कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कालीखोलाको पहिरो पन्छाउनै बाँकी, नारायणगढ-मुग्लिन सडकमा एकतर्फी यातायात

रमेशकुमार पौडेल

चितवन — पहिरोका कारण बुधबार दिनभर बन्द भएको नारायणगढ–मुग्लिन सडकमा बिहीबार पनि सहज रुपमा गाडीहरु गुड्न सक्ने अवस्था देखिएको छैन । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापा सो सडकमा अहिले एकतर्फी यातायात सञ्चालन भएको बताउँछन् ।

कालीखोलाको पहिरो पन्छाउनै बाँकी, नारायणगढ-मुग्लिन सडकमा एकतर्फी यातायात

बुधबार बिहान सवा चार बजे कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको थियो । साँझ पौने सात बजे खुलेर १०/१५ मिनेटपछि फेरि बन्द भयो ।

‘राति पौने १० बजेतिर एकतर्फी रुपमा गाडी चल्न सुरु भएको हो । अहिले पनि एकतर्फी नै चलिरहेको छ,’ डीएसपी थापाले भने । सामान्य अवस्थामा यो सडक हुँदै दिनमा १० हजार गाडी ओहोरदोहोर गर्दछन् । लकडाउन खुकुलो भए पनि यात्रुबसको भने चाप छैन । तर साना निजी गाडी र मालवाहक ट्रकहरु बुधबार दिनभर जाममा परे । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दिनभर काम भए पनि खसेकोमध्ये ३० प्रतिशतको हाराहारीमा मात्रै पहिरो हटाउने काम सकिएको थियो । राति पानी पनि पर्न थालेका कारण बुधबार साँझदेखि पहिरो सफा गर्न रोकिएको काम बिहीबार बिहानदेखि सुरु हुने उनले बताए ।

कालीखोलाको पहिरो कुनै नौलो हैन । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउन ठाउँ ठाउँमा पहाड काटिएको थियो । पहाड काटेको ठाउँमा वर्षायाममा पहिरो जाने समस्या सुरु भएको हो । चार वर्षयता हरेक वर्ष वर्षायाममा यो सडकमा ठूला–ठूला पहिरो जाने गरेका छन् । कुल २९ ठाउँमा पहिरो जान्थ्यो । अन्य ठाउँमा रोकथामको काम सकिएको थियो । नौ ठाउँमा बाँकी थियो ।

बाँकी नौमध्ये आठ ठाउँमा यो वर्ष काम सकिएको छ । मुख्य समस्या रहेको कालीखोलामा काम अगाडि बढ्दै गर्दा पहिरो आएको हो । लकडाउनका कारण कामदार नपाएर प्रभावित भएको कालीखोला क्षेत्रको पहिरो नियन्त्रणको कामको सुरुवात हुँदै गर्दा पहिरो गएको इन्जिनियर खनालले बताए ।।

प्रकाशित : असार ४, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?