नेपालमा दोस्रो पटक भेटियो 'सानो सुँगुरे भालु'

काठमाडौँ/स्याङ्जा — आईयूसीएनको रेड लिस्टमा तथ्यांक उपलब्ध नभएको(डाटा डिफिसेन्ट) सूचीमा सूचीकृत 'सानो सुँगुरे भालु' नेपालमा दोस्रो पटक भेटिएको छ । लमजुङमा डेढ वर्षअघि भेटिएको यो प्रजातिको जीव आइतबार स्याङ्जाको वालिङ नगरपालिकामा भेटिएको हो । 

नेपालमा दोस्रो पटक भेटियो 'सानो सुँगुरे भालु'

वालिङ नगरपालिका-११ तल्लो पेखुमा यो जीवलाई स्थानीयले बस्ती नजिकै फेला पारेका हुन् । डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले यो प्रजातिको जीवबारे नेपालमा पर्याप्त तथ्यांङ र अनुसन्धान नभएको बताए । पेखु सामुदायिक वन नजिकै ११ सय मिटरको उचाइमा स्थानीयले मकै खन्‍ने क्रममा यो यसलाई आइतबार बिहान समातेका थिए ।

यो जीवलाई भेटेपछि घरमा ल्याएर स्थानीय सुरेश अर्यालले वन कार्यालयलाई खबर गरेका थिए । चिलाउने र कटुसका रुखहरु पाइने पेखु सामुदायिक वन क्षेत्र नजिकै भेटिएको यो जीव नेपालमा पाइने जीवहरुको सूचीमा रहेपनि तथ्यांक भने थिएन ।

सुँगुरको जस्तो थुतुनो र भालुको जस्तै नंग्रा र शरीरमा भाालुको जस्तै रौं हुने यो जीव सानो भएकै कारण जीव विज्ञ एवं प्राध्यापक करनबहादुर शाहले 'सानो सुँगुरे भालु' नाम राखिदिएका थिए । स्थानीय नाम केही पनि नभएको र हेर्दा सुँगुर र भालुको 'क्रस' जस्तो देखिने भएकाले यसको हुलियाको आधारमा नाम राखिएको शाहले कान्तिपुरलाई बताए ।

नेपालमा 'सुँगुरे भालु' पाइने बताइएपनि हालसम्म भेटिएको छैन । सुँगेरे भालुको शरीर ठूलो अनि रौं र नंग्रा पनि लामा हुन्छन् ।

रातको समयमा सक्रिय हुने सानो सुँगुरे भालु निशाचर जीव हो । यसको तौल १ देखि ३ केजीसम्म हुन्छ । वन्यजन्तुविद् शाहका अनुसार आफैं दुलो खनेर वा अन्यले बनाएको दुलोमा यो जीव बस्छ । स-सना मुसा तथा किरा फट्यांग्रा समेत खाने यो जीवले फलफूल पनि खान्छ । नेपालमा यो जीव तराईदेखि मध्यपहाडी क्षेत्रसम्म पाइने बताइपनि यो जीवको हातको पञ्‍जा र नांग्रा केही ठूलो हुने भएकाले रुख चढ्नमा निपुण हुन्छ ।

नेपालमा पहिला रकेर्ड गरिएका तर पछि नभेटिएका 'सानो सुँगुरे भालु' जस्ता अन्य जीवहरुको अध्ययन तथा अनुसन्धान एकदमै कम छन् । नेपालमा दोस्रो पटक भेटिएको यो जीवले यसअघि नेपालमा रकर्ड भएर पनि तथ्यांकमा नरहेका अन्य जीवहरुको खोज तथा अनुसन्धानमा सघाउ पुर्‍याउने अनुसन्धानकर्मीहरुले बताएका छन् ।

गर्भाधरण क्षमता अत्यन्तै कम भएकाले पनि यो जीव दुर्लभ रहेको प्राध्यापक शाहले बताए । नेपाल बाहेक भारत,चीन,म्यानमार,थाइलेन्डमा पनि सानो सुँगुरे भालु भेटिएको शाहले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरंक्षण विभागका प्रवक्ता विष्णु श्रेष्ठले भेटिएका यस्ता जीवहरुको अनुसन्धानका लागि विभागले पनि सहयोग गर्ने र अभिलेखीकरणमा महत्वपूर्ण भूमिका हुने बताए । उनले भने,'नेपालमा लिस्टिङमा भएका तर तथ्याङमा नभेटिएका यस्ता प्रजातीहरुको अभिलेखीकरण गर्ने,तीनको अवस्था र बासस्थानबारे काम गर्न विभागले योजना पनि बनाएको छ। '

वालिङमा भेटिएको यो जीवालई स्थानीयले ७ घन्टासम्म राखेर वन कार्यालयका कर्मचारीले सुरक्षित स्थलतर्फ छाडेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ ।

लकडाउन अवधिमा स्याङ्जमा एउटा चरी बाघ,चितुवा डमरु,पोथी चितुवा, चरी बाघ जस्तो देखिने दुई वटा जीव उद्धार गरिएको कार्यालय काफ्लेले जानकारी दिए । जिल्लामा लकडाउनका कारण चोरी तस्करीका घटनाहरु नभएको उनले सुनाए ।

प्रकाशित : जेष्ठ ३२, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?