२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वरिष्ठता मिचेर आईओएमको डिनमा शाह

राज्यमन्त्रीसरहको सुविधा लिने शाह प्रधानमन्त्री ओलीकी निजी चिकित्सक हुन् । अध्यापकहरूको वरिष्ठता क्रमअनुसार ५५ वर्षीया उनी ३३ औं नम्बरमा पर्छिन् ।
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले डा. दिव्या सिंह शाहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्त गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने पद्धति मिचेर शिक्षण अस्पताल महाराजगन्जको मिर्गौला विभाग प्रमुख शाहलाई नियुक्ति दिएको हो ।

वरिष्ठता मिचेर आईओएमको डिनमा शाह

त्रिभुवन विश्वविद्यालय स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबका कारण उपकुलपति डा. धर्माकान्त बाँस्कोटा शाहलाई डिन नियुक्त गर्न बाध्य भएका हुन् । ‘उहाँ बैठकमा आउँदा नै प्रधानमन्त्रीज्यूको यस्तो आग्रह छ भनेर प्रस्तुत हुनुभयो र त्यही निर्णय नै गराउनुभयो,’ स्रोतले भन्यो । डिन नियुक्त गर्न सिफारिस कमिटीले क्रमश: डा. प्रदीप वैद्य, डा. शाह र उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

विश्वविद्यालयका उपकुलपति बाँस्कोटाले वरिष्ठता र क्षमताका आधारमा शाहलाई नियुक्त गरिएको दाबी गरे । एक नम्बरमा नाम सिफारिस भएका वैद्यलाई पन्छाएर दुई नम्बरमा नाम सिफारिस गरिएकी शाहलाई नियुक्ति दिइएको हो । आईओएम उच्च स्रोतबाट प्राप्त अध्यापकहरूको वरिष्ठता क्रम हेर्दा ५५ वर्षीया डा. शाह ३३ औं नम्बरमा पर्छिन् ।

त्रिवि कार्यकारी परिषद्ले जेठ २२ गतेदेखि रिक्त डिन नियुक्ति गर्न डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस कमिटी गठन गरेको थियो । डा. जगदीश अग्रवालले उमेर हदका कारण अवकाश पाएपछि आईओएम डिनविहीन बनेको थियो । सिफारिस कमिटीमा डा. सुवास आचार्य र डा. जीवन शेरचन सदस्य थिए । त्रिवि ऐनमा सर्च कमिटीले नाम सिफारिस गरेका आधारमा कार्यकारी परिषद्ले डिन नियुक्ति गर्ने व्यवस्था छ । तर विश्वविद्यालय स्रोत सिफारिस समितिका पदाधिकारीहरूकै भूमिकामा प्रश्न उठ्ने बताउँछ । स्रोतको भनाइमा आफू अनुकूल नियुक्ति गर्न हाल विश्वविद्यालयको सेवाबाहिर रहेका डा. प्रेम ज्ञवालीलाई सदस्य बनाइएको हो । अर्का सदस्य डा. जीवन शेरचन पनि अवकाश पाइसकेका व्यक्ति हुन् ।

प्रधानमन्त्री तथा कुलपति ओली र उपकुलपति बाँस्कोटाले शाहलाई नियुक्ति गर्ने तयारी गरेको चर्चा अग्रवालको कार्यकाल सकिनुअघिदेखि नै थियो । प्रधानमन्त्रीनिकट रहेकै कारण डा. शाहले चिकित्सा शिक्षा आयोगको सदस्यलगायत थुप्रै पदमा नियुक्ति पाउँदै आएकी छन् । ग्रान्डी अस्पतालमा समेत मानव अंग प्रत्यारोपण विभाग प्रमुखको जिम्मेवारीमा रहेकीले उनीमाथि नैतिक प्रश्न उठ्दै आएको थियो ।

डा. शाहको भूमिका यतिमा मात्रै सीमित छैन । राज्यमन्त्रीसरहको सुविधा लिने उनी प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् । स्वास्थ्य विभागअन्तर्गतको मानव अंग प्रत्यारोपण समन्वय समितिको संयोजकको जिम्मेवारीमा पनि उनै छिन् । यसअघि सत्तारूढ दलनिकट चिकित्सकहरूको भेलामा उपकुलपति बाँस्कोटाले कुलपति ओलीको इच्छाअनुसार शाहलाई डिन नियुक्ति गर्ने बताएको आईओएमका एक चिकित्सकले बताए ।

२०६७ पछि डा. गोविन्द केसीको पटकपटकको आन्दोलनका कारण आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति हुँदै आएको छ । केसीले दुई साताअघि पनि विज्ञप्ति जारी गरेर वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न आग्रह गरेका थिए । वरिष्ठताको आधारको सूचीमा नवनियुक्त डिन शाहको नाम ३५ औं नम्बरमा छ । डा. अग्रवाल र डा. अरुण सायमीले जेठ २२ गते अवकाश पाएपछि उनको स्थान ३५ बाट ३३ मा पुगेको छ । डा. गीता सायमी, डा. प्रेमकृष्ण खड्गाले पनि भदौ २० गते अवकाश पाउँदै छन् । त्यसपछि २०८० कात्तिकमा अनिवार्य अवकाश पाउने योगेन्द्रप्रसाद सिंह आईओएममा वरिष्ठ हुन् ।

पूरा कार्यकाल काम गर्ने डिन खोजी गर्दा शाहलाई नियुक्त गर्नुपरेको उपकुलपति बाँस्कोटाले दाबी गरे । तर, २०८३ कात्तिकमा अवकाश पाउने एक नम्बरमा नाम सिफारिस भएका वैद्य शाहभन्दा वरिष्ठ हुन् । ‘शाहभन्दा वरिष्ठ १० जनालाई छोड्दा पनि उहाँ २५ औं नम्बरमा पर्नु हुन्छ । उहाँभन्दा क्षमतावान् र वरिष्ठ अरू प्राध्यापक पनि छन्,’ आईओएमका एक प्राध्यापकले भने, ‘प्रधानमन्त्रीको नजिक भएकै कारण राजनीतिक भागबन्डामा दिव्या म्याडमलाई नियुक्ति दिइयो ।’ शाहले २०८५ चैतमा अनिवार्य अवकाश पाउने छिन् । उनी २०७१ असोजमा प्राध्यापक नियुक्ति भएकी थिइन् । सिफारिस कमिटीले नै वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने व्यवस्था ल्याउँदै नाम सिफारिस गरेको ती प्राध्यापकले बताए । तेस्रो नम्बरमा नाम सिफारिस भएका श्रेष्ठ वरिष्ठता सूचीमा ४३ नम्बरमा छन् ।

डा. केसीको आन्दोलनपछि डा. राकेश श्रीवास्तव र डा. अग्रवाल वरिष्ठताका आधारमा डिन नियुक्त भएका थिए । वरिष्ठता मिचेर डिनको जिम्मेवारी दिएका डा. बाँस्कोटासहित केपी शर्मा र शशि शर्माले काम गर्नै नपाई पद छाड्न बाध्य भएका थिए । शर्माका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण उत्पन्न विवादले नयाँ मोड लिएर उमेरबारे नयाँ तथ्य खुल्दा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त हुनुपरेको थियो ।

आईओएम डिन नियुक्तिमा सधैं किचलो भइराख्ने कारण वरिष्ठताको नयाँ मापदण्ड बनाएर नियुक्ति दिइएको बाँस्कोटाले जनाए । ‘कम्तीमा ५ वर्षको प्राध्यापक अनुभव भएको र पूरा ४ वर्षे कार्यकाल समय दिन सक्ने डिनको खोजी गरिएको हो,’ उनले भने, ‘त्यस्तो मापदण्डका १४ प्राध्यापक भेटिए, महिलालाई प्राथमिकता दिऊँ भनेर शाहलाई नियुक्ति दिइयो,’ उनले भने । वैद्य र श्रेष्ठले आईओएमभित्रै उत्कृष्ट कार्य गरिराखेकाले थप जिम्मेवारी नदिएको उनले जनाए । मेडिकल विद्यार्थी एसोसिएसनले भने राजनीतिक चलखेल, निकटता र भागबन्डाका आधारमा डिन नियुक्ति गरिएको भनेर आपत्ति जनाएको छ । एसोसिएसनले विज्ञप्ति निकालेर वरीयता मिचेर डिन नियुक्त गरिनु लज्जास्पद भएको बताएको छ ।

प्रकाशित : असार ४, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?