपछि खुसी हुन्थिन्, न मारिएको छैन कि भनेर । दु:ख पनि लाग्थ्यो, मारेर फालिसके, लास सडिसक्यो होला, बरु दाहसंस्कार गर्न पाए हुन्थ्यो भनेर । ‘तैपनि लास नभेन्टुन्जेल आस मरेको थिएन,’ भीमाले आँसु पुछ्दै भनिन् । उनको लास खोज्न गाउँभरिका केटा भेरीमा पौडिरहेका थिए । ती सबैलाई खाना पकाएर खुवाउँथिन, भीमा । जुन छोराले भविष्यमा आफूलाई पाल्ला भन्ने सपना थियो, त्यही छोराको शव खोज्न पसिना बगाउनुपर्‍यो उनले ।

भीमा सोच्छिन्, साथीको लहैलहैमा सोती नगएको भए मारिनुपर्थेन । सबैले दलितको पक्षमा बोलेको तर गैरदलितलाई कसैले वास्ता नगरेको भन्दै गोविन्दको परिवारको चित्त दुखेको छ । खलंगाबाट गोविन्दको घर मटेला १० किमिमा पर्छ । अधिकारकर्मी र स्थानीय जनप्रतिनिधि सबै रानागाउँतिरमात्र गएको, मटेला नआएको उनीहरुले गुनासो पोखे । ‘हाम्रो भाइले दलितका लागि ज्यान दिएको छ । तर, कसैले वास्ता गर्दैनन्, सबै दलितको पछि लाग्या छन्,’ गोविन्दकी फुपू दिदी यमुना शाहीले भनिन् । राहतभन्दा न्याय चाहिएको उनले बताइन् ।

पुत्रवियोगको यो पलसमेत उनले श्रीमान्को साथ पाइनन् । श्रीमान् इन्द्रबहादुर जाजरकोट कारागारमा कैद भुक्तान गरिरहेका छन् । एउटा छोरो इन्डियामा छन्, अर्को मटेला घरमै । उनका अनुसार गोविन्द एसइई उत्तीर्ण गरेर डोजर अपरेटर तालिम गर्ने र वैदेशिक रोजगारमा जाने तयारीमा थिए । ‘छोरो विदेश गएपछि अर्काले खाएको जुठा भाँडा माझ्नु पर्दैन भन्ठान्थेँ,’ भीमाले सुनाइन् ।

भेरीभन्दा गहिरो पीडा

भेरी नदीको किनारमै छ, लक्ष्मी सुनारको घर । जस्तामा ढुंगाले अड्याएर छाएको, दुईकोठे । त्यो पनि ऐलानी जग्गामा । अन्त जेथा छैन । लक्ष्मीले १८ वर्ष पुग्दै गरेको छोरो लोकेन्द्र सुनार गुमाउनुपर्‍यो । नवराज विककी आमा उर्मिलाकी बहिनी हुन्, लक्ष्मी ।

लोकेन्द्र सुनारकी आमा र बहिनी

नजिकै भेरी सुसाइरहन्छ, त्यतिकै रोइरहन्छ, लक्ष्मीको मन । लोकेन्द्र जहाँबाट भेरीमा हाम्फाले भनिएको छ र जहाँ उनको शव भेटियो, त्यो सत्य हो भने उनी घरअगाडिबाटै बगेको हुनुपर्छ । ‘मेरो छोरोले सानैबाट भेरी खेलेको । जिउँदै भेरीमा फलालेको भए जसरी पनि बाँच्थ्यो,’ भेरीको डिलमा बसेर लक्ष्मीले भनिन्, ‘बाहिरै मारेर भेरीमा फाले ।’ लोकेन्द्रको शव १४ गते भेटिएको थियो । ‘लास नभेटाइन्जेल आउँछ कि जस्तो लागिरहन्थ्यो, बाटो हेरिरहन्थें,’ सुक्सुकाउँदै उनले भनिन् ।

यत्रो शोक पर्दा ९ वर्षकी छोरीबाहेक लक्ष्मीको साथमा कोही छैनन् । श्रीमान् गोपाल बितेको दुई वर्ष भयो । जाजरकोटमै उनको बस दुर्घटनामा ज्यान गएको थियो । जेठो छोरो लछे सुनार मलेसिया गएको चार वर्ष बित्यो, त्यहाँ कम्पनीले उनको पासपोर्ट लगेको छ, न बुबा बित्दा नेपाल आउन पाए, न भाइ बित्दा । ‘बुबाको किरिया गर्न पाइनँ, अहिले पनि आउन सकिनँ भनेर फोनमा रोयो । म पनि सँगै रोएँ । रातभर निद्रा पर्दैन,’ लक्ष्मीले भनिन् । लछेले एक वर्ष बढी भयो, काम गर्न नपाएको । घरमा पैसा पनि पठाएका छैनन् ।

श्रीमान् बितेपछि लक्ष्मीले लोकेन्द्रलाई पढाउन सकिनन्, ९ कक्षामै रोकियो उनको पढाइ, त्यसपछि सुर्खेत गएर कालीगढ तालिम सिक्न थाले । गत फागुनदेखि बल्ल थोरै–थोरै कमाइ हुन थालेको थियो । लकडाउन भएपछि घर आए, आमालाई घरको सबै काममा सघाउँथे र भन्थे– ‘अब सुनचाँदी पसलमा काम गर्छु, कमाइ राम्रै हुन्छ । आफ्नै घडेरी किनेर घर बनाउनुपर्छ ।’ छोराले यसोभन्दा लक्ष्मी दु:खका दिन सकिँदै छ भन्ने ठान्थिन् । ‘दु:ख जति सबै मलाई मात्र पर्नुपर्ने रहेछ,’ उनले दु:खेसो पोखिन् ।

हातमुख जोर्नै धौधौ रहेका परिवारलाई न्याय प्राप्तिमा समाजले नसघाउने हो भने आफ्ना बलबुतामा खबरदारी गरिरहन सक्ने अवस्था छैन ।

लोकल रक्सी बनाएर लक्ष्मी घर चलाउँछिन् । छोरा बितेपछि सबै रोकिएको छ । खान लाउनै मुस्किल छ । बुबासँगै दुर्घटनामा परेर पुनम सख्त घाइते भएकी थिइन् । अहिले पनि जीउमा चोट र दाग छन् । नियमित उपचार गराउनुपर्छ । ‘तर, उपचार गराउने खर्च पनि छैन । जिन्दगी कसरी कट्ला ?,’ टोलाउँदै लक्ष्मीले पीडा पोखिन् । छेवैमा रहेकी पुनम एकोहोरो आमाको अनुहार हेरिरहेकी थिइन् ।

‘अब कसरी बाँच्ने ?’

जाजरकोट भेरी–४, रानागाउँका मुनलाल विक र उनकी पत्नी उर्मिला विकलाई घरीघरी लाग्छ, लकडाउन नहुँदो हो त छोरो नवराजलाई गुमाउनु पर्थेन । नवराजले नेपाल प्रहरीको सिपाही दर्जामा नाम निकालिसकेका थिए, लकडाउनले तालिम रोकियो । नवराज बुबाआमालाई सधैं भनिरहन्थे, ‘अब तपाईंहरुका दु:खका दिन गए, म कमाएर पाल्छु ।’ छोराको यही बोली उनीहरुको बाँच्ने सहारा थियो । तर, सहारा भेरीमा बगाइयो, जेठ १० गते ।

नवराज विकका बुवाआमा र आफन्तहरु फाइल फोटो : भीमबहादुर सिंह/कान्तिपुर

मुनलाल र उर्मिलाको जीवन मजदुरीमा बितिरहेको छ, दिनभर पसिना बगाएरै उनीहरुले नवराज र दुई छोरीलाई हुर्काए, पढाए । नवराज खलंगाको त्रिभुवन माविमा कक्षा १२ पढ्दै थिए । पढाइ ठिकै थियो, खेलकुदमा भने अब्बल । भलिबल, फुटबल र दौडका जिल्ला स्तरीय खेलाडी । उनी जहाँ जान्थे, पदक र प्रमाणपत्र लिएरै आउँथे । उर्मिला–मुनलाल छोराको तरक्की देखेर दंग थिए । अहिले ती पदक उनीहरु भक्कानिने कारण बनेको छ ।

‘पुलिसमा जागिर खान्छु, बिहे गर्छु, तपाईंहरुलाई सुखसँग पाल्छु र देशको सेवा गर्छु भन्थ्यो,’ उर्मिलाले सुक्सुकाउँदै भन्छिन्, ‘पापीहरुले मेरा छोरालाई अनाहकमा मारिदिए ।’ घटनाकै दिन बिहान पनि नवराज ‘कहिले लकडाउन खुल्ला र, तालिम सुरु होला’ भन्दै थिए । दिउँसोतिर फोनमा कुरा हुँदा ‘साथीहरुसँग काफल खान आको छु, आइहाल्छु’ भनेका थिए । तर, त्यसपछि उनी कहिल्यै आएनन् ।

मल्ल ठकुरीकी छोरीसँग छोराको माया बसेको छ भन्ने थाहा पाएपछि उर्मिलाले सम्झाएकी थिइन् । वैशाख १७ गते चौरजहारी इलाका प्रहरी कार्यालयमा नवराज थुनिएपछि उनी नै लिन पुगेकी थिइन् । बाटोभरि छोरालाई सम्झाइरहिन् । घटनाको अघिल्लो रात ती किशोरीसँग फोनमा बोलिरहेको सुनेपछि उनले नवराजसँग बिन्ती गरेकी थिइन्, ‘त्यो नानीलाई छोडिदेऊ, हामीलाई टिकिखान दिँदैनन् ।’ नवराजले ‘हुन्छ’, ‘हुन्न’ केही भनेनन् । त्यसको २४ घण्टा नबित्दै नवराजको शव भेरीमा भेटिएको खबर उनको कानमा परेको थियो । ‘यस्तो बज्रपात आइलाग्ला भनेर सपनामा पनि सोचेका थिएनौं,’ उर्मिलाले भनिन् ।

मुनलालको परिवारसँग ओत लाग्ने घर त छ । तर दिनभर काम गरेन भने साँझ–बिहान छाक टार्न धौधौ पर्छ । छोरो गुमेपछि शोकमा डुबे, न्यायका लागि भांैतारिरहेका छन्, शारीरिक र मानसिक तनावले अब उही रफ्तारमा खट्ने सहास छैन । राम्रो निद्रा पर्दैन । ‘मजदुरी गरेर भए पनि छोरालाई जागिर खाने अवस्थामा पुर्‍याएका थियौं,’ उर्मिलाले भनिन्, ‘अब काम गर्न सक्ने अवस्था छैन, कसरी बाँच्ने होला ?’

मुनलाललाई ढाड दुख्ने समस्या पनि छ । लामो समय खटिरहन सक्दैनन्, जचाइरहनुपर्छ । डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका थिए तर पैसा नभएकाले गर्न नसकेको उनले दु:खेसो पोखे । ‘छोरा कमाउने भएपछि उपचार गर्नुपर्ला भन्ने आशा थियो,’ यसो भनिरहँदा उनका आँखा रसाएका थिए ।

परिवारकै बिचल्ली

जेठ १० मा सञ्जीव विकको छोरा साहिलको जन्मदिन थियो । साहिल आमा सविनासँग मामाघर गएका थिए । सञ्जीव घरमै बोलाएर छोराको जन्मदिन मनाउने सुरमा थिए, सविनासँग कुरा भइसकेको थियो । ‘छोरा आउन पाएन भने फोटो अगाडि राखेर पनि केक काट्नुपर्छ है’ सञ्जीवले खुसी हुँदै भनेको यो कुरा आमा सवितालाई झल्झली याद आउँछ । छोराको जन्मदिनको केक काट्न नपाउँदै सञ्जीव बेपत्ता भए । १५ गते भेरीमा उनको शव भेटियो ।

सञ्‍जीव विककी आमा, श्रीमती र छोरा

पाँच वर्ष नपुग्दै साहिल टुहुरो भए, २० वर्षमै सविनाको सिन्दुर पुछियो, सविता र बुबा बलरामको भविष्यको टेको ढल्यो । भर्खर २२ वर्ष पुग्दै थिए सञ्जीव । अनाहकमा आइलागेको यो वियोगले विक परिवार विक्षिप्त छ । छोरा सम्झिएर सविता जति रुन्छिन्, त्यतिकै औडाहा हुन्छ, जब नाति र बुहारीलाई देख्छिन् । बलरामले पनि आफूलाई सम्हाल्नै सक्दैनन् । सविना धेरै दिन मूर्छित भइरहिन्, अझ उनका आँखाहरु ओभाना भएका छैनन् । छोरो साहिलले सबै कुरा बुझ्ने भइसकेका छैनन्, ममी रोएको देख्छन्, उनी पनि रुन थालिहाल्छन् । बरोबर बुबालाई सोधिरहन्छन् ।

नवराज र सञ्जीवको घरनजिकै छ, आफन्त पनि हुन् । तर, त्योभन्दा घनिष्ट थियो, उनीहरुको दोस्ती । भाइको प्रेम सफल पार्न सञ्जीव लागिपरेको देखिन्छ । वैशाख १७ गते सोती जाँदा उनले पनि नवराजकी प्रेमिकाका परिवार र आफन्तबाट पिटाइ खाएका थिए । सविताका अनुसार, सोतीबाट फर्किएपछि ‘अब त्यता जान्नँ’ भन्थे । तर, उनको मन बदलियो । भाइलाई बुहारी भित्र्याइदिएर छोराको बर्थडेमा केक काट्ने दुवै सपना अधुरो भयो । ‘जे भन्यो, त्यही मान्थ्यो, ज्ञानी थियो । झगडा गर्दैन्थ्यो,’ सविताले निन्याउरो मुहार ल्याउँदै भनिन्, ‘कालले निम्तो गरेको भएर सोती पुगेछ । अपराधीहरुले मेरो सोझो छोरालाई सकाए ।’

सञ्जीवबारे कुरा गरिरहँदा छोरो काखमा च्यापिरहेकी सविनामा भने आक्रोशको भाव झल्किएको थियो । ‘मैले कसरी सहनु, यति सानो छोरालाई के भनेर सम्झाउनु ?’ सविनासँग पीडाका पहाडहरु छन् ।

सञ्जीवले आधारभूत तहभन्दा माथि पढ्न पाएनन्, घरकै काममा खटिनुपर्‍यो । खेलकुदमा भने नामी थिए । नेपाली सेनाका लागि तयारी गर्दै थिए । छोराले कमाउन थालेपछि अलि सुबिस्ता पाइएला भन्ने आस थियो, बलराम र सविताको । बलराम पनि नेपाली सेनाबाट सेवानिवृत्त हुन् । ‘हामी दलित पर्‍यौं, हाम्रा कोही छैनन्, सबैले हेप्छन् मात्र । नेताहरुले सहानभूति त दिएका छैनन्, न्याय कसरी पाइएला र ?’ सविताले बह सुनाइन् ।

‘बुढेसकालमा एक्लै हुने भइयो’

रानागाउँका पदमबहादुर बुढामगर र राधिका बुढामगरको जोडी मिस्त्रीको काम गर्छन् । कहिले घर बनाउन पसिना बगाउँछन्, कहिले बाटो र पुल । दैनिक ८/९ सय नकमाए हातमुख जोड्न सक्दैनन् । जसोतसो आफू र परिवारको ज्यान पालिरहेको यो दम्पती जेठ १० गतेदेखि शोकको आहालमा डुबेको छ । उनीहरुले कान्छो छोरा गणेश बुढामगर गुमाउनुपर्‍यो । गणेश १९ वर्ष टेक्दै थिए ।

गणेश बुढा मगरकी आमा राधिका

गणेशले तीन वर्षअघि खलंगाबाट एसईई पास गरेका थिए । कुशे गाउँपालिका–२, टालेगाउँ घर भएका परिवार विगत डेढ दशकदेखि रानागाउँमा डेरा गरी बस्दै आएको छ । टालेगाउँमा खेतीयोग्य जग्गा जमिन पनि छैन । पदम भन्छन्, ‘हामी सबैले ज्याला नगरी खान सक्ने अवस्था छैन । खानभन्दा डेरा भाडा तिर्ने चिन्ता हुन्छ ।’ गणेश बितेपछि न उनीहरुले काम गर्न पाएका छन्, न सक्ने स्थिति छ । पुत्रवियोगसँगै भोलिको चिन्ताले यो जोडी थलिएको छ । पदमले छोराको किरिया बसिरहेको घरमा गर्न पाएनन् । घरबेटीले ‘देउता लाग्छ’ भन्दै किरिया गर्न दिएनन् । पदमले खानेपानीको पुरानो भवनमा काजकिरिया गरे ।

जेठो छोरा भरत गाडी चलाउँछन् । भरतका पत्नी र दुई वर्षीय छोरो छन् । ‘दैनिक मजदुरी नगरे साँझ बिहानको छाक धान्ने उपाय हुँदैन,’ राधिकाले भनिन्, ‘दुई भाइ मिलेर काम गर्लान्, कतै रोजगारी गरेर कमाइ गर्लान् र हामी बूढाबूढीलाई सुख होला भनेको बज्रपात आइलाग्यो ।’ गणेशले भारतीय सेनामा जाने सपना पालेर आफूलाई तयार गर्दै थिए । ज्यान सुगठिलो थियो, दैनिक २०–२५ किलोमिटर दौडन्थे । ‘इन्डियन आर्मी बनेर तपाईंहरुलाई पाल्छु, सहरमा घर बनाउँछु भन्थ्यो, पापीहरुले मेरो छोरा निमोठे,’ राधिकाले रुँदै भनिन् ।

सेनामा भर्ती हुने सफल नभए वैदेशिक रोजगारमा गएर भए पनि घरपरिवारको आर्थिक हैसियत उकास्ने अठोट गरेका थिए, गणेशले । लकडाउनका कारण उनको सेनाको भर्तीमा परीक्षा दिने तयारी रोकिएको थियो । ‘मजदुरी गरेर पेट पाल्नुपर्ने दिन जालान्, अर्काको घरमा कति बस्नुपर्ला र ? भनेको झन् उल्टो भयो,’ उनले राधिकाले भनिन्, ‘साथीको दुलही भगाउन सहयोग गर्न गएको थियो । कहिल्यै नआउने भयो ।’ नवराजको घरनजिकै बस्छ, बुढामगरको परिवार । नवराज र गणेश खुब मिल्थे ।

गाउँमा भएको २/३ रोपनी जग्गाको उत्पादनले ३ महिना पनि खान नपुग्ने र तत्कालीन माओवादी द्वन्द्वको असुरक्षाका कारण सदरमुकाम खलंगामा विस्थापित भई डेरा बस्न आएको बाबु पदमबहादुरले बताए । ‘अहिलेसम्म मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका थियौं, अब बुढेसकाल लाग्यो । कसरी ज्याला मजदुरी गर्ने ? कमाउने उमेरको छोरा गुम्यो, जेठो छोरा (भरत) लाई आफ्नै परिवार पाल्न धौधौ छ,’ पदमले दु:खेसो पोखे, ‘बुढेसकालमा एक्लै पर्ने भइयो ।’

भोलिको भय

रुकुम पश्चिम चौरजहारी–१, लामिछाने गाउँकी सुनिता नेपाली १८ वर्ष पुगिन् । उनकी छोरी एलिसा २ वर्षमा हिँड्दै छिन् । यति छिट्टै सुनिताले पति गुमाउनुपर्‍यो, एलिसाले पिता । सोती घटनामा निधन भएका टीकाराम नेपाली सुनिताका श्रीमान् थिए । ‘लकडाउन खुलेपछि ऋणदाम गरेर भए पनि मोबाइल र सोलार पसल खोलेर व्यापार गरौंला भन्नुभएको थियो । तर, सबै सपना भयो,’ सुनिताले भनिन्, ‘अब नाबालक छोरीको लालनपालन कसरी गर्ने ? आफू कसरी पढ्ने भन्ने पनि चिन्ताले सताएको छ ।’

रुकुम घटनामा ज्यान गुमाउनेहरु

शीतल मावि चौरजहारीमा ११ कक्षामा पढ्ने टीकाराम सोलार पावर जडानसम्बन्धी काम गर्थे । मोबाइल मर्मतको तालिम लिएका थिए । सुनिता पनि सोही स्कुलमा ११ कक्षामै पढ्छिन् । एलिसालाई पनि कखरा सिकाउँदै थिए ।

टीकाराम नेपालीकी श्रीमती सुनिता र छोरा

बाबु सोबे नेपाली र आमा गीताका एक्लो छोरो हुन्, टीकाराम । एउटी छोरी छिन्, सुमित्रा । सोबे र गीता मजदुरी गरेर गुजारा गर्छन् । परिवारको आर्थिक अवस्था कमजोर छ । ‘जमिन, खेतीपाती छैन, पेसा भने पनि नभने पनि दैनिक मजदुरी हो । नगरे गुजारा चल्दैन,’ सोबेले बह पोखे, ‘बास बस्ने घरसमेत अर्काको जग्गामा छ । हाम्रो त सहारा नै गुम्यो ।’ एकातिर भविष्य अन्धकार देख्छन्, अर्कातिर न्यायका लागि आफैं दौडिनुपरेको छ । हत्यारालाई जीवित हुँदासम्म कैद सजाय हुनुपर्ने सोबेको माग छ ।

कलिलै उमेर सिउँदो पुछिएकी सुनितालाई अझै पति आइहाल्छन् कि जस्तो लाग्छ । बाटो हेरिरहन्छिन्, आँसु झरिरहन्छ । ‘किशोर अवस्थामै जीवन साथी गुमाउने मजस्तो अभागी अरू को होला र ? यो संसारमा अरू के बाँकी छ र ?,’ उनले भनिन्, ‘मेरा साथमा एउटा मोबाइलसमेत छैन, सासूससुराले कति दु:ख गर्ने ?’ सोबे दम्पती नातिनी र बुहारी देखेपछि भक्कानिन्छन्, सुनिता छोरी र सासूससुरा देखेपछि । एकअर्काले हेरेर टोलाउनुबाहेक अर्को विकल्प हुन्न, उनीहरुसँग । ‘छोरीले सधैं बाबा खै, बाबा खै भन्छे, मैले के जवाफ दिनु ?’ सुनिताले आँसु झार्दै भनिन् ।

प्रकाशित : असार ६, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?