सूदूरपश्‍चिममा बल्ल पुग्यो मनसुन

काठमाडौँ — गत शुक्रबार पूर्वी भाग हुँदै प्रवेश गरेको मनसुन बिहीबार सूदूरपश्चिमसम्मै पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरुका अनुसार देशभर मनसुन फैलिए पनि वर्षा भने पूर्वी र मध्य भागमा केन्द्रित छ । 

सूदूरपश्‍चिममा बल्ल पुग्यो मनसुन

औसत समयभन्दा दुई दिन ढिलो गरी ३० जेठ (१२ जुन) मा मनसुन प्रवेश भएको थियो । महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार यो गत वर्षभन्दा छिटो हो । सामान्यता नेपालमा १० जुनमा मनसुन प्रवेश हुने गर्छ । गत वर्ष औसत समयभन्दा १० दिन ढिलो गरी २० जुनमा मनसुन सुरु भएको थियो । यो वर्ष औसत समय आसपासमै मनसुन सुरु भई करिब एक साताभित्र देशैभर सक्रिय भएको छ । पूर्वका केही स्थानमा भारी वर्षासँगै पहिरो र बाढीको जोखिमसमेत बढेको छ । छिटो मनसुन प्रवेश भएकाले कोरोनाबाट आक्रान्त बनेका किसानलाई भने राहत मिलेको छ । वर्षासँगै मुलुकका धेरैजसो भागमा किसान रोपाइँमा व्यस्त भएका छन् ।

'विगतमा मनसुन प्रवेश भए पनि लामो समय निस्कृय हुँदा किसानले धान रोप्न पाउँथेनन् । यो पटक मनसुन छिट्टै सक्रिय भएको छ', मौसमविद् प्रधानाङ्गले भने, '६ दिनमै देशैभर पुगेको छ, वर्षा हुन थालेको छ ।'

मनसुन सुरु भएसँगै जल तथा मौसम विज्ञान विभागले संभावित बाढी र त्यसले निम्त्याउने सक्ने जोखिमबारे सतर्क गर्न २४ सै घन्टा बाढीसम्बन्धी सूचना दिन थालेको छ । त्यसका लागि बबरमहलस्थित विभागको मुख्यालयमा विज्ञहरु खटिएका छन् । खटिएका प्राविधिकले वर्षाका कारण मुलुकभरका ठूला, मझौला र साना नदीहरुमा आउनसक्ने बाढीबारे सूचना दिने गरेका छन् । बाढी पूर्वानुमान शाखामा खटिएका हाइड्रोलोजिस्ट सुनिल पोखरेलका अनुसार अझै करिब एक साता ठूला नदीहरुमा बाढीको सम्भावना छैन ।

कोसी, गण्डकी, कर्णाली र महाकाली ठूला नदी हुन् भने कन्काई, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, तिनाउ, बबई र मोहनालगायत मझौला नदी हुन् । हाइड्रोलोजिस्ट पोखरेलले ठूला र मझौलाबाहेकका सहायक नदीहरुमा भने थोरै वर्षापछि पनि बाढीको रुप लिन सक्ने जानकारी दिए । विभागले मनसुन अवधिभर ठूला, मझौला र सहायक नदीमा वर्षापछि बग्ने पानीको सतहको अवस्था, सचेतनाको अवस्था (वार्निङ लेभल), खतराको अवस्था र त्यसले निम्त्याउन सक्ने जोखिमबारे वेबसाइटमा सूचना प्रवाह गर्ने गरेको छ । बिहीबारसम्म मुलुकका कुनै पनि नदीहरुमा पानीको सतह वार्निङ लेभलसम्म पनि पुगेको छैन । 'मनसुन सक्रिय हुने क्रममै भएकाले नदीहरुमा पानीको सतह बढेको छैन,' पोखरेलले कान्तिपुरसित भने, 'अझै करिब एक साता पानीको सतह बढ्ने नदेखिएकाले जोखिम छैन ।'

विभागले वर्षाका कारण ठूलो बाढीको सम्भावना भएको अवस्थामा बाढी आउनुअघि नै नदी आसपासमा बस्ने स्थानीयहरुलाई सतर्क गर्ने र बच्नका लागि मोबाइलमा मास एसएमएस पठाउने समेत गरेको छ । 'कुनै स्थानमा बाढीको खतरा देखिए पहिले नै हामीले सबै मोबाइलकर्तालाई सूचना पठाउने गरेका छौं', विभागका महानिर्देशक सरजुकुमार वैद्यले भने, 'यो वर्ष पनि हामीले मास एसएमएस पठाउने र सतर्कता अपनाउन अन्य सन्देश दिने तयारी गरेका छौं ।'

महाशाखाकाअनुसार बिहीबार राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ । 'शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भने भारी वर्षाको सम्भावना छ,' महाशाखाले बुलेटिनमा भनेको छ ।

शुक्रबार राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शनिबार पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षाको संभावना रहेको महाशाखाले उल्लेख गरेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुन आग्रह गरेको छ ।

शनिबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले उल्लेख गरेको छ ।


प्रकाशित : असार ४, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?