कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्वारेन्टाइनमा ‘बलात्कार’ घटना : दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

वडाध्यक्षले घटना सामसुम बनाउन खोजेको भन्दै राजीनामा माग
गणेश चौधरी

टीकापुर — क्वारेन्टाइनमा महिला बलात्कार भएको घटनाको विरोधमा सोमबार पनि कैलालीको लम्की बजारमा प्रदर्शन भयो । आइतबार लम्कीचुहा नगरपालिका–१ को कार्यालयसमेत तोडफोड गरेका स्थानीय प्रदर्शनकारी सोमबार भने दिनभर शान्तिपूर्ण रूपमा विरोधमा उत्रिएका थिए । लम्कीचुहा–१ का वडाध्यक्ष जनक बमले घटना सामसुम पार्न खोजेको स्थानीयको आरोप छ ।

क्वारेन्टाइनमा ‘बलात्कार’ घटना : दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

लम्की बजारको मुख्य चोकमा यातायात आवागमन ठप्प पारेका प्रदर्शनकारीले ‘घटना ढाकछोप गर्नेलाई कारबाही गर, क्वारेन्टाइन भंग गर, दोषीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले घटनाको सत्यतथ्य छानबिन र संलग्नलाई कारबाही गर्न नगरपालिका संवेदनशील रहेको बताए । ‘क्वारेन्टाइनमा दुई/दुई जना स्वास्थ्यकर्मी र स्वयंसेवकको व्यवस्था थियो,’ उनले भने, ‘उनीहरूबाटै बदमासी भयो । अपराधीलाई कानुनी कठघरामा उभ्याएर कडा कारबाही गर्न नगर कार्यपालिकाबाट निर्णय गरेका छौं ।’ उनले आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरे पनि अराजक समूहले वडा कार्यालय तोडफोड र स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको बताए । बजगाईंले स्थानीय र प्रदर्शनकारीलाई घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउन आग्रहसमेत गरे ।

‘घटनालाई लिएर अधिकारकर्मी, पत्रकार र जनप्रतिनिधि सबैले चासो राख्नुभएको छ । क्वारेन्टाइनमा महिला सुरक्षाका विषयमा आफूकहाँ सोमबार महिलाहरू डेलिगेसनमा समेत आउनुभयो,’ उनले भने, ‘यसमा हामी संवेदनशील छौं, दोषीलाई कानुनबमोजिम कारबाही गर्न कृपया सबै पक्षको साथ चाहन्छौं ।’

के थियो घटना ?

लम्कीचुहा–१ स्थित सहिद स्मृति माध्यमिक विद्यालयका चार भवनलाई क्वारेन्टाइन बनाइएको छ । जसमा एक महिलासहित २० जना पुरुषलाई राखिएको छ । महिला र पुरुषलाई छुट्टाछुट्टै भवनमा बसाइएको छ । छुट्टै बसेकी ३१ वर्षीया महिलाले शनिबार राति क्वारेन्टाइनमा खटिएका तीन जना स्वयंसेवकले आफूलाई बलात्कार गरेको आइतबार आरोप लगाइन् ।

पीडित महिला बलात्कृत भएको भनिएको विद्यालयको कोठा । तस्बिर : गणेश चौधरी/कान्तिपुर

ती महिला बसेको कोठाको दुवै छेउमा डेस्क र बेन्च छन् । भुइँमा चटाई ओछ्याएर सुत्ने व्यवस्था मिलाइएको छ । कोठाको झ्यालमा ग्रिल लगाइएको छ, पल्ला भने छैनन् । आइतबार बिहान उनी खाजा खान बोलाउँदा पनि बाहिर निस्किनन् । करिब ९ बजेतिर उनका आमा र भाइ क्वारेन्टाइन आएपछि मात्रै घटनाबारे खुलासा भयो । क्वारेन्टाइनमा खटिएकी स्वास्थ्यकर्मी सीता प्याकुरेलले उनकी आमाले घटनाबारे बताएपछि मात्रै थाहा भएको बताइन् ।

‘हामी सबै अचम्ममा पर्‍यौं । उहाँका आमा र भाइलगायत आएपछि आरोपित तीन जना क्वारेन्टाइनबाट भागे,’ प्याकुरेलले भनिन्, ‘उहाँ सुतेकोबाट अर्को कोठामा लगेर बलात्कार गरिएको भनिएको छ, सत्य कुरा के हो थाहा भएन । राति क्वारेन्टाइनमा बसेका र मैले पनि केही थाहा पाइन ।’ प्याकुरेल भने विद्यालयको अर्को भवनमा सुत्थिन् ।

बलात्कारको आरोपमा २० वर्षीय लक्ष्मण परियार, २२ वर्षीय किशोर परियार र १७ वर्षीय सर्जन विक आइतबार नै पक्राउ परेका छन् । उनीहरू तीनै जना छेउको अर्को भवनमा बस्दै आएको प्याकुरेलले जानकारी दिइन् ।

आफूमाथि भएको दुव्र्यवहारका बारेमा बताउन आमालाई बोलाएको र आमा आएपछि मात्र पीडा सुनाउन सकेको कुरा पीडित महिलाले बताएको स्थानीय महिला अधिकारकर्मी गोमा आचार्यले जानकारी दिइन् । पीडितको भनाइ उद्धृत गर्दै आचार्यले भनिन्, ‘रातभरि पीडा सहेर रुँदै बसें । बिहान भएपछि आमालाई बोलाएँ र भनें ।’

जेठ २० मा भारतको बैंग्लोरबाट आएकी ती महिला सोझै क्वारेन्टाइनमा बसेकी हुन् । श्रीमान् अर्की श्रीमतीलाई लगेर भारत गएपछि दुई छोराको पालनपोषणका लागि काम गर्न उनी बैंग्लोर गएकी उनकी आमाले बताइन् । यौन दुव्र्यवहारको आरोपपछि ती महिलालाई स्वास्थ्य जाँचका लागि प्रहरीले आइतबार धनगढी लगेको थियो । सोमबार उनलाई घर ल्याइएको छ ।

लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मृति माविमा बनाइएको क्वारेन्टाइन । तस्बिर : गणेश चौधरी/कान्तिपुर

पीडित महिलाकी आमाले रोगबाट जोगाउन क्वारेन्टाइन बसेकी छोरी आफैं असुरक्षित भएर दुव्र्यवहारमा परेको गुनासो गरिन् । उनले घटनामा संलग्नलाई कडा कारबाही र लम्कीचुहा–१ का वडाध्यक्षले समेत राजीनामा दिनुपर्ने आफूहरूको माग रहेको बताइन् । ‘रोगबाट हामी सबैको सुरक्षाका लागि क्वारेन्टाइन गएकी हो । आफैं असुरक्षित भई,’ उनले भनिन्, ‘तीन लोग्ने मान्छेका अगाडि एक महिलाको के लाग्छ ? जीवनभरको दाग लाग्यो । अब कसरी मेटाउने ?’ पीडित महिलाकी आमाका अनुसार शनिबार मध्यरातपछि घटना भएको हो ।

लम्कीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले आरोपितहरूलाई हिरासतमा लिइएको र घटनाको अनुसन्धान जारी रहेको बताए ।

प्रकाशित : असार २, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?