कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियाबाट २३६ नेपाली शनिबार फर्किंदै

गोकुल थोकर

सोल — कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर भिसा सकिएका २ सय ३६ जना नेपाली शनिबार घर फर्किने भएका छन् । दक्षिण कोरियाले नेपाली कामदार लिन पठाउने जहाजमा उनीहरू फर्कन लागेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण उडान नभएपछि उनीहरू समस्यामा थिए ।

कोरियाबाट २३६ नेपाली शनिबार फर्किंदै

कोरियन एयरको जहाज यात्रुबिनै नेपाल जान लागेको थाहा पाएपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउन पहल गरेका हुन् । ईपीएसमार्फत कोरिया आएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ ।

महँगो शुल्क भए पनि नेपाल जान पाएकामा खुसी रहेको सुरेश कुमारले बताए । ‘नेपाल सरकारले हाम्रो समस्या सुनिदेला र उद्धार गर्ला भनेर बस्यौं । झन्डै तीन महिना कोरियामा खाँदा, बस्दा धेरै खर्च भयो,’ उनले भने, ‘जति पैसा तिरेर भए पनि आफ्नै देश जान तयार थिएँ । बल्ल ढुक्क भएँ ।’

कोरियाबाट नेपाल उड्दा कोरियन एयरको टिकट ३० देखि ५० हजार रुपैयाँसम्म पर्थ्यो । चार्टर गरिएको विमानमा नेपालीले एक लाख ५० हजार रुपैयाँसम्म तिरेका छन् । नेपालबाट पनि गत मंगलबार कोरिया आएका नेपालीले त्यस्तै चर्को शुल्क तिरेका थिए ।

नेपाली दूतावासले केही समयअघि भिसा सकिएका एक हजारभन्दा बढी नेपालीको नामावली नेपाल सरकारलाई पठाएको थियो । त्यही नामावलीभित्रका शनिबार फर्कन लागेका दूतावासले जनाएको छ । दूतावासका अनुसार बिरामी, सुत्केरी र अन्य जटिल समस्यामा रहेकालाई प्राथमिकता दिइएको छ । अवैधानिक रूपमा बसेको अभियोगमा कोरियाका विभिन्न जेलमा रहेका १४ नेपाली पनि सोही उडानमा फर्किने भएका छन् । यहाँको सरकारले अवैधानिक रूपमा बसेकालाई पक्रिएर डिपोर्ट गर्छ । डिपोर्ट गर्दा आपराधिक गतिविधिमा लागेको नभए तुरुन्तै पठाउने भनिए पनि कोरोनाका कारणले लामो समयदेखि उडान नहुँदा उनीहरू जेलमै थिए ।

प्रकाशित : असार ५, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?