नवराजकी 'प्रेमिका'को बयान : ‘मेरो बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास लाग्छ’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवराजकी 'प्रेमिका'को बयान : ‘मेरो बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास लाग्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् ।

रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले भनेकी छन्– ‘मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याइ ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’ उनले नवराजको घरमा दुई पटक बसेको र पछिल्लो समयमा सम्बन्ध सुमधुर नभएको बताएकी छन् ।

आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायतका कसुरमा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

१७ वर्षीया ती किशोरीले प्रहरीसमक्ष दिएको बयान

मृतक नवराज विकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका मैले एक्सेप्ट गरी सोही मितिदेखि साथी भई कुराकानी र भेटघाट हुने गर्थ्यो । परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाइलो मेला लागेकाले मेला हेर्न गएको मौकामा नवराजसँग भेट भएकोले सो रातमा नवराजकै घरमा बास बसी भोलिपल्ट घर गएकी हुँ । सो पश्चात पनि मिति २०७६ पौष महिना गते यकिन भएन, नवराज विकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाइको जन्मदिनमा गएको मौकामा समेत भेट भएकोले सो दिन समेत निजकै घरमा गई सुती भोलिपल्ट घर गएकी हुँ । सो समयमा निजका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होइन, निजले फोनमा मलाई विवाह गरौं भनी कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ, निजको घरमा बसेको त्यति नै हो ।

मलाई मिति यकिन भएन, नवराज विकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ । भोलिपल्ट बिहान पनि निज नवराज विकसमेत मेरो घर नजिकै हिँडिरहेको देखी मेरो बुवाआमा समेतले सम्झाई आफ्नो घरतर्फ पठाएकोमा २०७७ साल वैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु विकलाई ल्याई मेरो गाउँमा आएको रहेछ तर मैले देखिनँ । गाउँलेले भनेको सुनेकी थिएँ ।

मिति २०७७।०१।१७ गते राति ८ बजे समेत निजले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घननजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए । मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज विकलाई फेसबुकमा ब्लक गरेदेखि निजसँग कुनै कुरा भएन, मेरो भाइको मोबाइलबाट म्यासेजमा कुराकानी भएको थियो, वारदातको दिन नवराज विकले केटाहरु ल्याएर आउँदै छन् भन्ने कुरा मलाई थाहा थिएन, मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज नवराज विकले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ ।

सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ, सो कुरा आमाले मलाई मिति २०७७।०२।१/२ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ । मिति २०७७।०२।१० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिएँ, मेरो घर नजिक नवराज विकसमेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली गरी पठाउनु भएको रहेछ । सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए तर मैले केटाहरुलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिनको दिउँसो के कसो भयो मलाई थाहा छैन ।

सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज विकको मृत्यु भएको सुनेँ । पछि बुझ्दा मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।

प्रकाशित : असार १, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्

समयमै वार्ता नगर्नु भारतको ठूलो कूटनीतिक कमजोरी : करण सिंह

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल–भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले नेपाल र भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको ठूलो कूटनीतिक कमजोरी भएको बताएका छन् । सिंहले सीमा विवाद पुरानो भए पनि गत नोभेम्बरमै नेपालले यो मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएकोमा समेत आश्चर्यप्रकट गरेका छन् । 

‘हामीले अहिलेको जस्तो परिस्थिति बिग्रन दिनहुन्नथ्यो । नेपालले गत नोभेम्बरमा यो विषय उठाउँदा गम्भीरतापूर्वक नलिएको देख्दा आश्चर्य लागेको छ । हामीहरुले तत्कालै विदेश सचिवस्तरीय वार्ताका पहल गर्नुपर्थ्यो र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपर्थ्यो,’ सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् । सिंहले त्यसलाई भारतका तर्फबाट भएको गम्भीर कूटनीतिक कमजोरी बताउँदै यसको परिणामस्वरुप अहिलेको परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन् ।

गत नोभेम्बरमा भारतले कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले औपचारिक रुपमै विरोध जनाएको थियो । साथै दुई पटकसम्म वार्ताका लागि आग्रह पनि गरेको थियो । तर, भारतले नेपालको उक्त आग्रहलाई पूरै बेवास्ता गर्‍यो । यसैबीच २६ वैशाखमा भारतले लिपुलेकमा एकपक्षीय ढंगले बनाइएको सडकको उद्घाटन गरेपछि परिस्थिति थप जटिल बन्न पुग्यो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिको आधारमा नयाँ राजनीतिक नक्सा जारी गर्ने र सोही अनुसार संविधान संशोधन प्रक्रिया अगाडि बढायो । गत शनिबार प्रतिनिधि सभाले संविधान संशोधन गर्ने निर्णय पनि गरिसकेको छ ।

वार्ताका लागि पहल नगरेकोमा भारतको आलोचना गरेका सिंहले मुलुकलाई भारतसँगको दीर्घकालीन द्वन्द्वको अवस्थाको पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । ‘दशकौं पुरानो व्यक्तिगत र राजनीतिक नाता भएका हिसाबले पनि प्रधानमन्त्री ओलीले दुई मुलुकबीच गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत र आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी सँधैका लागि भारतसँगको द्वन्द्वको अवस्थामा पुर्‍याएका छन् जसमा मलाई निकै दुःख लागेको छ,’ सिंहले भनेका छन् । साथै उनले पछिल्लो कदमले भारतलाई असर पर्छ वा पर्दैन भन्ने यकिन नभए पनि नेपालका नागरिकहरुलाई प्रतिकूल हुने गरी असर पर्ने हो कि भन्नेमा आफू चिन्तित भएको समेत उल्लेख गरेका छन् ।

भारतका वरिष्ठ राजनीतिज्ञ सिंह नेपाल मामिलाका जानकार मात्र होइनन्, उनको नेपालसँग पारिवारिक सम्बन्ध पनि छ । सिंहकी पत्नी राणा प्रधानमन्त्री मोहन शमशेरकी नातिनी योशो राज्यलक्ष्मी हुन् । विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता सिंह २०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला नेपालका राजनीतिक दल र तत्कालीन राजा ज्ञानेन्द्र शाहबीच मध्यस्थता गर्नका लागि भारतका सरकारका विशेष दूतका रुपमा काठमाडौं गएका थिए । सिंह जम्मु कश्मिरका अन्तिम राजा हरि सिंहका छोरा हुन् ।

प्रकाशित : असार १, २०७७ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×