१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अग्रपंक्तिमा खटिएकामा संक्रमण बढ्यो

धनगढी/कञ्चनपुर — सुदूरपश्चिममा कोरोना नियन्त्रण तथा रोकथामको अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक र भारतबाट भित्रिएकालाई क्वारेन्टाइनमा ओसारपसार गर्ने सवारी चालकमा संक्रमण बढेको छ ।

अग्रपंक्तिमा खटिएकामा संक्रमण बढ्यो

सुदूरपश्चिममा हालसम्म अग्रमोर्चामा खटिएका २१ जनामा संक्रमण पुष्टि भइसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका १२ स्वास्थ्यकर्मीमा कोराना पुष्टि भएको छ ।

संघीय प्रहरी इकाई कार्यालय धनगढीका अनुसार कञ्चनपुरमा ३, अछाममा १ र बाजुरामा १ जना गरी ५ प्रहरीलाई संक्रमण भएको छ । संघीय प्रहरी इकाई प्रमुख एसएसपी नलप्रसाद उपाध्यायले संक्रमितको उद्धारमा खटिँदा प्रहरीमा संक्रमण देखिएको बताए । दुई साताअघि कञ्चनपुरको पुनर्वास नगरपालिकामा ८ जनामा कोरोना संक्रमण देखियो । ती मध्ये ५ जना दुई वडाको क्वारेन्टाइनमा बसेका, २ जना भान्से र १ जना परासन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी थिए ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमै रहेको बैजनाथ माविको क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीमा पनि दुई साताअघि संक्रमण देखियो । उनीहरू पनि आइसोलेसनमै छन् । कञ्चनपुरकै लालझाडी गाउँपालिकामा पनि क्वारेटाइनमा बसेकासँगै एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको हो । पीपीई नलगाई संक्रमितको उद्धार, आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनले जोखिममा बढेको एसएसपी उपाध्यायले बताए । उनका अनुसार अग्रमोर्चामा खटिने २० प्रतिशत सुरक्षाकर्मीको पीसीआर परीक्षण गर्न प्रदेश सरकारकासँग माग गरिएको छ ।

दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा सीमाबाट उद्धारमा संलग्न बस व्यवसायीको कोरोनाबाट मृत्यु भएको थियो । कैलालीकै एक एम्ब्लुेन्स चालक र अर्का निजी सवारी चालकमा पनि संक्रमण देखिएको छ । क्वारेन्टाइन व्यवस्थापनमा खटिएका गोदावरी नगरपालिकाका एक वडाध्यक्ष पनि संक्रमित भएर होम आइसोलेसनमा बसेका छन् । पछिल्लो समय भारतबाट भित्रिएकामा संक्रमण बढी देखिएकाले उनीहरूको उद्धार र व्यवस्थापनमा खटिएकामा पनि संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । सुदूरपश्चिममा शुक्रबारसम्म ६ सय २५ जनामा कोरोना पुष्टि भएको छ, जसमध्ये ९० प्रतिशत जेठमा भारतबाट भित्रिएका छन् ।

सुदूरपश्चिममा पछिल्लो संक्रमितको दर हेर्दा कोरोना समुदायमा पनि फैलिने जोखिम बढेको छ । क्वारेन्टाइनबाट बिनापरीक्षण र केहीलाई स्वाब संकलन गरेर रिपोर्ट नआउँदै घर पठाएकाले अवस्था झन् बिग्रँदै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘संक्रमण अब समुदायमै फैलिँदै जाने देखिन्छ, जिल्लामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण देखिनुले पनि यसलाई पुष्टि गर्छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले भने, ‘जिल्लामा संक्रमणको दर अझै बढ्ने खतरा देखिन्छ ।’

उनका अनुसार क्वारेन्टाइनमा रहेकाहरूलाई परीक्षणबिना नै छाड्दा अवस्था झन् बिग्रिने बताए । ‘जुन दरमा संक्रमितको संख्या बढिरहेको छ, यसले समुदायमा पनि फैलिरहेको भान हुन्छ,’ महाकाली अस्पताल कञ्चनपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरि श्रेष्ठले भने, ‘हामी संक्रमणको तेस्रो चरणमा पुगिसकेका छौं, परीक्षण पनि धेरै हुन नसकेकाले अझै खुल्न सकेको छैन ।’

प्रकाशित : असार ५, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?