२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्वारेन्टाइनमा ‘बलात्कार’ घटना : आन्दोलन स्थगित

गणेश चौधरी

धनगढी — क्वारेन्टाइनमा भएको बलात्कार घटनामा पीडित महिलाको पुनर्स्थापनामा लम्कीचुहा नगरपालिकाले सहयोग गर्ने भएको छ । मंगलबार पीडितका आफन्तसँगको छलफलमा नगरपालिकाले ती महिलाको पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले विरोधका कार्यक्रमसमेत रोकेका छन् । मंगलबारदेखि विरोध र्‍याली, चक्काजामलगायतका कार्यक्रमहरु नहुने एक स्थानीयले बताए ।

क्वारेन्टाइनमा ‘बलात्कार’ घटना : आन्दोलन स्थगित

छलफलमा लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले दोषीलाई कानुनी कारबाही र पीडितलाई पुनर्स्थापना गर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका थिए । ‘पीडित महिलाको पुनर्स्थापनाका लागि यही गर्ने भन्ने ठोस कार्यक्रम त बनेको छैन । उनलाई बाँच्ने आधारहरु तयार गर्छौं,’ उनले भने ।

आरोपितलाई ७ दिन म्याद थप

बलात्कार आरोपमा पक्राउ परेका लक्ष्मण परियार, किशोर परियार र सर्जन विकलाई कैलाली जिल्ला अदालतले जेठ ३२ देखि लागू हुने गरी ७ दिनसम्म अनुसन्धानका लागि थुनामा राख्न कैलाली प्रहरीलाई सोमबार आदेश दिएको छ । आरोपितहरु जिल्ला प्रहरीको थुनामा छन् ।

पीडित महिला स्वास्थ्य परीक्षणपछि सोमबार घर फर्केकी छन् । क्वारेन्टाइन असुरक्षित भएपछि वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई अबदेखि ‘होम क्वारेन्टाइन’ मा राख्ने कि नराख्ने भन्ने विषयमा नगरपालिकाले छलफलसमेत थालेको छ । सरकारले क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको सहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलाले शनिबार मध्यराततिर क्वारेन्टाइनमा खटिएका स्वास्थ्य स्वयंसेवकसमेत ३ जनाले सामूहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् । पीडित महिलाले घटनाको भोलिपल्ट तीनै जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । भारतको बैंग्लोरबाट जेठ २० मा फर्किएकी ती महिला सिधै क्वारेन्टाइनमा बसेकी थिइन् ।

घटनापछि लम्कीचुहा क्षेत्रमा दोषीमाथि कारबाही र क्वारेन्टाइन रहेको वडाका अध्यक्षमाथि पनि कारबाही हुनुपर्ने माग गर्दै आइतबारदेखि नै विरोध प्रदर्शन र चक्काजाम गरिएको थियो ।

महिलाका लागि छुट्टै क्वारेन्टाइनको माग

राष्ट्रिय सभामा सांसदहरूले महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाउन माग गरेका छन् । कैलालीको क्वारेन्टाइनमा महिलामाथि बलात्कार भएको घटनाको प्रसंग जोड्दै सांसद दिलकुमारी रावलले जिल्लागत रूपमा महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने र त्यहाँ महिला स्वास्थ्यकर्मी र महिला सुरक्षाकर्मीको व्यवस्था गरिनुपर्ने आवाज उठाएकी हुन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाको सहिद स्मृति माध्यमिक विद्यालको क्वारेन्टाइनमा बसेकी एक मात्र महिला शनिबार राति स्वयंसेवकबाट बलात्कृत भएकी थिइन् । सांसद रावलले उक्त घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिन् । सांसद महेशकुमार महराले पनि छुट्टै क्वारेन्टाइनको माग गरे । उनले कैलाली घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरे ।

सांसद प्रकाश पन्थले क्वारेन्टाइनको अवस्था नाजुक रहेको पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुधार नगरिएको बताए । ‘क्वारेन्टाइनमा मानिसको मृत्यु भइरहँदा पनि सरकराले सुनेन । बलात्कारका घटनासमेत हुन थालेको छ,’ उनले भने, ‘अब पनि सरकार टुलुटुलु हेरेर बस्ने हो कि केही गर्ने हो ?’ सांसद मायाकुमार शर्माले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने माग गरे ।

प्रकाशित : असार ३, २०७७ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?